तँ मलाई पनि भन्न आउँछ,
तर मेरो करुणाभावलाई कमजोरी नसम्झेस्।
हेर समाज,
तैले मलाई निर्मम बनाउँदैछस्।
दया, माया र करुणा पखालिँदै छन् मेरो आत्माबाट।
विचार गर-
भोलि मलाई खोजेर पनि नपाउन सक्छस्।
मेरो पनि मन छ,
मेरो पनि परिवार छ।
म पनि जगतको भलो चाहन्छु,
तर विशुद्ध कार्यमा पनि मलाई हत्यारा बनाएर छाड्छस्!
कहिल्यै बुझेनस् मेरो मनको आँधी,
बुझेनस् उपचारको नतिजासँग जोडिएको मेरो आत्मा।
म आफैसँग पटक–पटक हार्छु
हरेक असफलतामा।
कठोर शब्दका बाणले सधैं घायल बनाउँछस्।
बुझ राम्ररी-
म भगवान होइन, म पनि मानिस हुँ।
मैले प्रयास मात्र गर्ने हो,
चमत्कार बोकेर हिँडेको छैन।
तेल फुकेर कानको उपचार,
पानी फुकेर क्यान्सर निको पार्ने,
चामल छरेर भूत भगाउने,
चुसेर पत्थरी निको पार्ने-
यस्ता बकम्फुसे अन्धविश्वास बोक्ने
तँ जस्तो गँवार समाजले
मेरा सत्प्रयासमा पनि हत्या नै देख्छस्!
ए समाज! याद राख-
एक दिन यस्तो आउनेछ,
मेरो अस्तित्व खोज्दै गर्दा
आफ्नै अस्तित्व गुमाउनेछस्।
त्यसैले आजै सोच्,
किनकि म यो समाजबाट हराएँ भने,
मसँगै भोलि तैले खोज्ने आशा पनि हराउनेछ।
तँ अचेल बिरामी छस्-
मानसिक रूपमा बिरामी,
आचरणमा दरिद्र।
पशुपतिनाथले यो समाजको रक्षा गरून्।
डा. अखण्ड उपाध्याय
किष्ट मेडिकल कलेज, काठमाडौँ
मेडिकल अधिकृत (रेजिडेन्ट)