काठमाडौं - स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न ९ वटा निकायहरूमा रिक्त रहेका पदाधिकारी र सदस्य नियुक्तिका लागि सुरु गरेको आवेदन प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। मन्त्रालयले जेठ २० गते सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको थियो।
मन्त्रालयले दरखास्त आह्वान गरे पनि आवश्यक कागजातको विवरण सार्वजनिक नगर्दा आवेदन दिन चाहने उम्मेदवारहरू अन्यौलमा परेका थिए। उक्त विषयमा शुक्रबार स्वास्थ्यखबरले समाचार प्रकाशित गरेको थियो।
समाचार प्रकाशन आएको केही घण्टापछि मन्त्रालयले सूचना निकाल्दै विशेष कारणवश अर्को सूचना नआएसम्मका लागि उक्त आवेदन प्रक्रिया स्थगित गरिएको जनाएको छ।
मन्त्रालयले स्थगन सम्बन्धी सूचना जारी गर्दै अर्को सूचना केही दिनमै प्रकाशित गरिने ब्यहोरा समेत अनुरोध गरेको छ।
यसअघि मन्त्रालयले रिक्त विभिन्न परिषद्हरू, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बिमा बोर्डका पदाधिकारी तथा सदस्यका लागि १० दिनभित्र दरखास्त दिन आह्वान गरेको थियो। तर, सूचना निस्किएको दुई दिन भइसक्दा पनि मन्त्रालयले दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजात र मापदण्डको विवरण सार्वजनिक नगरेपछि आवेदन दिन चाहने सयौँ उम्मेदवारहरू अन्यौलमा परेका थिए।
कागजातको विवरण नखुलाई हतारमा सूचना निकालिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला मन्त्रालयले तत्कालका लागि प्रक्रिया नै रोकेको हो। सरकारले केही समय अघि अध्यादेश मार्फत अघिल्ला नियुक्तिहरू खारेज गरेपछि स्वास्थ्य क्षेत्रका विभिन्न निकायमा १९३ पद रिक्त भएका थिए।