काठमाडौं- नेपाल मेडिकल काउन्सिलले देशभरका विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा शिक्षण अस्पतालहरूमा स्नातकोत्तर (एमडी/एमएस/एमडीएस) तहका रेजिडेन्ट चिकित्सकहरूलाई अत्यधिक कार्यबोझमा खटाइएको विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ।
काउन्सिलका अनुसार विभिन्न माध्यमबाट प्राप्त गुनासो र उजुरीमा कतिपय संस्थाहरूमा रेजिडेन्ट चिकित्सकहरूलाई लगातार २४ देखि ३६ घण्टासम्म ड्युटीमा राखिएको पाइएको छ। यसले चिकित्सकहरूमा गम्भीर शारीरिक थकान, मानसिक तनाव, डिप्रेसन तथा आत्महानीसम्बन्धी विचार (suicidal thoughts) समेत देखिन सक्ने जोखिम बढाएको उल्लेख गरिएको छ।
काउन्सिलले जारी गरेको विज्ञप्तिमा नेपाल सरकार (स्वास्थ्य मन्त्रीस्तर) बाट स्वीकृत ‘पीजी मेडिकल एजुकेसन रेगुनलेसन-२०१७’ अनुसार सामान्यतया रेजिडेन्टलाई हप्तामा बढीमा दुई पटक मात्र २४ घण्टाको ड्युटीमा खटाउन सकिने व्यवस्था रहेको स्मरण गराइएको छ। सो व्यवस्थाविपरीत लगातार लामो ड्युटी लगाउनु उपयुक्त नहुने काउन्सिलको भनाइ छ।
विज्ञप्तिमा अत्यधिक कार्यबोझका कारण चिकित्सकहरूको निर्णय क्षमता कमजोर हुने र उपचार प्रक्रियामा त्रुटि हुने जोखिम बढ्ने उल्लेख गर्दै यसले प्रत्यक्ष रूपमा बिरामी सुरक्षामा असर पार्ने चेतावनी पनि दिइएको छ।
त्यसैगरी ‘एनएमसी कोड अफ इथिक्स एन्ड प्रोफेसनल कन्डक्ट-२०१७’ अनुसार चिकित्सक शारीरिक र मानसिक रूपमा सक्षम हुनुपर्ने प्रावधानलाई समेत स्मरण गराइएको छ।
काउन्सिलले सबै सम्बन्धित शिक्षण संस्थाहरूलाई ड्युटी रोस्टर नियमअनुसार परिमार्जन गर्न, लगातार २४ घण्टाको आकस्मिक ड्युटीपछि अनिवार्य विश्रामको व्यवस्था गर्न तथा मानसिक स्वास्थ्य समर्थन प्रणाली सुदृढ बनाउन निर्देशनात्मक ध्यानाकर्षण गराएको छ।
निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले हस्ताक्षरित विज्ञप्तिमा चिकित्सकहरूको स्वास्थ्य र बिरामी सुरक्षालाई समान रूपमा प्राथमिकतामा राख्दै जिम्मेवार कार्यान्वयनको अपेक्षा गरिएको छ।