नसर्ने रोग, जसलाई गैर-संक्रामक रोग वा दीर्घ रोग पनि भनिन्छ, प्रायः लामो समयसम्म रहन्छन्। यी रोगहरू आनुवंशिक, शारीरिक, वातावरणीय तथा व्यवहारजन्य कारणहरूले गर्दा हुने गर्छन्। नसर्ने रोग एकपटक लागेपछि जीवनभर दुःख दिन्छ। यसले जीवन कष्टकर बनाउँछ र घर–परिवारलाई समेत आर्थिक, मानसिक र सामाजिक तनावमा पार्छ। विश्वव्यापी रूपमा नसर्ने रोगले सन् २०२१ मा कम्तीमा ४३ मिलियन मानिसको ज्यान लिएको थियो, जुन कुल मृत्युको ७५ प्रतिशत हो। तीमध्ये १८ मिलियन मानिसको ७० वर्षको उमेर पुग्नुअघि नै मृत्यु भएको थियो। यसरी हुने अकाल मृत्युमध्ये ८२ प्रतिशत मृत्यु कम तथा मध्यम आय भएका देशहरूमा हुने गरेको तथ्याङ्क छ। विश्वभर दीर्घ रोगहरू मृत्यु र अशक्तताका प्रमुख कारण हुन्।
विश्वव्यापी रूपमा हृदय तथा रक्तनलीसम्बन्धी रोगहरूले सबैभन्दा बढी मृत्यु गराउने गरेको देखिन्छ। त्यसपछि क्यान्सर, दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग र मधुमेह (मधुमेहका कारण हुने मिर्गौला रोगसम्बन्धी मृत्युसमेत) पर्दछन्। नेपालको सन्दर्भमा पनि हृदय तथा रक्तनलीसम्बन्धी रोगहरू पहिलो नम्बरमा छन् र त्यसपछि मधुमेह, क्यान्सर र दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ। यसरी विश्वव्यापी र नेपालमा मृत्यु गराउने रोगहरू तथ्यांकीय हिसाबले अगाडि–पछाडि भए तापनि सबै एकै प्रकृतिका रहेका छन्।
गैर–संक्रामक रोगहरूको बोझ नेपालमा दिनानुदिन बढ्दो क्रममा छ। नेपालमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबैमा जोखिम तत्त्वहरूको विकास बढ्दो छ। सन् १९९० देखि २०१९ सम्म आइपुग्दा नेपालमा रोगको बोझमा ठुलो परिवर्तन देखिएको छ। जहाँ पहिला मुख्य कारण बनेको सरुवा रोगबाट हुने मृत्यु बदलिँदै हाल नसर्ने रोग मृत्युको प्रमुख कारण बन्न पुगेको छ। पहिले मृत्युका मुख्य कारणहरू प्रायः संक्रामक रोगहरू थिए, जस्तै– श्वासप्रश्वास संक्रमण र क्षयरोग। तर नेपालमा अहिले हृदय तथा रक्तनलीसम्बन्धी रोग, मधुमेह, क्यान्सर र दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग मृत्युका शीर्ष चार कारण बनेका छन्। अन्य नसर्ने रोगहरू, मिर्गौला रोग र स्नायु/मस्तिष्कसम्बन्धी विकारहरूमा पनि १९९० को तुलनामा मृत्युदरमा वृद्धि देखिएको छ।
नेपालमा कुल मृत्युको ७१.१ प्रतिशत हिस्सा नसर्ने रोगले ओगटेको छ, जुन सन् १९९० मा २९.९१ प्रतिशत मात्र थियो भने सन् २०१५ मा ६३.७ प्रतिशत पुगेको थियो। २०१९ को तथ्याङ्क अनुसार हृदय तथा रक्तनलीसम्बन्धी रोगले कुल मृत्युको २४%, दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोगले १६.३% र क्यान्सरले ११.१% हिस्सा ओगटेका छन्।
यसको विपरीत सन् १९९० मा नेपालमा करिब दुई–तिहाइ (६३.६%) मृत्यु सरुवा, मातृ, नवजात र पोषणसम्बन्धी रोगका कारण भएको थियो। यी रोगका कारण हुने मृत्युको प्रतिशत २०१५ मा आइपुग्दा २६.८% मा झरेको छ र एक अनुसन्धान अनुसार सन् २०४० सम्म यो संख्या घटेर करिब १२.४७ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
दिगो विकास लक्ष्य अन्तर्गत सन् २०३० सम्म ३०–७० वर्ष उमेर समूहमा चार प्रमुख रोगहरू (हृदय रोग, क्यान्सर, दीर्घ श्वासप्रश्वास रोग र मधुमेह) का कारण हुने मृत्युलाई एक तिहाइले घटाउने लक्ष्य राखिएको छ। तर नेपालमा हाल ७१ प्रतिशत मृत्यु नसर्ने रोगबाटै भइरहेको अवस्था र एक अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित अनुसन्धानको आकलनले सन् २०४० सम्म मृत्युदर झनै बढेर ७८.६४ प्रतिशत पुग्ने देखाएको छ। यो तथ्याङ्क हेर्दा उक्त लक्ष्य पूरा गर्नु चुनौतीपूर्ण र करिब असम्भव जस्तै देखिन्छ।
गरिबी र नसर्ने रोग एकै सिक्काका दुई पाटाजस्तै बनेका छन्, जुन अत्यन्तै घातक छ। गरिबी र नसर्ने रोग बीचको घनिष्ठ सम्बन्ध तोड्नु नितान्त आवश्यक छ। नसर्ने रोगको तीव्र वृद्धिले विशेष गरी न्यून आय भएका देशहरूमा गरिबी न्यूनीकरणमा बाधा पुर्याउँछ, किनकि यसले स्वास्थ्य सेवासँग सम्बन्धित घरायसी खर्च बढाउँछ।
स्वास्थ्य क्षेत्रमा 'आउट अफ पकेट' खर्चलाई विश्व स्वास्थ्य सङ्गठनले हालको स्वास्थ्य खर्चमा घरपरिवारले सिधै तिरेको हिस्साका रूपमा परिभाषित गरेको छ। यी भुक्तानीहरू सेवा लिने समयमा गरिन्छ र कुनै तेस्रो पक्ष, बिमा वा सरकारको कार्यक्रमद्वारा बेहोरिँदैन। नेपालमा रोग विशेष स्वास्थ्य खर्चमध्ये सबैभन्दा बढी खर्च नसर्ने रोगमै हुने गरेको छ। नेपालमा स्वास्थ्य क्षेत्रमा OOP खर्च सन् २०२२ मा राष्ट्रिय औसत कुल स्वास्थ्य खर्चको ५५ प्रतिशतभन्दा बढी पुगेको छ। व्यक्तिगत रूपमा व्यहोर्नुपर्ने यो खर्चमध्ये ४०.३ प्रतिशत हिस्सा नसर्ने रोगले ओगटेको छ, जुन निकै उच्च हो। विश्व स्वास्थ्य सङ्गठनले यस्तो खर्च १० प्रतिशतभन्दा कम हुनुपर्ने बताएको छ। त्यसैले रोग लाग्नुपूर्व नै नियमित स्वास्थ्य जाँच गर्नु आवश्यक छ।
जोखिम तत्त्वहरू:
जोखिम तत्त्व वा कारक भन्नाले कुनै पनि रोग वा समस्या हुने सम्भावनालाई बढाउने कारण वा अवस्थालाई जनाउँछ। नसर्ने रोगका सन्दर्भमा मुख्य जोखिम तत्त्वहरू व्यवहारजन्य, मेटाबोलिक र वातावरणीय हुन्।
१) व्यवहारजन्य जोखिम कारकहरू: यस्ता कारकहरूले नसर्ने रोगको जोखिम बढाउँछन्।
- सुर्तीजन्य पदार्थको प्रयोग (दोस्रो व्यक्तिको धुवाँको सम्पर्क अर्थात् सेकेन्ड ह्यान्ड स्मोकिङसमेत)।
- अस्वस्थ आहार (अत्यधिक नुन, चिनी र खराब चिल्लो/बोसोको सेवन)।
- मदिराको हानिकारक सेवन।
- अपर्याप्त शारीरिक गतिविधि।
२) मेटाबोलिक जोखिम कारकहरू:
मेटाबोलिक जोखिम भन्नाले शरीरमा हुने जैविक/शारीरिक परिवर्तनहरूलाई जनाउँछ। यी जोखिम प्रायः व्यवहारजन्य कारकहरूका कारण हुने गर्दछन् र यिनले चार प्रमुख मेटाबोलिक परिवर्तनहरू निम्त्याउँछन्:
उच्च रक्तचाप
मोटोपना/तौल बढ्नु
रगतमा चिनीको उच्च स्तर (मधुमेह)
रगतमा असामान्य बोसो (उच्च कोलेस्ट्रोल, ट्राइग्लिसराइड)
विश्वव्यापी रूपमा सबैभन्दा प्रमुख मेटाबोलिक जोखिम कारक उच्च रक्तचाप हो, त्यसपछि रगतमा चिनीको मात्रा बढ्ने र मोटोपना पर्दछन्।
३) वातावरणीय जोखिम कारकहरू:
वातावरणीय कारकहरूले पनि नसर्ने रोगमा ठुलो योगदान पुर्याउँछन्। यीमध्ये वायु प्रदूषण सबैभन्दा ठुलो कारक हो, जसले स्ट्रोक, इस्केमिक हृदय रोग, दीर्घ फोक्सो रोग तथा फोक्सोको क्यान्सर निम्त्याउँछ।
अन्य धेरै अवस्थाहरू पनि नसर्ने रोगका कारणका रूपमा रहेका छन्, जसमा चोटपटक र मानसिक स्वास्थ्यसम्बन्धी विकारहरू समेत पर्दछन्। नेपालमा सवारी दुर्घटनाले हुने मृत्यु र अङ्गभङ्ग दर पनि कहालीलाग्दो छ। आठ वर्षको अन्तरालमा नेपालमा १ लाख ६८ हजारभन्दा बढी सवारी दुर्घटना हुँदा १९ हजारभन्दा बढीले ज्यान गुमाएका छन्। नेपाल प्रहरीको तथ्याङ्क अनुसार एक दिनमा सरदर ९७ वटा सवारी दुर्घटना हुने र यसबाट ८८ जना घाइते तथा ७ जनाको मृत्यु हुने गरेको देखिन्छ।
सङ्घीय संसदको विकास तथा प्रविधि समितिको प्रतिवेदन अनुसार दक्ष र अनुभवी चालकको कमी, असावधानी, पुराना सवारी साधन, सडकको दुरावस्था, सडक सुरक्षामा जनचेतनाको कमी, वातावरणीय पक्षको बेवास्ता, कमजोर नियम र फितलो अनुगमन दुर्घटनाका प्रमुख कारण हुन्।
मानसिक स्वास्थ्यसम्बन्धी विकारहरूले कुल नसर्ने रोगको १८ प्रतिशत हिस्सा ओगट्छन् र यो देशमा अशक्तताको चौथो प्रमुख कारण हो। राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०७७ अनुसार, वयस्क जनसङ्ख्याको १० प्रतिशतले आफ्नो जीवनकालको कुनै न कुनै समयमा मानसिक विकार अनुभव गरेका थिए।
रोकाथाम र नियन्त्रण:
प्राणघातक नसर्ने रोगको मृत्युदर विभिन्न वैज्ञानिक उपायहरूद्वारा कम गर्न सम्भव छ। विश्वव्यापी विभिन्न अनुसन्धान अनुसार जोखिम तत्त्वहरूको रोकथाम गर्दा यस्ता रोगहरू करिब ८० प्रतिशतले घटाउन सकिन्छ। विशेष रूपमा बालबालिका र किशोरकिशोरीलाई लक्षित गरी कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ, किनकि जोखिमको सुरुवात बाल्यकालबाटै हुन्छ।
नसर्ने रोग रोकथामको पहिलो उपाय कारक तत्त्व विकास हुनै नदिनु हो। दोस्रो, जोखिम घटाई रोग लाग्न नदिनु; तेस्रो, रोगलाई सुरुवाती चरणमै पत्ता लगाएर समयमै उपचार गरी जटिलता रोक्नु र चौथो, लागिसकेको रोगबाट हुने क्षति कम गर्दै जीवनस्तर सुधार्नु नै दीर्घकालीन समाधान हो। त्यसैले जोखिम रोकथाम उपचारभन्दा सस्तो, सहज र प्रभावकारी हुन्छ।
जोखिम भइसकेको अवस्थामा जीवनशैलीमा सुधार, मदिरा सेवन घटाउनु वा पूर्ण रूपमा बन्द गर्नु, सुर्तीजन्य पदार्थ सेवन नगर्नु, स्वस्थ वातावरण निर्माण, नियमित स्वास्थ्य जाँच, सन्तुलित आहार, शारीरिक सक्रियता र तनाव व्यवस्थापन जस्ता हस्तक्षेपकारी उपायद्वारा नसर्ने रोग न्यूनीकरण गर्न सम्भव छ।
नसर्ने रोग रोकथामका लागि आर्थिक असमानता घटाउन सरोकारवालाले समयमै सम्बोधन गर्नुपर्छ। समयसापेक्ष स्वास्थ्य नीति निर्माण र सही कार्यान्वयन गरी स्वास्थ्य प्रणालीलाई मजबुत बनाउँदै स्वास्थ्य बिमालगायतका क्षेत्रमा लगानी बढाउन आवश्यक छ।
(लेखक पौडेल जनस्वास्थ्यकर्मी हुन्)