काठमाडौँ- प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवार बनेका चिकित्सक मध्ये थोरै मात्र विजयी बन्ने सम्भावना देखिँदा धेरैजसो पछि पर्ने स्थितिमा पुगेका छन्। हालसम्मको मत परिणामले ‘डाक्टर उम्मेदवार’हरूमा थोरैलाई मात्र सफलता प्राप्त हुने संकेत देखिएको छ।
हालसम्मको मत परिणामअनुसार रूपन्देही–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. लेखजंग थापा ५८ हजार ८१४ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत प्राप्त गरेका छन्।
त्यस्तै रास्वपाकै डा. तोसीमा कार्की ललितपुर–३ मा ३५ हजार ८०९ मतसहित अग्रस्थानमा छन्। सोही पार्टीका डा. शम्भुकुमार यादव पनि १५ हजार ७९० मतसहित सिरहा- ३ मा अघि रहेका छन्।
तर अन्य धेरै चिकित्सक उम्मेदवार भने प्रतिस्पर्धामा पछि परेका छन्। नेपाली कांग्रेसबाट मोरङ–३ का डा. सुनील शर्मा, मोरङ–६ का डा. शेखर कोइराला, रौतहट–२ का डा. फिर्दोष आलम, सिराहा–३ का डा. सुवास यादव र सर्लाही–२ का डा. सरोजकुमार यादव पछि परेका छन्।
यस्तै नेकपाबाट सर्लाही–४ मा उम्मेदवार बनेका डा. रजनिश राय पनि प्रतिस्पर्धामा पछि परेका छन् भने जनता समाजवादी पार्टी (जसपा)बाट महोत्तरी–३ मा उम्मेदवार बनेकी डा. मीनाक्षी ठाकुर पनि अग्रता लिन सकेकी छैनन्।
ललितपुर–३ मा उज्यालो नेपाल पार्टीका डा. आशुतोषविजय पन्त रास्वपाकी डा. तोसीमा कार्कीसँग पछि परेका छन्। काठमाडौँ–१० का उम्मेदवार डा. राकेश न्यौपाने र डा. धनबहादुर श्रेष्ठ भने पराजित भइसकेका छन्। डा. श्रेष्ठ श्रम संस्कृति पार्टीबाट र डा. न्यौपाने उज्यालो पार्टी नेपालबाट प्रत्यक्ष उम्मेदवार बनेका थिए।
उज्यालो पार्टी नेपालले मकवानपुर–२ मा डा. प्रविन स्याङ्तान र महोत्तरी–२ मा डा. राकेश मण्डललाई पनि उम्मेदवार बनाएको थियो। यद्यपि उनीहरू पनि प्रतिस्पर्धामा पछि देखिएका छन्।
यसैबीच नेपाल जनसेवा पार्टीबाट रूपन्देही–२ मा उम्मेदवार बनेका डा. निकोलस भुसाल भने अन्तिम समयमा उम्मेदवारीबाटै पछि हटेका थिए।
दलभन्दा बाहिर स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ–४ बाट डा. अर्चनशमशेर राणा र महोत्तरी–२ बाट डा. धनञ्जयकुमार हाथी चुनावी मैदानमा उत्रिए पनि जित हासिल गर्न सकेनन्।