काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका मन्त्री निशा मेहता र मन्त्रालयका सचिव डा विकास देवकोटाले सिंहदरबार वैद्यखानाको स्थलगत अनुगमन गरी त्यहाँको वर्तमान अवस्था, सेवा प्रवाह तथा उत्पादन गतिविधिबारे जानकारी लिएका छन्।
अनुगमनपश्चात आयोजित छलफलमा वैद्यखानाको क्षमता अभिवृद्धि, औषधि उत्पादन वृद्धि तथा बजार प्रवर्द्धनका विषयमा विस्तृत समीक्षा गरिएको थियो। सो क्रममा मन्त्री मेहता र सचिव डा देवकोटाले वैद्यखानाको सुधार तथा आधुनिकीकरणका लागि आवश्यक स्रोतसाधन, औजार–उपकरण र जनशक्तिको विवरणसहितको प्रस्ताव तत्काल पेस गर्न निर्देशन दिएका छन्।

उनीहरूले आयुर्वेदिक औषधिको उत्पादन र वितरणलाई थप प्रभावकारी बनाउन आवश्यक पूर्वाधार तथा व्यवस्थापकीय सुधारका कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। साथै, वैद्यखानाको समग्र सरसफाइ, व्यवस्थापन र कार्यसम्पादनमा प्रभावकारिता ल्याउन सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न निर्देशन दिइएको छ।
मन्त्रालयले वैद्यखानालाई गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन तथा सेवाको विश्वसनीय केन्द्रका रूपमा विकास गर्न आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएको छ। अनुगमनले वैद्यखानाको सेवा विस्तार, उत्पादन क्षमता वृद्धि तथा संस्थागत सुदृढीकरणका लागि थप पहल गर्ने आधार तयार गरेको मन्त्रालयको भनाइ छ।
यो पनि पढ्नुहोस्