ललितपुर- स्टार अस्पताल मा कार्यरत मेडिकल अफिसरहरूले विगत एक वर्षदेखि तलब तथा सेवा–सुविधा नपाएको भन्दै चैत ९ गतेसम्म भुक्तानी नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
अस्पताल व्यवस्थापनलाई २०८२ फागुन २६ गते बुझाएको पत्रमा मेडिकल अफिसरहरूले आफूहरू रातदिन नभनी आकस्मिक सेवासहित बिरामीको उपचारमा खटिँदै आएको उल्लेख गरेका छन्। तर लामो समयदेखि तलब तथा सेवा–सुविधा भुक्तानी नभएको गुनासो उनीहरूको छ।
पत्रअनुसार यसअघि २०८२ असोज २१ गते आन्दोलनरत मेडिकल अधिकृत र अस्पताल व्यवस्थापनबीच प्रत्येक महिना १० प्रतिशतका दरले बाँकी तलब भुक्तानी गर्दै जाने सहमति भएको थियो। तर उक्त सहमति हालसम्म कार्यान्वयन नभएको उनीहरूले बताएका छन्।
मेडिकल अफिसरहरूले तलब भुक्तानीका लागि पटक–पटक व्यवस्थापनको ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएको दाबी गरेका छन्। उनीहरूले चैत ९ गतेभित्र माघ महिनासम्मको तलब तथा बाँकी सेवा–सुविधा भुक्तानी नगरे अस्पतालको कुनै पनि जिम्मेवारी बहन गर्न नसक्ने चेतावनी दिएका छन्।
यस्तै, उक्त समयभित्र समस्या समाधान नभए आन्दोलनमा उत्रिने उनीहरूको भनाइ छ। साथै सम्भावित आन्दोलनका कारण बिरामीहरूलाई पर्न सक्ने असुविधाको जिम्मेवारी अस्पताल व्यवस्थापनकै हुने उनीहरूले बताएका छन्।