जनताको शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक स्वास्थ्यमा सुधार ल्याउनु हरेक देशको प्राथमिकताको विषय हो। नेपालमा अहिले नसर्ने रोगहरूको बढ्दो भार, मानसिक स्वास्थ्यका समस्या, मातृ तथा शिशु स्वास्थ्यमा देखिएका असमानता, र बेलाबेलामा देखा पर्ने महामारीले स्वास्थ्य प्रणालीलाई थप जटिल बनाइरहेका छन्। भौगोलिक दृष्टिकोणले पनि, सहर र गाउँबीच सेवा पहुँचमा फरक छ, कतै आधारभूत सेवा समेत उपलब्ध छैन भने कतै आधुनिक सुविधा भए पनि सबैले उपयोग गर्न पाउने स्थिति छैन। अहिले त झन्, स्वास्थ्य बीमाको दिगोपनाका लागि पनि ध्यान दिनुपर्ने अवस्था रहेको छ।
यसको लागि क्लिनिकलसँगै जनस्वास्थ्यको ज्ञान हुनु आवश्यक छ। रोग लाग्नु भन्दा रोग लाग्नै नदिनु प्राथमिकता हो। व्यक्तिगत स्वास्थ्यसँगै समुदायको स्वास्थ्य पनि महत्त्वपूर्ण रहन्छ। यस्तो अवस्थामा देशलाई आवश्यक पर्ने जनशक्ति केवल किताबको ज्ञानले होइन, व्यवहारमा काम गर्न सक्ने, समस्या बुझ्ने, तथ्यांकलाई विश्लेषण गर्न सक्ने र निर्णय लिन सक्ने हुनुपर्छ। यसमा जनस्वास्थ्यकर्मीहरूको महत्वपूर्ण भूमिका रहन्छ, तर वर्तमान जनस्वास्थ्य शिक्षा प्रणालीमा रहेका संरचनात्मक कमजोरीहरूले यस्तो सक्षम जनशक्ति तयार पार्न कठिन बनाएको छ। यसैले जनस्वास्थ्य शिक्षामा सुधार अहिलेको अत्यावश्यक राष्ट्रिय प्राथमिकताको विषय रहेको छ। जनस्वास्थ्यले दिगो स्वास्थ्यको लक्ष्यसहित देशको स्वास्थ्य रणनीति र योजनाहरूको कडाइका साथ कार्यान्वयन गर्न सहयोग गर्छ। यो लेख मेरो अनुभवमा आधारित छ, यसमा अहिलेको बालेन सरकारको पनि ध्यान आकर्षित गर्न चाहन्छु।
समस्याको मुख्य जरा सैद्धान्तिक र व्यवहारिक ज्ञानबीचको दूरी हो। नेपालमा जनस्वास्थ्यको पढाइ अझै पनि धेरै हदसम्म कक्षाकोठामै सीमित छ। जनस्वास्थ्यका विद्यार्थीहरूले परिवार योजना, खोप कार्यक्रम, महामारी नियन्त्रण, पोषण सुधार, सरसफाइ जस्ता विषयहरू विस्तारमा पढ्छन्, तर वास्तविक जीवनमा ती कुराहरू कसरी लागू गर्ने भन्ने अभ्यास गर्न पाउने अवसर कम हुन्छ। फिल्डमा जाने व्यवस्था प्रायः छोटो र अन्त्यका वर्षहरूमा “कम्युनिटी डायग्नोसिस” र “डिस्ट्रिक्ट फिल्ड वर्क”मा मात्र सीमित हुन्छ। यसले गर्दा विद्यार्थीहरूले क्रमशः सिक्दै जाने अवसर पाउँदैनन्। यदि पहिलो वर्षदेखि नै विद्यार्थीलाई वास्तविक समुदायसँग जोडियो भने सिकाइ धेरै प्रभावकारी हुन सक्छ। उदाहरणका लागि, पहिलो र दोस्रो वर्षमा गाउँ वा बस्तीको स्वास्थ्य समस्या नक्सा तयार गर्ने, घरघर गएर सामान्य स्वास्थ्य सूचना संकलन गर्ने, तेस्रो वर्षमा सानो स्तरको स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने र अन्तिम वर्षमा त्यसको प्रभाव मूल्याङ्कन गर्ने अभ्यास गराउन सकिन्छ। यसरी पढाइ र सिकाइलाई सँगसँगै अघि लैजान सकिन्छ। यसमा विभिन्न स्वास्थ्य संस्था वा सम्बन्धित सरोकारवाला निकायसँग सँगै काम गरेर सिक्ने वातावरण बनाउन सकिन्छ। फिल्ड स्तरका कर्मचारीबाट पनि सिक्ने अवसर प्राप्त हुन्छ।
यसमा मेरो आफ्नै अनुभव पनि सेयर गर्न चाहन्छु। म चार वर्षे जनस्वास्थ्यमा स्नातक (बीपीएच), पोखरा विश्वविद्यालय अन्तर्गत नोबेल कलेजमा उक्त कार्यक्रमको पहिलो ब्याचमा अध्ययन गर्ने अवसर पाएको विद्यार्थी हुँ। त्यो समयको पाठ्यक्रम निकै राम्रो र दूरदर्शी थियो। हरेक विषयमा “टर्म पेपर” अर्थात मिनी “रिसर्च प्रोजेक्ट” हुन्थ्यो, जसले हामीलाई धेरै कुरा सिकायो। हामीले समूहमा बसेर काम गर्ने, जिम्मेवारी बाँड्ने, नेतृत्व लिन सिक्ने, पुस्तक तथा अनुसन्धान अध्ययन गर्ने, तथ्यांक विश्लेषण गर्ने र आफ्नो कुरा प्रस्तुत गर्ने सीप विकास गर्यौं। उदाहरणका लागि, महामारी विज्ञान, मातृ तथा शिशु स्वास्थ्य जस्ता विषयमा अध्ययन गर्दा हामीले वास्तविक तथ्यांक प्रयोग गरेर समस्या के छ, किन छ र समाधान के हुन सक्छ भनेर काम गरेका थियौं। यसले व्यवहारिक ज्ञान र सोच विकास गर्न मद्दत गर्यो।
तथापि त्यो बलियो पक्षसँगै केही कमजोरी पनि थिए, त्यो हो जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय अनुभव भएका शिक्षकहरू, साथै स्रोत र साधनको कमी अनि महत्वपूर्ण अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित लेखहरूमा पहुँच नहुनु। तथापि, सीमित जर्नलमा प्रकाशित लेखहरू र अनुसन्धानका रिपोर्टहरू पढेर धेरै जान्ने अवसर मिल्थ्यो। शिक्षकहरूको अनुभव सीमित भए पनि सिकाउने ऊर्जा असीमित थियो, र उनीहरूले बाहिरी देशका अभ्यासबारे जानकारी प्रायः इन्टरनेटमार्फत प्रदान गर्ने गर्थे। यदि त्यतिबेला बाहिरका देशका उदाहरण, अभ्यास र अध्ययनहरू समावेश भएका भए सिकाइ अझ गहिरो हुन सक्थ्यो। यो कुरा मैले बंगलादेशमा जनस्वास्थ्यको स्नातकोत्तर पढ्दा अझ स्पष्ट रूपमा महसुस गरें।
बंगलादेशमा अध्ययन गर्दा शिक्षण पद्धति धेरै व्यवहारिक तरिकाको थियो। कक्षाभन्दा बढी समय फिल्डमा बित्थ्यो। हामीले सहरका गरिब बस्तीमा गएर त्यहाँको स्वास्थ्य समस्याको अवस्था बुझ्ने, मानिसहरूसँग कुरा गर्ने, समस्या पहिचान गर्ने र समाधान समूहगत छलफलबाट खोज्ने गर्थ्यौं। उदाहरणका लागि एउटा समूह कार्यमा हामीले सुकुम्बासी बस्तीको पोषण सुधार गर्ने योजना बनायौं, जहाँ विभिन्न देशका विद्यार्थीहरूले आफ्ना अनुभव साटेका थिए। कसैले आफ्नो देशमा सफल भएको कार्यक्रमको बारेमा भने भने कसैले समस्या कसरी समाधान गरिएको थियो भन्ने बताए। यसले ‘क्रस लर्निङ’ अर्थात आपसमा सिक्ने राम्रो अवसर प्रदान गर्यो। यसले मलाई बुझायो कि अन्तर्राष्ट्रिय “एक्सपोजर”ले सोचको दायरा धेरै फराकिलो बनाउँछ।
पछिल्लो चरणमा अस्ट्रेलियामा विद्यावारिधिको दौरान अध्ययन गर्दा झन् फरक र परिस्कृत प्रणाली देख्न पाइयो। यहाँ आवश्यक स्रोतहरू सजिलै उपलब्ध छन् र पढाइ तथा अनुसन्धान एकअर्कासँग गहिरो रूपमा जोडिएका छन्। विद्यार्थीहरूले गहिराइमा वास्तविक समस्यामा आधारित अनुसन्धान गर्छन् र स्वास्थ्य नीति निर्माणमा पनि प्रत्यक्ष सहभागिता जनाउँछन्। समुदाय, सरकारी निकाय, अस्पताल र अन्य संस्थासँग मिलेर काम गर्ने अवसर पाइन्छ। प्रविधिको प्रयोग पनि भरपूर छ, र तथ्यांक संकलन, विश्लेषण र निर्णय लिन आधुनिक स्रोत र माध्यमहरूको प्रयोग गरिन्छ। यसले जनस्वास्थ्य कार्यलाई अझ प्रभावकारी बनाएको छ। यस्तो व्यवस्था देखेपछि नेपालमा पनि सुधार सम्भव छ भन्ने विश्वास अझ बलियो भएको छ, र यो लेख यिनै अनुभवमा आधारित छ।
नेपालमा अर्को गम्भीर समस्या भनेको शिक्षकहरूको विषयगत दक्षता र उनीहरूले पढाउने विषयबीचको असन्तुलन हो। जनस्वास्थ्य बहुविषयगत क्षेत्र भएकाले प्रत्येक विषयमा गहिरो ज्ञान आवश्यक हुन्छ। तर जब सम्बन्धित अनुभव नभएका शिक्षकहरूले पढाउँछन्, सिकाइको गुणस्तर प्रभावित हुन्छ। यसको समाधानका लागि शिक्षकहरूलाई बेला-बेलामा तालिम दिने, अनलाइन मोड्युलबाट क्षमता विकास गर्ने, अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य बढाउने र आवश्यकता अनुसार योग्य व्यक्तिहरू नियुक्त गर्ने व्यवस्था गर्नुपर्छ। अहिले अनलाइन माध्यमबाट बाहिरी विज्ञसँग सजिलै जोडिन सम्भव भएको छ। विदेशमा अध्ययन गरेका र सीप सिकेका थुप्रै नेपाली जनस्वास्थ्य जनशक्ति छन्; उनीहरूको ज्ञान, सीप र अनुभव अनुसारको “रोस्टर” तयार गरी सोही अनुसार परिचालन गर्न सकिन्छ।
पढाउने तरिकामा पनि परिवर्तन आवश्यक देखिन्छ। अहिले धेरै ठाउँमा शिक्षकले बोल्ने र विद्यार्थीले सुन्ने मात्र प्रणाली छ, जसले विद्यार्थीलाई सक्रिय बनाउँदैन। यदि उनीहरूलाई समस्या दिई समाधान खोज्न लगाइयो भने सिकाइ प्रभावकारी हुन्छ। उदाहरणका लागि, कुनै जिल्लामा डेङ्गु फैलिएको अवस्थामा त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने अभ्यास गराउँदा विद्यार्थीहरूले वास्तविक परिस्थितिमा काम गर्न सिक्छन्। यसका लागि फिल्डमा पठाउने र व्यवहारिक काममा लगाउने व्यवस्था गर्नुपर्छ।
धेरैजसो विद्यार्थीलाई जनस्वास्थ्य पढेपछि भविष्यमा के गर्ने भन्ने अझै स्पष्ट छैन।
यसमा सर्वप्रथम त विद्यार्थी र शिक्षकको भूमिका पनि हुन्छ। पढाउने क्रममा जनस्वास्थ्य विषयका राष्ट्रिय र अन्तर्राष्ट्रिय अवसरहरूबारे जानकारी गराउनुपर्छ, र विद्यार्थीहरूले स्वतःस्फूर्त रूपमा खोज्ने बानी बसाल्नुपर्छ। यो अन्योलको निराकरणका लागि सरकार तथा सम्बन्धित निकायले स्पष्ट जिम्मेवारी, पद र कार्यक्षेत्र निर्धारण गर्न आवश्यक छ। यदि प्रत्येक स्थानीय तह वा वडामा जनस्वास्थ्य अधिकृतको स्पष्ट व्यवस्था गरियो भने सेवा सुधार हुन सक्छ। यो विषय बेलाबेलामा उठे पनि प्रभावकारी कार्यान्वयन भएको देखिँदैन। अर्को महत्वपूर्ण पक्ष, कतिपय विश्वविद्यालयको पाठ्यक्रम पनि समयअनुसार परिमार्जन हुन सकेको छैन। अहिले एआई प्रविधिबाट डेटा विश्लेषण, डिजिटल साक्षरता, नैतिकता, जिम्मेवार एआईको प्रयोग, वातावरणीय परिवर्तन, स्वास्थ्य असमानता र तथ्यांक प्रयोग जस्ता विषयहरू अत्यन्त महत्वपूर्ण छन्, तर ती सबै अध्ययनको क्रममा पर्याप्त रूपमा समावेश गरिएका छैनन्। त्यसैले पाठ्यक्रमलाई लचिलो, समयसापेक्ष र आवश्यकताअनुसार विद्यार्थीहरूको संलग्नतामा परिमार्जन गर्न जरुरी छ। यसलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतिस्पर्धी बनाउनु आवश्यक छ। साथै, यस एआईको युगमा शिक्षालाई कसरी सुदृढ र प्रभावकारी बनाउने तथा सूचनाको गोपनीयता, नैतिकता, तथा गलत सूचनाको जोखिमजस्ता चुनौतीबारे पनि गम्भीर रूपमा सोचिनुपर्छ। अन्तर्राष्ट्रिय स्तरमा विश्व स्वास्थ्य संगठनले एआईको नैतिकता र सुशासनसम्बन्धी मार्गदर्शनहरू दिएको छ, जसलाई नेपालजस्ता देशहरूले स्थानीय सन्दर्भअनुसार अपनाउन सक्छन्।
आवश्यक स्रोत र साधनको अभाव पनि विद्यमान चुनौती हो। फिल्ड स्तरका अभ्यासका लागि स्थानहरू सीमित छन्, अनुसन्धानका लागि आवश्यक पूर्वाधार कम छन्, र गैरसरकारी, निजी तथा सरकारी संस्थाबीच सहकार्य कमजोर छ। यदि विद्यार्थीलाई अध्ययनकै क्रममा तथ्यांक संकलन, विश्लेषण र प्रतिवेदन तयार गर्ने अवसर दिइयो भने उनीहरूले नीति निर्माणमा समेत योगदान गर्न सक्छन्। अनुसन्धान र प्रमाणमा आधारित अभ्यासको कमीले विकासलाई रोकिरहेको छ। जनस्वास्थ्य क्षेत्रमा काम गर्दा तथ्यांक र प्रमाण अत्यन्त आवश्यक हुन्छ, त्यसैले विद्यार्थीहरूलाई सुरुदेखि नै अनुसन्धानमा संलग्न गराउनुपर्छ। यसका लागि जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (डीएचएस) र स्वास्थ्य विभागका वार्षिक प्रतिवेदनजस्ता स्थानीय रूपमा उपलब्ध डाटाहरू प्रयोग गरेर द्वितीयक तथ्याङ्क विश्लेषणलाई प्रवर्द्धन गर्न सकिन्छ।
माथि उल्लेखित यी सबै समस्या एकअर्कासँग जोडिएका छन्। समाधानका लागि समग्र सुधार आवश्यक छ, अबका प्राथमिकताहरू स्पष्ट छन्:
पहिलो, सुरुवातदेखि नै शिक्षामा व्यवहारिक सिकाइको समावेश गर्नुपर्छ।
दोस्रो, शिक्षकको क्षमतामा सुधार गरी सक्रिय सिकाइका तरिका अपनाउनुपर्छ।
तेस्रो, सीपमा आधारित शिक्षण र मूल्याङ्कन प्रणाली लागू गर्नुपर्छ।
चौथो, जनस्वास्थ्यकर्मीहरूको स्पष्ट पहिचान र जिम्मेवारी निर्धारण गर्नुपर्छ।
पाँचौं, पाठ्यक्रमलाई समयसापेक्ष बनाई विश्वव्यापी प्राथमिकतासँग मिलाउनुपर्छ।
छैटौं,एआईको प्रयोग, पूर्वाधार, सहकार्य र अनुसन्धानमा लगानी बढाउनु आवश्यक छ।
जनस्वास्थ्य शिक्षा केवल डिग्री प्राप्त गर्ने विषय होइन; यो देशको स्वास्थ्य, विकास र समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण आधार हो। यदि सही सुधार गर्न सकियो भने नेपालले दक्ष, सक्षम र व्यवहारिक जनस्वास्थ्य जनशक्ति तयार पार्न सक्छ, जसले देशको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउनेछ। अब प्रश्न हो, के हामी तयार छौं त? र हामी कहिले र कति छिटो सुरु गर्छौं?
डा. बम जनस्वास्थ्यकर्मी हुन्। उनले मोनास विश्वविद्यालय, अस्ट्रेलियाबाट महामारी विज्ञानमा पीएचडी गरेका छन्। इमेल: [email protected] मा सम्पर्क गर्न सकिन्छ।