आज म ड्युटीमा थिएँ- एक निजी अस्पतालमा। एक सानो बच्चा भर्ना भएको थियो। अत्यन्तै कम तौल, समयभन्दा अघि जन्मिएको, र मेरो ड्युटीको क्रममा उसलाई बारम्बार झट्का (सिजर) आइरहेको थियो। कन्सल्टेन्ट सरसँगै हामी अभिभावकलाई काउन्सेलिङ गरिरहेका थियौँ।
उहाँहरूको आँखामा डर थियो, आवाजमा असहायता। कुरा गर्दै जाँदा थाहा भयो- आर्थिक अवस्था अत्यन्तै कमजोर। सरकारी अस्पतालमा बेड नपाएर मात्र निजी अस्पतालमा रेफर गरिएको रहेछ।
म सरकारी अस्पतालमा पनि काम गर्छु। आजै कुनै बेड खाली छ कि भनेर प्रयास गरेँ। भाग्यवश, एक मात्र बेड बाँकी थियो।
मैले अभिभावकलाई भनेँ- “उपचार उस्तै हुन्छ, सरकारी अस्पतालमै जानु राम्रो हुन्छ।” उहाँहरूको पनि त्यही इच्छा थियो।
सबै कागजात तयार भए। अब बिल तिर्ने समय आयो। उहाँहरूसँग पूरा रकम थिएन।
मैले कन्सल्टेन्ट सर र प्रशासनसँग कुरा गरेँ। उनीहरू पनि अत्यन्तै उदार- राम्रो छुट दिइयो। तर अझै केही रकम कम थियो।
त्यत्तिकैमा सरकारी अस्पतालबाट फोन आयो- “बच्चा किन आइपुगेन? एउटा मात्र बेड बाँकी छ, चाँडो ल्याउनुहोस्।”
मैले सबै अवस्था बुझाएँ र ३० मिनेट मात्र कुर्न अनुरोध गरेँ।
फेरि प्रशासनसँग कुरा गरेँ- “बाँकी रकम पछि दिन्छौँ, अहिले बच्चालाई जान दिनुहोस्।”
उनीहरूले फेरि पनि मानवता देखाए। केही औपचारिकतापछि हामी निस्कियौँ।
एम्बुलेन्स आयो।
बच्चा अक्सिजनमा थियो।
नर्सले बच्चालाई समातिरहेकी थिइन्।
त्यसैबेला उनले भनिन्- “डक्टर, एकछिन बच्चा समाइदिनुहोस्।”
मैले बच्चा समाएँ।
उनी एम्बुलेन्सबाट बाहिर निस्किइन्।
मलाई लाग्यो, केही बिर्सिइन् होला।
तर उनी फर्किँदा, हातमा पैसा थियो।
उनले एम्बुलेन्स ड्राइभरलाई १००० रुपैयाँ दिँदै भनिन्- “उनिहरुले सायद भाडा तिर्न सक्दैनन्, यो लिनुहोस्।”
त्यो क्षण…
म भित्रैदेखि लज्जित भएँ। काश, मसँग पनि त्यस्तो विशाल मन हुन्थ्यो।
हामी सरकारी अस्पतालको इमर्जेन्सी पुग्यौँ। डाक्टरलाई सबै बुझायौँ। रिफरल नोट हस्तान्तरण गर्यौँ। सबै ठीक थियो।
फर्किन लाग्दा-
नर्स फेरि अगाडि आइन्। आफूसँग बाँकी रहेको करिब ४००० रुपैयाँ बच्चाकी आमाको हातमा राख्दै भनिन्- “यहाँ कागजपत्र, औषधि, साना–साना खर्च लाग्न सक्छ। राख्नुहोस्।”
त्यो क्षण…
मेरो लागि अत्यन्तै विशेष बन्यो।
त्यतिबेला मैले बुझेँ- कति दिन्छौँ भन्ने कुरा होइन, कसलाई दिन्छौँ र आफ्नै थोरैमा कति दिन्छौँ- त्यो नै महानता हो।
ती नर्सको नाम मलाई थाहा छैन। तर आज, उहाँ मेरो जीवनको सबैभन्दा ठूलो पाठ हुनुहुन्छ।
म केही गर्न सकिनँ- धन्यवाद बाहेक।
यही संसारमा अझै पनि यति धेरै दयालु मुटुहरू बाँकी छन्। हामी साँचो बनिरह्यौँ भने, बाटो आफैँ बन्छ।
(डा धितालको सामाजिक सञ्जाल फेसबुकबाट)