काठमाडौं – सरकारले तोकेसरहको पारिश्रमिक उपलब्ध गराउने गरी भएको सम्झौता कार्यान्वयन नभएको भन्दै कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी पुनः आन्दोलनमा उत्रिएका छन्।
स्वास्थ्यकर्मीहरू जेठ ५ गते भएको सहमतिअनुसार २० दिनभित्र सम्झौता कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिएका हुन्। उनीहरू नेपाल नर्सिङ सङ्घको कार्यालयमा भेला भएर धर्ना तथा विरोध कार्यक्रम गरिरहेको अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्ट भूपेन्द्र खत्रीले बताए।
आन्दोलनरत स्वास्थ्यकर्मीका अनुसार सम्झौताअनुसार गत कात्तिक महिनादेखि नै सरकारले तोकेअनुसारको तलब तथा सेवा–सुविधा उपलब्ध गराउने सहमति भएको थियो। तर, अस्पताल प्रशासनले आगामी साउन महिनादेखि मात्र सरकारी तलबको ८० प्रतिशत पारिश्रमिक उपलब्ध गराउने जानकारी दिएपछि स्वास्थ्यकर्मीहरू पुनः आन्दोलनमा उत्रिन बाध्य भएका हुन्।
खत्रीका अनुसार सहमतिविपरीत प्रशासनले पूर्ण रूपमा सरकारीसरह पारिश्रमिक लागू नगरेपछि आन्दोलन गरिएको हो।
स्वास्थ्यकर्मीहरूले पूर्वसहमति पूर्ण रूपमा कार्यान्वयन गर्दै सरकारी अस्पतालसरह पारिश्रमिक र सेवा–सुविधा सुनिश्चित गर्न माग गरेका छन्।