काठमाडौं– नेपाली औषधि उद्योगहरूको छाता संगठन नेपाल औषधि उत्पादक संघ (एपोन) ले औषधिको समुचित प्रयोग र स्वदेशी उत्पादनबारे जनचेतना फैलाउन डिजिटल प्लेटफर्म ‘एपोन केयर्स’ सञ्चालनमा ल्याएको छ।
बिहीबारदेखि सुरु भएको ‘नेपाल फर्मा एक्स्पो–२०२६’ को उद्घाटन सत्रमा स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले उक्त डिजिटल प्लेटफर्मको औपचारिक लोकार्पण गरिन्। आम नागरिकमा नेपाली औषधिको गुणस्तर र प्रयोग गर्ने सही तरिकाबारे जानकारी दिने उद्देश्यले यो अभियान सुरु गरिएको हो।
अहिले पनि धेरै नागरिकमा चिकित्सकको परामर्शबिना औषधि किनेर खाने प्रवृत्ति छ। औषधि कति मात्रामा खाने, कसरी सुरक्षित राख्ने र कुन तापक्रममा भण्डारण गर्ने भन्ने जस्ता संवेदनशील विषयमा सर्वसाधारणलाई सचेत गराउनु यसको मुख्य लक्ष्य रहेको एपोनले जनाएको छ।
एपोनका अध्यक्ष विप्लव अधिकारीले औषधिको समुचित प्रयोगसँगै नेपाली उत्पादनप्रतिको विश्वास बढाउन यो प्लेटफर्मले पुलको काम गर्ने बताए। उनले भने, 'हामी औषधिमा आत्मनिर्भर हुने योजनामा छौँ। यसका लागि उद्योग र नागरिकबीचको विश्वास बलियो हुन जरुरी छ। नेपाली औषधि उद्योगहरू विश्वस्तरीय मापदण्ड र नियमअनुसार सञ्चालनमा छन् भन्ने सन्देश हामी नागरिकसम्म पुर्याउन चाहन्छौँ।'
‘एपोन केयर्स’ को फेसबुक पेजमार्फत विभिन्न चेतनामूलक भिडियो र लेखहरू सार्वजनिक गरिनेछन्। नागरिकले औषधिसँग सम्बन्धित आफ्ना जिज्ञासा वा भ्रमबारे पेजको म्यासेज बक्समा गएर सिधै प्रश्न समेत गर्न सक्नेछन्।
एपोन केयर्सको पहिलो भिडियो सन्देशमा भनिएको छ, 'नेपालमा औषधि उद्योग त खुले तर कैयौँ नेपालीहरूमा नेपाली औषधिका बारेमा अझै पनि भ्रम छ। यिनै भ्रमहरू हटाउन र नेपाली उद्योगहरूको गुणस्तरबारे जानकारी दिन यो पहल सुरु गरिएको हो।'
यसअघि, धेरै बिरामीले औषधिको भण्डारण र प्रयोगमा ध्यान नदिँदा औषधिको प्रभावकारितामा समस्या देखिने गरेको स्वास्थ्यकर्मीहरूले बताउँदै आएका थिए। अब यो डिजिटल प्लेटफर्ममार्फत सर्वसाधारणले घरमै बसेर औषधिको प्राविधिक र व्यावहारिक पक्षबारे जानकारी पाउने अपेक्षा गरिएको छ।