सल्यान- जिल्ला अस्पताल सल्यानमा कार्यरत एक चिकित्सक आइतबार अचेत अवस्थामा फेला परेका छन्। महोत्तरीको रतैली नगरपालिका–७ घर भई सल्यानमा कार्यरत उनी आइतबार बिहानदेखि एकाएक सम्पर्कविहीन भएका थिए।
खोजी गर्ने क्रममा उनलाई अस्पतालकै निर्माणाधीन भवनको एक कुनामा अचेत फेला पारिएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पूर्णबहादुर केसीका अनुसार उनले विषादी सेवन गरेको प्रारम्भिक अनुमान गरिएको छ।
गम्भीर अवस्थामा भेटिएका डा. साहको प्राथमिक उपचार अस्पतालमै भइरहे पनि थप जटिलता देखिएपछि उच्च उपचारका लागि काठमाडौं पठाउने तयारी गरिएको छ। उनलाई सुर्खेत हुँदै हेलिकप्टरमार्फत काठमाडौं लैजान गृहकार्य भइरहेको प्रहरीले जनाएको छ।
यद्यपि, मौसममा आएको खराबीका कारण सुर्खेतबाट मगाइएको हेलिकप्टर सल्यान पुग्न ढिलाइ भइरहेको छ। दिउँसो १:३० बजेसम्म पनि मौसम अनुकूल नहुँदा उद्धार कार्य प्रभावित भएको छ।उनको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ।