काठमाडौं - सिंहदरबारस्थित एक क्याफेमा घुन लागेको चनाको दाल, ओसिएका खाद्यवस्तु तथा फुटेका अण्डा फेला परेपछि खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले २ लाख १ हजार रुपैयाँ जरिवाना गरेको छ।
विभागले गरेको अनुगमनका क्रममा क्याफेमा करिब १७ केजी घुन लागेको चनाको दाल, ११ केजी ओसिएको बदाम तथा १४ वटा फुटेको अण्डा भेटिएको जनाएको छ। अनुगमन टोलीले ती खाद्य सामग्री उपभोगका लागि अनुपयुक्त रहेको ठहर गर्दै नष्ट गर्न निर्देशन दिएको थियो।
खाद्य सुरक्षासम्बन्धी मापदण्ड उल्लंघन गरेको तथा उपभोक्ताको स्वास्थ्यमा जोखिम पुग्ने अवस्थाका खाद्य सामग्री भण्डारण गरेको पाइएपछि विभागले क्याफेलाई २ लाख १ हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ।
विभागले खाद्य व्यवसायीलाई सरसफाइ, गुणस्तर र सुरक्षित भण्डारणमा विशेष ध्यान दिन आग्रह गर्दै यस्ता कमजोरी दोहोरिए कडा कारबाही गरिने चेतावनी दिएको छ। सिंहदरबारजस्तो संवेदनशील सरकारी क्षेत्रमा सञ्चालित क्याफेमा नै गुणस्तरहीन खाद्य सामग्री फेला परेपछि खाद्य सुरक्षाप्रति थप चासो बढेको छ।