नेपाल संघीय संरचनामा प्रवेश गरेको धेरै वर्ष भइसकेको छ । संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक अधिकारको रूपमा सुनिश्चित गरेको छ । राजनीतिक परिवर्तनसँगै प्रशासनिक र संरचनागत रूपान्तरण पनि देखियो । तर एउटा महत्वपूर्ण प्रश्न अझै बाँकी छ, के हामीले आफ्नो सोच र कार्यशैलीमा परिवर्तन ल्याउन सकेका छौं त् ?
पछिल्लो समय भएका निर्वाचन र जनमतले स्पष्ट संकेत दिएका छन् कि नेपाली जनताले अब पुरानै शैलीमा काम गर्ने प्रवृत्तिलाई स्वीकार गर्ने छैनन् । ढिलासुस्ती, गैरजिम्मेवार व्यवहार र पुरानो मानसिकताबाट उनीहरू दिक्क भइसकेका छन्। जनताले अब यस्तो परिवर्तन खोजिरहेका छन् जसले उनीहरूको दैनिक जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पारोस्, उनीहरूको समस्या समाधान होस् र उनीहरूले दिएको मतको अर्थपूर्ण परिणाम देखियोस् ।
यो परिवर्तनको अपेक्षा स्वास्थ्य क्षेत्रमा पनि उत्तिकै लागू हुन्छ । अब जनताले स्वास्थ्य सेवा लिनका लागि पालो कुरेर बस्ने, चाकरी गर्ने वा सिफारिस खोज्ने अवस्था चाहँदैनन् । उनीहरू सम्मानजनक, गुणस्तरीय र पारदर्शी सेवा चाहन्छन् । स्वास्थ्य चौकी पुग्दा स्वास्थ्यकर्मीले उनीहरूको कुरा ध्यानपूर्वक सुनोस्, समस्या बुझोस् र उचित उपचार प्रदान गरोस् भन्ने उनीहरूको अपेक्षा छ ।
देशको विकास केवल सरकार वा जनप्रतिनिधिको जिम्मेवारी मात्र होइन, यो हरेक नागरिकको साझा कर्तव्य हो । तर स्वास्थ्य क्षेत्रमा कार्यरत हामी स्वास्थ्यकर्मीको जिम्मेवारी अझ बढी छ किनकि स्थानीय स्तरमा प्रदान गरिने स्वास्थ्य सेवा नै राष्ट्रिय स्वास्थ्य प्रणालीको आधार हो । यदि यो आधार बलियो भएन भने समग्र स्वास्थ्य प्रणाली सुदृढ हुन सक्दैन । संघीय व्यवस्थालाई सफल बनाउन पनि स्थानीय सेवाप्रदायकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।
स्थानीय स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको रूपमा मैले आफूभित्र धेरै कुरा सुधार गर्नुपर्ने महसुस गरेको छु । अझ धेरै सिक्नुपर्ने, आफ्नो कार्यशैलीलाई परिमार्जन गर्नुपर्ने र सेवाप्रति समर्पित हुनुपर्ने आवश्यकता मैले अनुभव गरेको छु । त्यसैले आज म आफ्नै कमजोरीहरूलाई स्वीकार गर्दै आफूले गर्नुपर्ने सुधारको बारेमा आत्मसमीक्षा गर्न चाहन्छु।
सेवा प्रवाहमा मेरो जिम्मेवारी
स्वास्थ्य चौकीमा आउने सेवाग्राहीको संख्या बढाउनका लागि सर्वप्रथम सेवाग्राहीमैत्री वातावरण निर्माण गर्न आवश्यक छ । सरसफाइ, पिउने पानी, बस्ने उचित व्यवस्था र बिरामीको गोपनीयताको सम्मान सुनिश्चित गर्नु हाम्रो प्राथमिक जिम्मेवारी हो । बिरामीलाई ध्यान दिएर सुन्ने, उनीहरूको समस्या बुझ्ने र पर्याप्त समय दिने बानी विकास गर्नुपर्छ । आफूले समाधान गर्न नसक्ने अवस्थाहरूमा उचित र समयमै रेफरल प्रणाली प्रयोग गर्नुपर्छ ।
नेपाली जनताले खोजेको परिवर्तन वास्तवमा यस्तै साना व्यवहारबाट सुरु हुन्छ । स्वास्थ्यकर्मीले “आज होइन, भोलि आउनुस्” भन्नुभन्दा “आउनुस्, तपाईंलाई कसरी सहयोग गर्न सक्छु?” भन्ने संस्कार विकास भयो भने त्यसले ठूलो परिवर्तन ल्याउन सक्छ।
अब स्वास्थ्य चौकीमा बसेर मात्र सेवा दिने होइन, आवश्यकता अनुसार गाउँ टोलसम्म पुगेर सेवा दिनुपर्ने हुन्छ । स्वास्थ्य चौकीसम्म आउन नसक्ने अशक्त व्यक्ति, ज्येष्ठ नागरिक वा दीर्घरोगीहरूलाई घरमै पुगेर सेवा दिनु पनि हाम्रो दायित्व हो।
ज्ञान र सीपको अद्यावधिकता
जनस्वास्थ्य क्षेत्रमा निरन्तर नयाँ अनुसन्धान, प्रविधि र नीति विकास भइरहेका छन् । पुरानो ज्ञानमा मात्र सीमित रहेर अब काम चल्दैन । त्यसैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वास्थ्य नीति, निर्देशिका र प्रोटोकलहरू नियमित रूपमा अध्ययन गर्नुपर्छ । विभिन्न तालिम र कार्यशालामा सहभागी भई आफूलाई अद्यावधिक राख्नु आवश्यक छ । हरेक बिरामीलाई सिकाइको अवसरको रूपमा हेर्ने दृष्टिकोण विकास गर्नुपर्छ ।
“यति गरे पुग्छ” भन्ने सोच अब त्याग्नुपर्छ । नयाँ पुस्ताले अपेक्षा गरेको गुणस्तर र नवप्रवर्तनलाई बुझ्दै आफूलाई समयअनुसार ढाल्नुपर्छ।
सुशासन र पारदर्शिता
आजको समयको सबैभन्दा महत्वपूर्ण माग सुशासन र पारदर्शिता हो । नेपाली जनताले स्पष्ट सन्देश दिएका छन् कि अब पारदर्शिता बिना कुनै व्यवस्था स्वीकार्य छैन । स्वास्थ्य चौकीमा उपलब्ध सेवा, औषधि र सुविधाको जानकारी सबैले देख्ने गरी सार्वजनिक गर्नुपर्छ । औषधिको स्टक, म्याद र उपलब्धताको विवरण पारदर्शी रूपमा राख्नुपर्छ।
गुनासो व्यवस्थापन प्रणाली स्थापना गरी आएका गुनासोहरूको सम्मानपूर्वक समाधान गर्नुपर्छ । स्थानीय स्वास्थ्य समिति र उपभोक्ता समूहलाई सक्रिय बनाउनु आवश्यक छ । सार्वजनिक सुनुवाइ जस्ता कार्यक्रमलाई डरको रूपमा होइन, सुधारको अवसरको रूपमा लिनुपर्छ।
अब “खाइन्छ, लाइन्छ, मिलेमतो हुन्छ” भन्ने मानसिकता समाजले पूर्ण रूपमा अस्वीकार गरिसकेको छ । त्यसैले हरेक खर्च, हरेक निर्णय र हरेक प्रक्रिया पारदर्शी हुनुपर्छ।
टोली नेतृत्व र व्यवस्थापन
स्वास्थ्य चौकी प्रमुखको रूपमा मेरो नेतृत्व क्षमताले पनि संस्थाको प्रभावकारितामा ठूलो भूमिका खेल्छ । टोलीका सदस्यहरूको जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गर्नुपर्छ । उनीहरूको क्षमता र सीपअनुसार काम बाँडफाँट गर्नुपर्छ । साथै, उनीहरूको समस्या सुन्ने, उनीहरूलाई प्रेरित गर्ने र सकारात्मक कार्य वातावरण सिर्जना गर्ने जिम्मेवारी पनि नेतृत्वकै हुन्छ।
परम्परागत “माथिल्लो अधिकारी” को शैलीभन्दा सहकार्यमा आधारित नेतृत्व आवश्यक छ । अहिलेको पुस्ताले आदेशभन्दा सहभागिता र सहकार्यलाई प्राथमिकता दिन्छ।
समुदायसँग सहकार्य
स्वास्थ्य सेवा केवल स्वास्थ्य चौकीभित्र सीमित हुन सक्दैन । समुदायमा गएर काम गर्नु अनिवार्य छ । गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरूको पहिचान गरी उनीहरूलाई घरमै पुगेर सेवा दिनुपर्छ । महिला स्वास्थ्य स्वयंसेविकालाई सक्रिय बनाउनु आवश्यक छ ।
विद्यालय, टोल विकास संस्था र अन्य सामुदायिक समूहहरूसँग सहकार्य गर्नुपर्छ । स्थानीय जनप्रतिनिधिसँग निरन्तर समन्वय राखी स्वास्थ्यका मुद्दाहरूलाई स्थानीय प्राथमिकतामा राख्न पहल गर्नुपर्छ ।
सूचना प्रविधि र अभिलेख व्यवस्थापन
आजको युग डिजिटल प्रविधिको युग हो । स्वास्थ्य तथ्यांकको व्यवस्थित अभिलेख राख्नु अत्यन्त आवश्यक छ । एचएमआईएस फारामहरू सही र नियमित रूपमा भर्नुपर्छ । संकलित तथ्यांकको विश्लेषण गरी स्थानीय स्वास्थ्य समस्या पहिचान गर्न सकिन्छ र सोही आधारमा कार्यक्रमको योजना बनाउन सकिन्छ।
अब परम्परागत कापी कलमको सीमित अभ्यासभन्दा डिजिटल प्रणालीको प्रयोग बढाउनुपर्छ।
व्यक्तिगत स्वास्थ्य र तनाव व्यवस्थापन
स्वास्थ्यकर्मी स्वयं स्वस्थ नभए अरूलाई गुणस्तरीय सेवा दिन कठिन हुन्छ । त्यसैले आफ्नो शारीरिक र मानसिक स्वास्थ्यप्रति पनि ध्यान दिन आवश्यक छ । नियमित व्यायाम, पौष्टिक आहार र पर्याप्त विश्राम अत्यन्त महत्वपूर्ण छन् । कामको चाप र तनावलाई व्यवस्थापन गर्ने सीप पनि विकास गर्नुपर्छ।
संघीयता र हाम्रो जिम्मेवारी
संघीय प्रणालीलाई सफल बनाउने जिम्मेवारी केवल केन्द्र वा प्रदेश सरकारको मात्र होइन । स्थानीय तह र स्थानीय सेवाप्रदायकको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण छ । संघीयताको मूल उद्देश्य सेवा जनताको घरदैलोमा पुर्याउनु हो । त्यस उद्देश्यलाई व्यवहारमा उतार्ने जिम्मेवारी हामी स्वास्थ्यकर्मीको काँधमा छ ।
यदि स्थानीय स्तरमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सकिएन भने संघीयताको मर्म नै कमजोर हुन्छ।
परिवर्तनको सुरुवात आफैंबाट
हामी प्रायः अरूको आलोचना गर्छौं, सरकारलाई दोष दिन्छौं र परिस्थितिलाई कोस्छौं । तर कहिलेकाहीँ आफैंतिर फर्केर हेर्नु पनि आवश्यक हुन्छ । के म समयमै स्वास्थ्य चौकी पुग्छु ? के म बिरामीसँग सम्मानजनक व्यवहार गर्छु ? के म औषधि र स्रोतको सही हिसाब राख्छु ? के म आफ्नो ज्ञान अद्यावधिक राख्छु?
यदि यी प्रश्नहरूको उत्तर सकारात्मक छैन भने परिवर्तनको सुरुवात आफैंबाट गर्नुपर्छ।
सानो परिवर्तनले पनि ठूलो प्रभाव पार्न सक्छ । एउटा स्वास्थ्य चौकीमा सुरु भएको सुधारले अर्को संस्थालाई प्रेरणा दिन सक्छ । त्यसरी विस्तार हुँदै समग्र स्वास्थ्य प्रणाली बलियो बन्न सक्छ।
अन्त्यमा
देश संघीय संरचनामा अघि बढिरहेको छ । यससँगै सेवाप्रदायकको सोच र कार्यशैलीमा पनि परिवर्तन आउन आवश्यक छ । स्थानीय स्वास्थ्य सेवा सुदृढ नगरी राष्ट्रिय स्वास्थ्य प्रणालीलाई बलियो बनाउन सकिँदैन । संघीयताको सफलताको आधार पनि यही हो।
त्यसैले म आज एउटा प्रतिबद्धता व्यक्त गर्न चाहन्छु.....
म आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनमा सुधार ल्याउनेछु ।
म सेवामा पारदर्शिता र उत्तरदायित्व कायम गर्नेछु ।
म हरेक बिरामीलाई आफ्नै परिवारका सदस्यझैं व्यवहार गर्नेछु ।
म समुदायसँग मिलेर काम गर्नेछु र निरन्तर सिकिरहनेछु ।
किनकि परिवर्तन आफैं हुँदैन
परिवर्तन हामी आफैंले सुरु गर्नुपर्छ ।
र त्यो परिवर्तनको सुरुवात मबाटै हुनेछ ।