काठमाडौं- नेपाल चिकित्सक संघले कैलालीको गेटामा अवस्थित शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि गठित सिफारिस समितिमा स्वास्थ्य क्षेत्र बाहिरका व्यक्तिलाई संयोजक बनाइएको भन्दै गम्भीर आपत्ति जनाएको छ।
संघले एक प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्रकै विज्ञलाई संयोजक मनोनयन गर्न सरकारसँग जोडदार माग गरेको हो।
नेपाल चिकित्सक संघका महासचिव डा. सन्जिब तिवारीद्वारा जारी विज्ञप्तिमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ को प्रस्तावना बमोजिम गुणस्तरीय स्वास्थ्य शिक्षा, अनुसन्धान र मानव स्रोत विकास गर्ने उद्देश्य राखिएको स्मरण गराउँदै ऐनको दफा २५ बमोजिम गठित सिफारिस समितिमा स्वास्थ्य क्षेत्र बाहिरबाट संयोजक तोकिनु ऐनको मर्म विपरीत भएको उल्लेख गरिएको छ। संघले स्वास्थ्य क्षेत्रका योग्य विज्ञहरू मध्येबाटै तत्काल संयोजक चयन गर्न माग गरेको छ।
यसैगरी, उपकुलपति पदको योग्यता निर्धारण गर्ने ऐनको दफा २४ (क) को प्रावधानप्रति पनि संघले असन्तुष्टि व्यक्त गरेको छ। ऐनमा विद्यावारिधी, डी.एम., एम.सी.एच. वा सो सरहको योग्यता अनिवार्य गरिएकोमा नेपालको चिकित्सा क्षेत्रमा एमडी, एमएस र एमडीएसलाई नै उच्च तहको उपाधि मानिने प्रचलन रहेको संघले स्पष्ट पारेको छ।
नेपालमा चिकित्सा शास्त्रतर्फ पिएचडी अध्ययन-अध्यापन निकै न्यून संख्यामा हुने भएकाले यो प्रावधानले योग्य चिकित्सकहरूलाई नेतृत्वमा पुग्नबाट बञ्चित गर्ने संघको ठहर छ। तसर्थ, उक्त प्रावधानलाई तत्काल संशोधन गरी स्नातकोत्तर तह (एमडी/एमएस/एमडिएस) को मेडिकल शिक्षा प्राप्त गरेका विज्ञहरूलाई पनि उपकुलपति पदको योग्य उम्मेदवार बनाउन मिल्ने व्यवस्था गर्न नेपाल चिकित्सक संघले जोडदार माग गरेको छ।
प्रेस विज्ञप्तिको पूर्णपाठ
शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारको नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिमा स्वास्थ्य क्षेत्र बाहिरबाट संयोजक मनोनयन गरिएको प्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ।
शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ अनुसार कैलालीको गेटामा स्थापना स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रस्तावनामा "स्वास्थ्य विज्ञानको क्षेत्रमा गुणस्तरीय अध्ययन, अध्यापनद्वारा मानव स्रोत विकास गरी सहज, सुलभ र विशेषज्ञ सहितको गुणस्तरीय स्वास्थ्य विज्ञान सम्बन्धी शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराउन तथा अध्ययन, अनुसन्धान र नवप्रवर्द्धनका माध्यमले मुलुकको समृद्धिमा योगदान पुर्याउन शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना तथा संचालन गर्न" भनी उल्लेख गरिएको र यसै ऐनको दफा २५ - सिफारिस समिति (उपकुलपति र रजिस्ट्रारको नियुक्ति) को उपदफा (क) मा उल्लेख भए अनुसार दफा ७ को उपदफा (२) को खण्ड (ट) र (ठ) बमोजिमको सदस्य मध्येबाट सभाले मनोनयन गरेको सदस्य संयोजक हुने भन्ने व्यवस्था भएकोमा स्वास्थ्य क्षेत्र बाहिरबाट संयोजक सिफारिस गरिएको प्रति नेपाल चिकित्सक संघको गम्भीर आपत्ति रहेको छ र स्वास्थ्य क्षेत्रका विज्ञ मध्ये बाट नै संयोजक मनोनयन गर्न संघ जोडदार माग गर्दछ।
यसका साथै उपकुलपतिको योग्यता दफा २४ (क) अनुसार विद्यावारिधी, डी.एम., एम.सी.एच. वा सो सरहको प्रावधान रहेकोमा नेपालको चिकित्सा क्षेत्रमा MD/ MS/ MDS लाई उच्च तहको उपाधिको रुपमा मान्ने गरिएको र नेपालमा PhD अध्ययन-अध्यापन न्यून संख्यामा हुने हुँदा उक्त प्रावधान संसोधन गरी स्नातकोत्तर तहको मेडिकल शिक्षा प्राप्त विज्ञ राख्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ।
डा. सन्जिब तिवारी
महासचिव