काठमाडौं – सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएपछि सेवाग्राही समस्यामा परेका छन्।
प्रदेश आपूर्ति केन्द्रले रेबिजविरुद्धको खोप नपठाएपछि अस्पतालमा खोप लगाउन आएका बिरामी फर्कन बाध्य भएको महाकाली प्रादेशिक अस्पतालका प्रवक्ता डा. अर्जुन भट्ट बताउँछन्।
विगत २–३ सातादेखि अस्पतालमा खोप अभाव भएको उनले जानकारी दिए। अस्पतालमा उक्त खोप लगाउनका लागि दैनिक ३०–४० को संख्यामा बिरामीहरू आउने गरेको उनी बताउँछन्।
सरकारले निःशुल्क रूपमा दिँदै आएको उक्त खोप सरकारी स्वास्थ्य संस्थामा नपाएपछि निजीबाट किनेर लगाउन बिरामी बाध्य भएका छन्।
अन्यत्र नपठाएर भए पनि सुदूरपश्चिम तत्कालै पठाउने विभागको तयारी
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचन यो खरिदसँग जोडिएको विषय भएको बताउँछन्। खोप अभावको समस्यालाई समाधान गर्नका लागि विभागले व्यवस्थापन महाशाखामार्फत प्राथमिकतामा राखेर काम गरिरहेको उनले जानकारी दिए। यसअघि गरिएको आयातको प्रयास असफल भएपछि भ्याक्सिन अभावको समस्या मुलुकका विभिन्न भागमा देखा परेको उनको स्वीकारोक्ति छ।
समाधानका लागि मन्त्रालयमा मन्त्री, सचिव लगायतको बैठक समेत बसिसकेको र चाँडै समाधान हुने उनले विश्वास व्यक्त गरे। अहिलेको अभावलाई सम्बोधन गर्न अघिल्लो आर्थिक वर्षमा भएको खरिदबाट नै तत्काल आवश्यक नभएका स्थानमा भ्याक्सिन नपठाएर भए पनि सुदूरपश्चिम प्रदेशमा पठाउने तयारी गरिएको उनले जानकारी दिए। 'अभाव टार्नका लागि प्रदेश आपूर्ति तथा संघीय अस्पतालहरूलाई पनि खोप खरिद गर्न विभागले पत्र पठाइसकेको छ,' उनले भने, 'त्यसै आधारमा धेरै प्रदेशहरूले खरिद पनि गरे, सुदूरपश्चिमले खरिद गरे पनि माग बढेकोले अभाव भएको हो।' अभाव समाधानका लागि विभागले भिन्नै टिम बनाएर पनि काम गरिरहेको उनले जानकारी दिए। हाल केन्द्रमा भएको स्टकलाई एकदमै मितव्ययी भएर प्रयोग गरिएको उनी बताउँछन्।
खरिद प्रक्रियालाई केही छिटो गराउने, विश्व स्वास्थ्य संगठनसँगको समन्वय तथा अन्य सहयोगी संस्थाहरूसँग सहयोग मागेर भए पनि तत्कालै समस्या समाधान गरिने उनको दाबी छ।
भ्याक्सिन अभावले गरिब बिरामी मारमा परे
रेबिज भ्याक्सिन अभावले निम्न वर्गका मानिसहरू मारमा पर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्। पैसा हुनेले निजी तथा अन्यत्र गएर पनि लगाउन सक्ने भएकोले यसको प्रत्यक्ष असर निम्न वर्गमा पर्ने डा. पुनको तर्क छ। जसले गरिबहरूमा रेबिजको जोखिम बढाएको उनको दाबी छ।
रेबिजका बिरामी काठमाडौंमा भन्दा पनि दुर्गममा बढी हुने भएकोले तत्कालै आपूर्ति सहज बनाउन उनको सुझाव पनि छ। रेबिजका कारण कोही पनि मर्न नपरोस् भन्नका लागि यसबारेमा आफूले कार्यक्रम नै चलाएको उनी बताउँछन्। भ्याक्सिन अभावको समस्यालाई सरकारले गम्भीर रूपमा लिएर तत्कालै समाधान गर्नुपर्ने अकाो धारणा छ।
के हो रेबिज?
रेबिज तातो रगत भएका स्तनधारी जनावरको टोकाइबाट मानिसमा सर्ने एउटा प्राणघातक भाइरल रोग हो। यो रोग 'लाइसा भाइरस' को संक्रमणका कारण लाग्छ। यस भाइरसले सिधै मानिसको केन्द्रीय स्नायु प्रणाली र मस्तिष्कमा गम्भीर असर पुर्याउँछ।
एकपटक रोगको लक्षण देखा परिसकेपछि यसको मृत्युदर शत प्रतिशत हुन्छ, अर्थात् संक्रमित व्यक्तिलाई बचाउन असम्भव जस्तै हुन्छ। यसै कारण यसलाई अत्यन्त खतरनाक रोग मानिन्छ।
रेबिज कसरी सर्छ?
रेबिज मुख्यतः संक्रमित जनावरको र्यालमार्फत सर्ने गर्छ। यो निम्नलिखित माध्यमहरूबाट मानिसको शरीरमा प्रवेश गर्छ:
जनावरको टोकाइबाट: रेबिज लागेको बहुला कुकुर, स्याल, फ्याउरो, बिरालो, बाँदर वा चमेरोले टोक्दा घाउमार्फत भाइरस शरीरभित्र पस्छ।
चिथोर्दा वा कोतर्दा: संक्रमित जनावरले आफ्नो नङ्ग्राले छालामा घाउ बनाउँदा र त्यहाँ र्याल पर्दा यो रोग सर्न सक्छ।
खुल्ला घाउ वा ओठमा चाट्दा: मानिसको शरीरमा पहिले नै भएको काटिएको वा कोतरिएको घाउ, आँखा, नाक वा मुखको भित्री छाला (म्युकस झिल्ली) मा संक्रमित जनावरले चाटेमा यो भाइरस सर्छ।