काठमाडौं- नेपाल फिजियोथेरापी संघले फिजियोथेरापिस्टहरूले आफ्नो नामको अगाडि “Dr.” (डाक्टर) र नामको पछाडि “PT” (पिटि) लेख्न पाउनुपर्ने माग गर्दै नेपाल स्वास्थ्य व्यवसायी परिषद् समक्ष औपचारिक माग पत्र पेस गरेको छ। संघले आवश्यक कारण र विभिन्न देशका कानुनी तथा व्यवहारिक दस्ताबेजहरू सहित परिषदमा आफ्नो दाबी प्रस्तुत गरेको हो।
माग पत्र बुझाउने क्रममा परिषद्का सदस्यहरूसँग भएको छलफलमा परिषद्को आगामी बैठकपछि उक्त पत्रको लिखित जवाफ दिइने आश्वासन प्राप्त भएको संघले जनाएको छ।
संघले जारी गरेको प्रेस विज्ञप्ति अनुसार फिजियोथेरापी आधुनिक स्वास्थ्य सेवाको एक स्वतन्त्र, वैज्ञानिक तथा प्रमाणमा आधारित पेशा हो। यस पेशामा आबद्ध विज्ञहरूले बिरामीको मूल्यांकन, परीक्षण, निदान र उपचार योजना निर्माणदेखि पुनःस्थापनासम्मको कार्य विशेषज्ञका रूपमा स्वतन्त्र रूपमा गर्दै आएका छन्।
विश्वका विभिन्न मुलुकहरू जस्तै भारत, बंगलादेश, पाकिस्तान लगायतका धेरै राष्ट्रहरूमा फिजियोथेरापिस्टहरूले आफ्नो नामको अगाडि “Dr.” उपाधि र पछाडि “PT” उल्लेख गर्ने प्रचलन स्थापित भइसकेको र यसले बिरामी तथा आम नागरिकलाई सम्बन्धित स्वास्थ्यकर्मीको पेशागत पहिचान स्पष्ट रूपमा बुझ्न सघाउ पुर्याएको संघको भनाइ छ।
संघका अनुसार फिजियोथेरापिस्टहरू चिकित्सकको सिफारिस बिना नै सिधै बिरामीको अवस्था मूल्यांकन गरी आवश्यक फिजियोथेरापी सेवा प्रदान गर्न कानुनी रूपमा सक्षम र योग्य रहेका छन्।
नेपाल फिजियोथेरापी संघले “Dr.” उपाधि कुनै एक मात्र पेशाको विशिष्ट अधिकार नभएको स्पष्ट पारेको छ। शैक्षिक योग्यता, पेशागत अभ्यास र अन्तर्राष्ट्रिय मान्यताका आधारमा विभिन्न स्वास्थ्य व्यवसायमा यो उपाधि प्रयोग हुँदै आएको तथ्यलाई परिषद्ले ध्यान दिनुपर्ने संघको माग छ।
नेपालमा पनि फिजियोथेरापिस्टहरूको सम्मान, पहिचान र पेशागत अधिकार सुनिश्चित गर्दै नामको अगाडि “Dr.” र पछाडि “PT” प्रयोग गर्न पाउने व्यवस्था गरिनु समयसापेक्ष र न्यायोचित हुने संघले दाबी गरेको छ।