काठमाडौं- सरकारले डा. सतिश देवलाई नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार पदबाट हटाएको छ। मन्त्रिपरिषद्को बैठकले काउन्सिलसम्बन्धी नियमावली संशोधन गर्दै उनलाई पदमुक्त गरिएको हो।
यसअघि सरकारले अध्यादेशमार्फत काउन्सिलका अध्यक्ष तथा सदस्यहरूलाई समेत पदमुक्त गरेको थियो।
नेपाल मेडिकल काउन्सिल ऐन २०२० मा 'रजिष्ट्रारलाई बर्खास्त वा सस्पेण्ड वा अरू सजाय गर्नु परेमा यो ऐन अन्तर्गत बनेको नियम बमोजिम गर्ने' उल्लेख छ ।
सरकारले सोही प्रावधानका आधारमा नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ संशोधन गरी डा देवलाई पदमुक्त गरेको हो।
नियमावली संशोधनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रजिष्ट्रार पदमा निमित्त तोक्ने तयारी अघि बढाएको स्रोतले जनाएको छ।
नयाँ व्यवस्था अनुसार काउन्सिलको प्रशासनिक तथा दर्तासम्बन्धी कामकारबाही निरन्तर सञ्चालन गर्न अस्थायी जिम्मेवारी तोकिनेछ।