काठमाडौँ - मुटु रोग विशेषज्ञ डा भगवान कोइरालाको नेतृत्वमा काठमाडौँको बुढानीलकण्ठमा स्थापना भएको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको नवनिर्मित भवनको आज हस्तान्तरण गरिएको छ।
भवन हस्तान्तरण कार्यक्रममा पुगेकी पूर्व प्रधानमन्त्री सुशीला कार्कीले अस्पतालकै स्थापनाले गरिब तथा विपन्न बालबालिकाहरूले सहज रूपमा स्वास्थ्य सेवा पाउन लागेको भन्दै खुसी व्यक्त गरिन्।
उनले यो संस्था भारतको ‘ताजमहल’ जत्तिकै महत्त्वपूर्ण रहेको बताउँदै, यसको निर्माणमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरू र जगद्गुरु शंकराचार्यको उपस्थिति र आशीर्वादले संस्थालाई थप बलियो र अटल बनाएको उनको धारणा थियो।
कार्यक्रममा बोल्दै व्यवसायी मीनबहादुर गुरुङले सन्त महात्माहरूको दर्शन र उपदेशले आफूलाई समाज सेवाको सत्कर्ममा लाग्न प्रेरणा बताए।
भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक समेत रहेका उनले व्यक्तिगत ७१ करोड लगानी गरी अस्पताल भवन निर्माण गरिदिएका हुन् । सो अवसरमा अस्पतालको साँचो अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरिएको थियो ।
भारतका जगद्गुरु शङ्कराचार्य श्री विधुशेखर भारती सन्निधानम्ले अस्पतालको नवनिर्मित भवन साँचो हस्तान्तरण गरेका हुन्।