काठमाडौं- प्रतिनिधिसभा सदस्य डा. ओजस्वी शेरचनले मेडिकल अफिसर, इन्टर्न तथा अन्य चिकित्सकहरू लामो समयसम्म निरन्तर अस्पतालमा कार्यरत रहनुपर्ने अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अत्यधिक कार्यबोझका कारण चिकित्सकहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने र त्यसले स्वास्थ्य सेवाको गुणस्तरमा समेत असर पार्न सक्ने बताइन्। उनले चिकित्सकहरूको कार्यघण्टा व्यवस्थित गर्न तथा उचित पारिश्रमिक सुनिश्चित गर्न आवश्यक नीति सुधार गर्न सरकारसँग माग गरिन्।
डा. शेरचनले नेशनल एकेडेमी अफ मेडिकल साइन्सेस (न्याम्स) का रेजिडेन्ट डाक्टरहरूले विगत दुई महिनादेखि तलब तथा भत्ता नपाएको विषय पनि संसद्मा उठाइन्। तलब नपाउँदा रेजिडेन्ट डाक्टरहरू आर्थिक कठिनाइका बीच काम गर्न बाध्य भएको उल्लेख गर्दै उनले यसले उनीहरूको मनोबल र कार्यसम्पादनमा प्रतिकूल प्रभाव पारेको बताइन्।
उनले सम्बन्धित निकाय, विशेषगरी न्याम्स र चिकित्सा शिक्षा आयोगको ध्यानाकर्षण गराउँदै रेजिडेन्ट डाक्टरहरूको बाँकी तलब तथा भत्ता यथाशीघ्र उपलब्ध गराउन सरकारसँग आग्रह गरिन्। साथै, चिकित्सकहरूलाई सहज र सम्मानजनक वातावरणमा सेवा प्रदान गर्न सक्ने अवस्था सुनिश्चित गर्न आवश्यक पहल गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराइन्।