काठमाडौं- काठमाडौंस्थित नेशनल सेन्टर फर रियुम्याटिक डिजिज (एनसीआरडी) का अनुसन्धानकर्ताहरूले गाउट (Gout) का बिरामीहरूमा मेटाबोलिक स्वास्थ्य तथा कलेजोसम्बन्धी जोखिमको मूल्यांकन गर्ने महत्वपूर्ण अध्ययन युरोपको प्रतिष्ठित रियुम्याटोलोजी सम्मेलन युलार कांग्रेस (EULAR Congress) मा प्रस्तुत गरेका छन्।
४५५ जना गाउटका बिरामीहरूमा गरिएको उक्त अध्ययनले गाउट केवल जोर्नीमा असर गर्ने रोग मात्र नभई शरीरका अन्य मेटाबोलिक तथा कलेजोसम्बन्धी समस्यासँग पनि घनिष्ठ रूपमा सम्बन्धित रहेको देखाएको छ।
अध्ययनअनुसार ३४.७ प्रतिशत बिरामीमा नन-अल्कोहोलिक फ्याटी लिभर डिजिज (एनएएफएलडी / NAFLD) भेटिएको छ भने ३८.३ प्रतिशतमा इन्सुलिन रेजिस्टेन्स (फास्टिङ इन्सुलिन २० mU/ml भन्दा बढी) देखिएको छ। त्यसैगरी ७४.१ प्रतिशत बिरामीमा होमा-आईआर (HOMA-IR) स्तर २.५ वा सोभन्दा बढी पाइएकाले इन्सुलिन रेजिस्टेन्सको उच्च बोझ रहेको पुष्टि भएको अनुसन्धानकर्ताहरूले बताएका छन्।
अध्ययनले ३२.७ प्रतिशत बिरामीमा फाइब-४ (FIB-4) स्कोरका आधारमा मध्यम स्तरको कलेजो फाइब्रोसिसको जोखिम रहेको देखाएको छ। विशेषगरी टोफी (Tophi) भएका बिरामीहरूमा इन्सुलिन रेजिस्टेन्स तथा कलेजो फाइब्रोसिससँग सम्बन्धित सूचकहरू बढी देखिएका थिए।
त्यस्तै, २० वर्षभन्दा लामो समयदेखि गाउटबाट पीडित बिरामीहरूमा मेटाबोलिक तथा कलेजोसम्बन्धी जोखिम अझ उच्च रहेको अध्ययनले जनाएको छ।
अनुसन्धानकर्ताहरूका अनुसार गाउट भएका बिरामीहरूमा इन्सुलिन रेजिस्टेन्स, फ्याटी लिभर तथा कलेजो फाइब्रोसिसको उल्लेखनीय बोझ रहेको देखिएकाले उपचार केवल युरिक एसिड नियन्त्रणमा सीमित नराखी मेटाबोलिक स्वास्थ्य र कलेजोको नियमित मूल्यांकन तथा व्यवस्थापनलाई पनि समावेश गर्न आवश्यक छ।
दक्षिण एशियाली जनसंख्यामा गाउट र मेटाबोलिक रोगबीचको सम्बन्धबारे महत्वपूर्ण प्रमाण प्रस्तुत गर्ने यो अध्ययन नेपालबाट प्रस्तुत भएका उल्लेखनीय अनुसन्धानमध्ये एक मानिएको छ।
उक्त अनुसन्धान काठमाडौंस्थित नेशनल सेन्टर फर रियुम्याटिक डिजिज (एनसीआरडी) का अनुसन्धानकर्ताहरूले सञ्चालन गरेका हुन्।