म काम गर्ने अस्पतालको फार्मेसीमा केही नियमित बिरामीहरू आउनुहुन्छ। भीड धेरै हुने भएकाले सबैसँग चिनजान र गफगाफ सम्भव हुँदैन। तर कहिलेकाहीँ भीड कम हुँदा, औषधि दिँदै गर्दा सानो संवाद हुन्छ- त्यही संवादले कतिपय बिरामी केवल 'कार्ड नम्बर'मा सीमित हुँदैनन्, आत्मीय बनाइदिन्छ।
आज स्वास्थ्य बीमा बोर्डले बीमामार्फत वार्षिक ओपीडी सेवा रु. २५ हजारमा सीमित गर्ने निर्णय गरेको खबर देखेँ। खबर पढ्नेबित्तिकै मेरो दिमागमा एउटै अनुहार आयो- मेरो अस्पताल फार्मेसीमा बीमाबाट नियमित औषधि लिन आउने ६७ वर्षका एक बुवा।
उहाँको आर्थिक अवस्था निकै कमजोर छ। तर रोग भने धनी–गरिब हेरेर आउँदैन। उहाँलाई मधुमेह छ- गम्भीर खालको। बिहान–बेलुका गरी दिनमा ४० युनिट इन्सुलिन ग्लारजिन (Insulin Glargine) चाहिन्छ। महिनाको हिसाब गर्दा १२०० युनिट, अर्थात् ४ वटा कार्ट्रिज।
एक कार्ट्रिजको बीमामा करिब रु. १००० पर्छ। मतलब, महिनाको रु. ४००० त इन्सुलिनमै सकिन्छ।
त्यसमाथि ओग्लिबोस, मेटफोर्मिन र ग्लिमेपिराइड जस्ता औषधि छुट्टै छन्। यी सबै जोड्दा उहाँलाई महिनाको करिब रु. ५००० बराबरको औषधि चाहिन्छ।
कथा यहाँ सकिँदैन। उहाँकी श्रीमती पनि मुटु र दम जस्ता दीर्घरोगकी बिरामी हुनुहुन्छ। उहाँका लागि पनि महिनाको करिब रु. २००० औषधि लाग्छ।
तीन–तीन महिनामा रगत जाँच। कहिलेकाहीँ घरपरिवारका अरु सदस्य बिरामी। यी सबैको एउटै भरोसा छ- स्वास्थ्य बीमा।
अब हिसाब गरौँ, वार्षिक रु. २५ हजारको सीमा भनेको, उहाँको परिवारका लागि तीन महिना पनि औषधि र जाँच खर्च धान्न मुस्किल पर्ने रकम हो। बाँकी ९ महिना कसरी टार्नु हुन्छ होला?
म फार्मेसीको काउन्टर पछाडि उभिएर यो सोच्दै थिएँ- बीमा सकिएपछि उहाँ के गर्नु होला? औषधि आधा खाएर छोड्नु होला? इन्सुलिन घटाउनु होला? जाँच नगरी बस्नु होला?
उत्तर मलाई थाहा छ, उहाँ जस्तै धेरै बिरामीले “बीमाको पैसा सकियो” भनेपछि औषधि रोक्छन्। किनभने विकल्प हुँदैन।
हो, आजको निर्णयले पैसा भएर पनि “बीमा छ” भनेर अनावश्यक जाँच गराउने केही बिरामीका कारण भएको खर्च घटाउन सक्छ। तर त्यसैसँगै, हजारौँ गम्भीर दीर्घरोगी, जो साँच्चिकै स्वास्थ्य बीमामा आश्रित छन्,
उनीहरूको अतिरिक्त खर्चको जिम्मा कसले लिन्छ?
नीति कागजमा सन्तुलित देखिन सक्छ। तर फार्मेसीको काउन्टरमा उभिँदा, मलाई त्यो नीति होइन- ६७ वर्षको त्यो बुवाको अनुहार देखिन्छ।
अन्त्यमा एउटै प्रश्न बाँकी रहन्छ- के स्वास्थ्य बीमाको उद्देश्य यही हो? वा यस्तो हुनै नदिन यो कार्यक्रम सुरु गरिएको थियो?
सञ्जय आचार्य
फार्मेसी अधिकृत, मध्यबिन्दु प्रादेशिक अस्पताल नवलपरासी (ब.स.पु)