काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले औषधि आपूर्तिकर्ता कम्पनी श्री बायोप्लस मेडिको प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक गरिएको विवरणअनुसार कम्पनीलाई २०८३ जेठ १३ गतेदेखि २०८४ जेठ १२ गतेसम्म कालोसूचीमा राखिएको हो। कालोसूची अवधि सकिने मिति २०८४ जेठ २६ (मे २६, २०२७) उल्लेख गरिएको छ।
कम्पनीलाई सप्तरीको डाक्नेश्वरी नगरपालिकाले कालो सूचीमा राख्न पत्र पठाएको थियो। नगरपालिकाले ‘सप्लाइ एन्ड डेलिभरी अफ भेरियस टाइप अफ मेडिसिन्स एन्ड सर्जिकल गुड्स’ सम्बन्धी खरिद प्रक्रियासँग जोडिएको विषयमा कारबाहीका लागि सार्वजनिक खरिद अनुगमनको कार्यालयमा पत्र पठाएको हो।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कम्पनीलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमनको कार्यालयले जनाएको छ। कालोसूची अवधिभर उक्त कम्पनीले सार्वजनिक निकायका खरिद प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था रहेको छ।
कुलेश्वर–१४, काठमाडौं ठेगाना रहेको कम्पनीका सञ्चालकमा शर्मिला कुमारी श्रेष्ठ र सन्तोष श्रेष्ठ रहेका छन्।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद प्रणालीमा अनुशासन कायम गर्न नियमविपरीत कार्य गर्ने आपूर्तिकर्ता तथा निर्माण व्यवसायीमाथि समय–समयमा कालोसूचीको कारबाही गर्दै आएको छ।
