काठमाडौं - स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न ९ वटा निकायहरूमा रिक्त रहेका अध्यक्ष, सदस्य, रजिष्ट्रार र निर्देशक पदहरूमा नियुक्तिका लागि दरखास्त आह्वान गरे पनि आवश्यक कागजातको विवरण सार्वजनिक नगर्दा आवेदन दिन चाहने उम्मेदवारहरू अन्यौलमा परेका छन्।
मन्त्रालयले जेठ २० गते बुधबार एक सूचना जारी गर्दै ती पदहरूका लागि १० दिनभित्र आवेदन दिन आह्वान गरेको थियो। तर सूचना प्रकाशन भएको दुई दिन बितिसक्दा पनि दरखास्तसँगै पेश गर्नुपर्ने आवश्यक कागजात र मापदण्डको विस्तृत विवरण मन्त्रालयले अझै सार्वजनिक गरेको छैन। शुक्रबार मध्यान्न १२:३० बजेसम्म पनि मन्त्रालयले उक्त विवरण सार्वजनिक गरेको छैन।
मन्त्रालयले रिक्त विभिन्न परिषद्हरू, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बिमा बोर्डका पदाधिकारीका लागि दरखास्त मागेको हो। सूचनामा 'सम्बन्धित निकायको ऐन र नियममा तोकिए बमोजिमको शैक्षिक योग्यता र अनुभव भएको' हुनुपर्ने भनिए पनि 'दरखास्त साथ पेश गर्नुपर्ने कागजात सम्बन्धी जानकारी केही समयपछि यसै वेबसाइटमा राखिनेछ' भन्ने व्यहोरा मात्र उल्लेख छ।
मन्त्रालयको यही फितलो तयारीका कारण आवेदन दिन इच्छुक सयौँ योग्य उम्मेदवारहरू मर्कामा परेका छन्। मन्त्रालयले तोकेको १० दिने छोटो समयावधिमध्ये दुई दिन कागजातकै पर्खाइमा बितिसकेको छ। आवेदन प्रक्रियाबारे स्पष्ट जानकारी नपाएपछि धेरै उम्मेदवारहरूले स्वास्थ्य मन्त्रालय र स्वास्थ्यखबरमा समेत सम्पर्क गरी आफ्नो जिज्ञासा र असन्तुष्टि पोखिरहेका छन्।
सरकारले केही समयअघि अध्यादेशमार्फत अघिल्ला नियुक्तिहरू खारेज गरेपछि स्वास्थ्य क्षेत्रका विभिन्न निकायहरूमा १९३ वटा पदहरू रिक्त हुन पुगेका थिए। ती रिक्त पदहरू पूर्ति गर्न सरकारले प्रक्रिया त अगाडि बढायो, तर गृहकार्य बिना नै सूचना निकाल्दा आवेदन प्रक्रिया सुरुमै भद्रगोल बनेको छ।
यस विषयमा जिज्ञासा राख्दा स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी भक्त केसीले दरखास्तका लागि आवश्यक पर्ने कागजात र विस्तृत विवरण छिट्टै मन्त्रालयको वेबसाइटमा उपलब्ध गराइने जानकारी दिए।