काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ।
सीआईबीको टोलीले बुधबार उनलाई जानकी मेडिकल कलेज परिसरबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पाण्डेले महोत्तरीको बर्दिबास नगरपालिका–६ मा ‘इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एन्ड भेटेरिनरी साइन्सेस प्रालि’ नामक शेल कम्पनी स्थापना गरी प्रभु बैंकबाट कर्जा लिएका थिए। उक्त कम्पनीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नै नभएको अवस्थामा धितोको अस्वाभाविक रूपमा बढी मूल्यांकन गराई कर्जा स्वीकृत गराएको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ।
प्रहरीले पाण्डेले बैंकबाट लिएको कर्जा तोकिएको प्रयोजनमा प्रयोग नगरी अन्यत्र लगानी गर्दै पटक–पटक दुरुपयोग गरेको आरोप लगाएको छ।
सीआईबीका अनुसार उक्त कार्य बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा पर्ने देखिएको छ।
काठमाडौं महानगरपालिका–९ रातोपुल निवासी पाण्डे राम जानकी हेल्थ फाउन्डेसनका सञ्चालक समिति अध्यक्ष तथा उक्त कम्पनीका एकल सञ्चालक हुन्। उनी जानकी मेडिकल कलेज जनकपुरका अध्यक्षसमेत रहेका छन्।
उच्च अदालत पाटनबाट २०८२ मंसिर २८ गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनलाई सीआईबीले पक्राउ गरेको हो।
पाण्डेमाथि थप अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।