पार्किन्सन रोगको उपचारका लागि प्रयोग हुने केही डोपामिन एगोनिस्ट औषधिहरूले बिरामीको शरीरलाई मात्र होइन, कहिलेकाहीँ उनीहरूको व्यवहार र सम्पूर्ण जीवनलाई समेत असाधारण रूपमा बदलिदिन सक्छन् भन्ने एउटा मार्मिक उदाहरण हो एन्ड्र्यूको कथा। एन्ड्र्यू एक प्रतिष्ठित कानुन व्यवसायी थिए। उनी म्यानचेस्टरको दक्षिणतर्फको एक शान्त गाउँमा पत्नी फ्रान्सेस, छोरी एलिस, र छोरा ह्यारीसँग बस्दै आएका थिए। बाहिरबाट हेर्दा उनको जीवन व्यवस्थित, सम्मानित र सफल देखिन्थ्यो। उनी कानुनी पेशामा स्थापित थिए, इतिहासप्रेमी थिए, र प्राचीन कलम, माटाका भाँडा तथा क्रिकेटसँग सम्बन्धित पुराना सामग्री सङ्कलन गर्न रुचाउँथे। परिवार र समाजको दृष्टिमा उनी एक जिम्मेवार पति, पिता र पेशेवर व्यक्ति थिए।
सन् २००७ मा उनलाई पार्किन्सन रोग भएको पत्ता लाग्यो। त्यसपछि उनको जीवनमा अप्रत्यासित मोड आयो। हातखुट्टा काम्ने, शरीर थाक्ने र दैनिक काममा असहजता बढ्दै गएपछि चिकित्सकहरूले उनलाई प्रामिपेक्सोल नामको डोपामिन एगोनिस्ट औषधि सेवन गर्न दिए। प्रारम्भमा यो औषधि चमत्कारजस्तै देखियो। उनको कम्पन कम भयो, शरीरमा चलायमानता आयो, र उनी फेरि सामान्य जीवनतर्फ फर्किएको जस्तो लाग्न थाल्यो। परिवारले पनि यो औषधिलाई राहतको रूपमा लियो। तर उनीहरूलाई थाहा थिएन कि यही औषधिले विस्तारै उनको सोच, निर्णय क्षमता र व्यवहारमा गम्भीर परिवर्तन ल्याइरहेको थियो।
केही समयपछि एन्ड्र्यूमा आवेगपूर्ण र बाध्यकारी व्यवहार देखा पर्न थाल्यो। सामान्य भाषामा भन्नुपर्दा, यस्तो व्यवहारमा व्यक्तिले सोचविचार नगरी तुरुन्तै कुनै इच्छा पूरा गर्न खोज्छ वा बारम्बार त्यही काम दोहोर्याउन बाध्य महसुस गर्छ। एन्ड्र्यूको हकमा यो व्यवहार अत्यधिक यौन चाहना, अनियन्त्रित खर्च, निरन्तर किनमेल, वयस्क दृश्य सामग्री हेर्ने लत, र यौनकर्मीहरूमा अत्यधिक पैसा खर्च गर्ने रूपमा देखा पर्यो। औषधि सुरु गर्नुअघि कहिलेकाहीँ मात्र यस्ता सामग्री प्रयोग गर्ने एन्ड्र्यूले औषधि सेवन गरेपछि सयौं पटक त्यस्ता माध्यमहरूमा रकम तिर्न थाले। उनले केवल एउटा वयस्क सामग्री दिने माध्यममा मात्र एक लाख पाउन्डभन्दा बढी खर्च गरे। चार महिनाको अवधिमा मात्र असी हजार पाउन्ड यौनकर्मीहरूमा खर्च भएको भेटियो। प्रहरीले उनको मोबाइल जाँच गर्दा नब्बेभन्दा बढी यौनकर्मीहरूको सम्पर्क नम्बरहरू भेटिएका थिए।
उनको बाध्यकारी व्यवहार यतिमै सीमित रहेन। इतिहासप्रेमी एन्ड्र्यूले पुराना वस्तुहरू खरिद गर्ने लत पनि विकास गरे। प्रहरीको छापा पर्नुभन्दा अघिका छ महिनामा मात्र उनले पचासी हजार पाउन्डभन्दा बढी अनलाइन माध्यमबाट खर्च गरेका थिए। सबैभन्दा दुखद पक्ष के थियो भने यो पैसा उनको आफ्नै नभई उनका वृद्ध र कमजोर ग्राहकहरूको खाताबाट चोरी गरिएको थियो। एन्ड्र्यूले तेह्र जना ग्राहकबाट करिब छ लाख पाउन्डभन्दा बढी रकम दुरुपयोग गरेका थिए। तीमध्ये धेरैजसो अस्सी वर्षभन्दा माथिका थिए र कतिपय अल्जाइमर जस्ता बिर्सिने रोगबाट पीडित थिए। एक सत्तासी वर्षीया महिलाको मृत्यु भएपछि उनको अन्त्येष्टि गर्न समेत पर्याप्त पैसा बाँकी नरहेको तथ्य अदालतमा प्रस्तुत गरिएको थियो।
एक दिन बिहान काममा पुगेकी उनकी पत्नी फ्रान्सेसलाई प्रहरीले एन्ड्र्यूलाई पक्राउ गरेको फोन आएपछि मात्र सबै खुलासा भएको थियो। उनीहरूको घरमा खानतलासी गरिएको थियो। एन्ड्र्यूको कार्यालय पहेँलो सुरक्षा पट्टीले घेरिएको थियो, कर्मचारीहरू स्तब्ध थिए, र कागजातहरू बाकसमा हालिँदै थिए। एक सम्मानित कानुन व्यवसायीको जीवन एकै दिनमा सार्वजनिक अपमानमा परिणत भयो। फ्रान्सेस पछि भनेकी थिइन्, “मानिसहरूले हामीसँग बोल्न चाहेनन्, र म त्यो बुझ्न सक्छु।” उनकी छोरी एलिसका अनुसार, “बुबाले आफूलाई कहिल्यै माफ गर्न सकेनन्।”
एन्ड्र्यूको यो परिवर्तनले परिवारमा गहिरो घाउ छोड्यो। उनका छोरा ह्यारी, जसको मानसिक स्वास्थ्य पहिल्यै कमजोर थियो, बाबुको गिरफ्तारी र त्यसपछि आएको सामाजिक दबाब सहन सकेनन्। उनको मानसिक अवस्था बिग्रँदै गयो, उनी अस्पतालमा भर्ना भए, र केही समयपछि हराए। केही हप्तापछि उनको शव फेला पर्यो। उनले आत्महत्या गरेका थिए। परिवारका लागि यो आर्थिक संकटभन्दा ठूलो भावनात्मक विनाश थियो।
सन् २०१५ मा अदालतमा एन्ड्र्यूले ठगी स्वीकार गरे। सुनुवाइका क्रममा न्यायाधीशले एन्ड्र्यूको व्यवहारमा औषधिको प्रभाव रहेको स्वीकार गरे। अदालतले मानेको थियो कि प्रामिपेक्सोल जस्ता डोपामिन एगोनिस्ट औषधिले मानिसमा गम्भीर आवेग नियन्त्रण विकार ल्याउन सक्छ। यद्यपि न्यायाधीशले यो पनि भने कि एन्ड्र्यू अझै आफ्नो पेशागत काम अन्य क्षेत्रमा सक्षम रूपमा गरिरहेका थिए, त्यसैले पूर्ण रूपमा औषधिलाई मात्र दोष दिन सकिँदैन। अन्ततः उनलाई चार वर्षको जेल सजाय सुनाइयो।
जेल अवधिमा उनको परिवार पूर्ण रूपमा टुटिसकेको थियो। केही रकम ग्राहकहरूलाई फिर्ता गर्न सकियोस् भनेर उनको सम्पत्ति जफत गरियो। फ्रान्सेस र एन्ड्र्यूको सम्बन्धविच्छेद भयो। फ्रान्सेस छोरी सहित अन्यत्र गोप्य स्थानमा बसाइ सरे। जेलबाट रिहा भएपछि एन्ड्र्यू सुरक्षित आवासमा बस्न थाले। उनले औषधि तुरुन्तै बन्द गरिसकेका थिए। तर त्यसपछि पार्किन्सन रोगका लक्षणहरू फेरि गम्भीर बने। महामारीकालीन बन्दाबन्दीको एकान्तले उनको मानसिक अवस्था अझ कमजोर बनायो। अन्ततः अक्टोबर २०२० मा एन्ड्र्यूले आत्महत्या गरे।
यस्ता घटनाहरूमा बेलायतमा एन्ड्र्यू एक्ला उदाहरण होइनन्। बेलायतमा डोपामिन एगोनिस्ट औषधिका कारण उत्पन्न आवेग नियन्त्रण विकारसँग सम्बन्धित सयौं घटनाहरू वर्षौंदेखि बाहिर आइरहेका छन्। उदाहरणका लागि, जेन राइड नामकी एक महिलाले आफ्नो पतिमा प्रामिपेक्सोल सेवनपछि अस्वाभाविक रूपमा अत्यधिक यौन चाहना बढेको बताएकी थिइन्। उनले बीबीसीसँगको अन्तर्वार्तामा औषधि सुरु भएपछि उनका पति दिनमा पटक–पटक यौन सम्बन्धको माग गर्थे र औषधि लिनुअघि यस्तो स्वभाव नभएकाले उनी आफैँ पनि आफ्नो व्यवहार देखेर स्तब्ध हुन्थे भनेकी थिइन्। अर्को घटना ह्याम्पशायरका फिलिप स्टिभेन्सको हो, जसले रोपिनिरोल सेवन गरेपछि जुवाको गम्भीर लत विकास गरे र हजारौं पाउन्ड गुमाए। सन् २०२४ मा उनले चिकित्सकविरुद्ध मुद्दा जितेर सत्तरी हजार पाउन्ड क्षतिपूर्ति पाए किनकि न्यायाधीशले उनको हकमा औषधिको जोखिमबारे पर्याप्त चेतावनी नदिएको ठहर गरिएको थियो। त्यस्तै एसेक्सकी एक महिलाले प्रामिपेक्सोलका कारण अनियन्त्रित जुवा र अत्यधिक खर्च गर्ने बानी विकास गरेपछि सन् २०२५ मा एक लाख सत्तरी हजार पाउन्ड क्षतिपूर्ति प्राप्त गरेकी थिइन्।
यस्ता धेरै बिरामीहरूले घरबार गुमाएका छन्, ऋणमा डुबेका छन्, परिवारसँग सम्बन्ध बिगारेका छन् र कतिपय कानुनी समस्यामा समेत परेका छन्। केही घटनाहरूमा चोरी, ठगी, वैवाहिक विघटन र आत्महत्यासम्मका परिणाम देखिएका छन्। वैज्ञानिक रूपमा हेर्दा, यी औषधिहरूले पार्किन्सन रोगमा कम भएको डोपामिनको काम पूरा गर्न मद्दत गर्छन्, तर सँगै मस्तिष्कको रिवार्ड सेन्टरलाई असामान्य रूपमा सक्रिय बनाउँछन्। यसले मानिसमा तत्काल आनन्द दिने क्रियाकलापप्रति अत्यधिक आकर्षण उत्पन्न गर्छ र परिणामस्वरूप आवेग नियन्त्रण विकार देखा पर्छ। अध्ययनहरूका अनुसार डोपामिन एगोनिस्ट सेवन गर्ने पार्किन्सनका बिरामीमध्ये करिब १७ प्रतिशत, अर्थात् लगभग प्रत्येक छ जनामध्ये एक जनामा, यस्तो समस्या देखिन सक्छ। सबैभन्दा धेरै देखिने व्यवहारहरूमा जुवा खेल्ने बानी, अत्यधिक किनमेल, यौन लत, बारम्बार खाने बानी, र कुनै वस्तु वा काममा बाध्यकारी लगाव पर्छन्।
बेलायतको औषधि नियामक निकायले धेरै वर्षअघि नै यस्तो जोखिमबारे चेतावनी दिएको भए पनि धेरै बिरामी र परिवारले आफूहरूलाई पर्याप्त जानकारी नदिइएको गुनासो गर्दै आएका छन्। पार्किन्सन युके लगायत संस्थाहरूले बिरामी मात्र होइन, परिवारलाई पनि व्यवहारमा आउने परिवर्तनहरूबारे सतर्क रहन सुझाव दिने गरेका छन्, किनकि यस्ता घटनाहरूले केवल बिरामीलाई मात्र होइन, पूरै परिवारलाई असर गर्छन्। पति वा पत्नीले विश्वासघात, अपमान र मानसिक पीडा सहनुपर्छ, बच्चाहरूको मानसिक स्वास्थ्य बिग्रन सक्छ, आर्थिक संकट आउँछ र सामाजिक सम्बन्धहरू भत्कन सक्छन्। एन्ड्र्यूको परिवार जस्तै धेरै परिवार यस्ता औषधिका अदृश्य असरले टुक्रिएका छन्।
अधिकांश अवस्थामा औषधि रोक्दा वा मात्रा घटाउँदा समस्या सुधारिन सक्छ, तर कहिलेकाहीँ त्यसले छोडेको मानसिक, सामाजिक र आर्थिक घाउ भने स्थायी बन्न सक्छ। एन्ड्र्यू टेलर र यस्तै अन्य बिरामीहरूको कथाले कहिलेकाहीँ औषधिले रोग निको मात्र पार्ने होइन, बरु फरक किसिमको समस्याले मानिसको व्यक्तित्व नै बदलिदिन सक्छ भन्ने एउटा स्पष्ट सन्देश दिन्छ। त्यसैले यस्ता औषधि सुरु गर्दा बिरामी र परिवार दुवैले जोखिमबारे पूर्ण जानकारी लिनु आवश्यक हुन्छ। परिवारले अचानक अत्यधिक खर्च, यौन व्यवहारमा परिवर्तन, जुवा, चिडचिडापन वा अस्वाभाविक रुचि देखिएमा तुरुन्त चिकित्सकलाई जानकारी दिनुपर्छ। नियमित स्वास्थ्य अनुगमन, मानसिक सहयोग र आवश्यक परे कम जोखिम भएका वैकल्पिक उपचारबारे छलफल गर्नु अत्यन्त आवश्यक छ। यी औषधिहरू लाखौं बिरामीका लागि जीवन सहज बनाउने माध्यम हुन्, तर पर्याप्त सचेतता बिना यिनले केहीको जीवन नै तहसनहस पार्न सक्छन्।