काठमाडौँ - सगरमाथा आधार शिविर क्षेत्रमा करिब एक सातादेखि हराइरहेका पर्यटन श्रमिक दावा शेर्पा (हिलारीं) जीवितै फेला परेका छन्। खुम्बु आइसफल क्षेत्रमा उद्धार गरिएको उनलाई प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो।
उद्धार टोलीका अनुसार शेर्पा हिउँले हातखुट्टा प्रभावित भएको अवस्थामा भेटिएका थिए। अवस्था गम्भीर देखिए पनि तत्कालै प्राथमिक उपचार दिएर सुरक्षित रूपमा राजधानी ल्याइएको हो।
हाल उनलाई थप उपचारका लागि काठमाडौँस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ, जहाँ विशेषज्ञ चिकित्सकहरूको टोलीले निरन्तर निगरानीमा राखेर उपचार गरिरहेको छ।
शेर्पा एक पोलिस नागरिकसँग सगरमाथा आरोहणका लागि गएका थिए। जेठ १५ (शुक्रबार) तेस्रो शिविर क्षेत्र आसपासबाट सम्पर्कविहीन भएका उनी करिब एक सातापछि जीवितै भेटिनु पर्वतारोहण क्षेत्रका लागि चमत्कारपूर्ण उद्धारका रूपमा हेरिएको छ।
उद्धारमा संलग्न टोलीका अनुसार कठिन मौसम, हिमपात र उच्च जोखिमयुक्त भू–भागका बीच गरिएको खोज तथा उद्धार अभियानपछि उनको जीवन बचाउन सफल भएको हो।
अस्पताल स्रोतका अनुसार हाल उनको अवस्था स्थिर छ र हातखुट्टामा चिसोका कारण भएको असरको उपचार जारी छ। चिकित्सकहरूको टोलीले आगामी केही दिनसम्म आईसीयू निगरानीमा राख्ने जनाएको छ।
