काठमाडौं - अमेरिकामा रक्त क्यान्सर (हेमाटोलोजी–अन्कोलोजी) विषयमा विशेषज्ञता हासिल गरिरहेका नेपाली चिकित्सक डा. करुण न्यौपाने प्रतिष्ठित योङ इन्भेस्टिगेटर अवार्ड २०२६ बाट सम्मानित भएका छन्।
उक्त अवार्ड अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी (एस्को) अन्तर्गतको वार्षिक सम्मेलन एएससिओ २०२६ का क्रममा प्रदान गरिएको हो। यो क्यान्सर अनुसन्धान क्षेत्रमा प्रशिक्षणरत तथा प्रारम्भिक चरणका अनुसन्धानकर्ताहरूका लागि प्रदान गरिने सबैभन्दा प्रतिष्ठित तथा प्रतिस्पर्धात्मक अनुसन्धान पुरस्कारमध्ये एक मानिन्छ। अवार्डसँग ५० हजार अमेरिकी डलर बराबरको अनुसन्धान अनुदान पनि प्रदान गरिन्छ।
हाल अमेरिकाको फ्लोरिडास्थित मोफिट क्यान्सर सेन्टरमा हेमाटोलोजी–अन्कोलोजी फेलोका रूपमा कार्यरत डा. न्यौपानेले यो उपलब्धि नेपाली चिकित्सक समुदायका लागि गर्वको विषय भएको बताएका छन्। उनका अनुसार नेपालबाट यो अवार्ड प्राप्त गर्ने चिकित्सकको संख्या अत्यन्त न्यून छ। उनको जानकारीअनुसार यसअघि डा. सिद्धार्थ यादवले उक्त सम्मान प्राप्त गरेका थिए।
डा. न्यौपानेले नेपालमा सीमित अनुसन्धान अवसर र स्रोत–साधनका बाबजुद अमेरिकी अनुसन्धान संस्कृतिमा हुर्किएका चिकित्सक तथा अनुसन्धानकर्तासँग प्रतिस्पर्धा गर्दै यो सफलता हासिल गर्नु विशेष उपलब्धि भएको बताए।
‘हामीसँग नेपालमा अनुसन्धानको अनुभव र पूर्वाधार सीमित छ। त्यसका बाबजुद यहाँका बलियो अनुसन्धान पृष्ठभूमि भएका चिकित्सकहरूसँग प्रतिस्पर्धा गरेर यो सम्मान प्राप्त गर्नु प्रेरणादायी उपलब्धि हो,’ उनले भने।
एस्कोका अनुसार योङ इन्भेस्टिगेटर अवार्डले प्रशिक्षणको अन्तिम चरणमा रहेका युवा चिकित्सकहरूलाई अनुसन्धानमा प्रोत्साहन गर्दै उनीहरूलाई शैक्षिक तथा अनुसन्धानमूलक नेतृत्वतर्फ अघि बढ्न सहयोग गर्ने उद्देश्य राख्छ। सन् २०२६ मा १०७ जना अनुसन्धानकर्तालाई यो अवार्ड प्रदान गरिएको छ।
डा. न्यौपाने हाल शैक्षिक वर्ष २०२६/२७ का लागि मोफिट क्यान्सर सेन्टरमा ‘चीफ एड्मिनिस्ट्रेटिभ फेलो’का रूपमा समेत कार्यरत छन्।