हल्का आँखा राता छन्। निद्रा नपुगेको छर्लङै अनुहारमा देख्न सकिन्छ। आँखा टल्पल पनि छन्। धेरै दिनको थकानले शरीर गलेको देखिन्छ। इस्टकोट धुने व्यवस्था मिलेको देखिन्न। आँसु जसोतसो थामिएका छन्- खस्दा होलान् कतै एउटै कुनामा। सबैको सामु खस्न मर्द हुनुको मर्यादाले नदिएको होला। मनको बेग त आँखामा झल्किन्छ नै। भाद्गाउँले टोपीमा दुईटा खुकुरीका बुट्टा एक–आपसमा क्रस भएका छन्। ती कुदिएका खुकुरीका चित्रले जिन्दगीका विभिन्न परिबन्धका निर्णय जस्तै संकेत गर्न खोजेको प्रतित हुन्छ। निर्दोष चेहरा, शान्त स्वभाव र सरल जीवन उनका विशेषण हुन्।
नेपालको विकासको नक्सामा नअटाएको कुनै पश्चिमको कुनाबाट आएका छन्- आफ्नी जहानको उपचार गर्न। आफ्नी जहानको मृत्युको दोसाँधमा निर्णय गर्न उनलाई भनिएको छ, मेसिनमा राख्ने कि अवस्था गम्भिर तथा क्षीण भएकाले घर लिएर जाने। कति अमानवीय र संवेदनाहीन मानेका होलान् ती बुवाले मेरा शब्दहरू त्यतिबेला!
हरेक दिन घटनाक्रममा कठिन निर्णय लिनुपर्छ। चिकित्सक हुनुको नाताले त्यसको साक्षात्कार गर्दै विभिन्न परिस्थितिहरू नजिकैबाट नियाल्ने अवसर पाइन्छ। लामो करिडोरमा दौडिरहेका बेला करिडोरका छेउछाउमा पल्टिरहेका बिरामी कुरुवाहरू देखिन्छन्। मलिनता नाप्ने कुनै यन्त्र भएको भए फरक–फरक मापन गर्न सकिन्थ्यो। सबै कुनै–न–कुनै किसिमले मलिन छन् भन्नेमा सन्देह छैन। लाम्खुट्टेले उठिबासै लगाउँछन्। त्यसैले होला त्यो परिसरबाट हिँड्दा लाम्खुट्टे धपाउने धुवाँको गन्धले नाक जिस्काइरहन्छ।
लम्पसार पल्टिरहेका बेला भर्खर आँखाका परेली टाँसिन खोजेका हुँदा हुन्। अचानक भित्रबाट बुलावट हुन्छ, “५ नम्बर! हिरा माझीको मान्छे!” जिउ पूरै भारी भएकोले होला, निकै अप्ठेरोसाथ उठ्छन् ती बुवा। दिनभरि कुदेका छन्, कहिले यो औषधि, कहिले त्यो जाँच। कहिले घण्टा–घण्टामा औषधि थपिन्छ। ठूलो अस्पतालका कुनाकुनाका कोठाहरू चहार्दा–चहार्दै दिन बितेको हुन्छ। फार्मेसीको लाइन, काउन्टरको लाइन, सबैले थकान बढाइरहेका हुन्छन्। त्यसैले होला ती बुवाले भनेका थिए, “म्याराथन दौडिनु भन्दा गाह्रो यो दौडधुप।”
म्याराथनको त बाटो सिधा हुन्छ, पुरस्कार पनि प्राप्त हुन्छ। तर मन पीडाले भरिएको अवस्थामा सिधा बाटो पनि रणभुल्ल हुन पुग्छ। त्यसमाथि छरिएका काउन्टरहरू- क्यास काउन्टर पूर्वमा, फार्मेसी उत्तरमा, ल्याब ४०० मिटर पारीको भवनमा…” अनि हरेक पाइलामा पैसाको खाँचो। पैसा अभावको पीडा यस्तै काउन्टरमा गनी–गनी दिँदा पत्ता लाग्छ।
केही बेरमा औषधि लिएर फर्कन्छन् ती बुवा। र आफ्नो जगेर्ना गरी राखिएको भुइँतिर पल्टिन जान्छन्। उनी पल्टिने क्रममा मेरो दृष्टि उनको गुन्द्रीमा पर्छ। घरबाटै साथमा लिएर आएका रहेछन्, परालको गुन्द्री। आफूैले बुनेका होलान् सायद। उनको जीवनचर्यामा कुनै–न–कुनै कर्मको नमूना देख्न सकिन्छ। हात–कमला क्रिमले मोलिएका छैनन्, हात खस्रा छन्। त्यो देखेर त उनी मनको चोटले मात्रै गलेको हुनुपर्छ जस्तो अनुभूति हुन्छ। उनकी जहानको अवस्था निकै गम्भिर छ। सायद कुनै चमत्कारले मात्रै सकुशल घर फर्काउन सकिने थियो। तर चमत्कार त सिरियलहरू र दन्त्यकथामा मात्रै सीमित हुन्छन्।
मलाई पनि कहिल्यै कुनै चमत्कार भए ती बुवाको मलिन अनुहारमा केही कान्ति आउने थियो कि जस्तो लागिरह्यो। तर चमत्कार भएन। अनुहार त्यही मलिन रह्यो। त्यही मलिन अनुहारलाई बिदाबारी गर्दा मलाई एउटा कविता स्मरण भयो-
“आयो टप्प टिप्यो, लाग्यो मिति पुग्यो …”
क्यान्टिन जाने क्रममा बिरामी कुरुवा सुत्ने ठाउँ हुँदै जानुपर्यो। त्यहाँ गुन्द्री भित्तामा अडेस लगाएर राखिएको देखेँ। एक क्षण अडिएँ। त्यो गुन्द्री तिनै बुवाको थियो। के उनले बिर्सेका हुन्? अवश्य पनि बिर्सेका होइनन्। आफ्नै पौरखले बुनेको गुन्द्री, शायद कसैलाई काम लागोस् भनेर उदारतापूर्वक छोडेर गएका।
तर मलाई किन हो, त्यो भित्तामा ठाडो ठडिएको गुन्द्रीले व्यंग्य गरेको जस्तो प्रतीत भयो, भुइँमा सुत्नुपर्ने बाध्यताको व्यंग्य। आफ्नो पौरखले केही नथपी अरुले बनाएर दिएको संरचनामा यथास्थिति हुने नालायकिपनको व्यंग्य। हामी सबैप्रति कठोर व्यंग्य। खै, मलाई पीर पर्यो। त्यसैले तुरुन्तै हटाउन लगाएँ त्यो गुन्द्री। किनकि मसँग त्यो व्यंग्य सहने शक्ति पनि थिएन, न व्यंग्यको जवाफ दिने क्षमता। शायद म त्यस व्यंग्यको पात्र पनि थिइनँ।
उही
गुन्द्री फाल्दिने डाक्टर