काठमाडौं – नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालले सेवाग्राही, बिरामी, आफन्त तथा शुभेच्छुकहरूको सुझाव, गुनासा र अनुभवलाई व्यवस्थित रूपमा संकलन तथा सम्बोधन गर्ने उद्देश्यले ‘डिजिटल सुझाव पेटिका’ सञ्चालनमा ल्याएको छ।
अस्पतालले समयसँगै प्रविधि र सेवा प्रणालीमा आएको परिवर्तनलाई आत्मसात् गर्दै सुझाव दिने प्रक्रियालाई समेत डिजिटल माध्यममा रूपान्तरण गरेको जनाएको छ।
अस्पतालका अनुसार नयाँ प्रणालीमार्फत सेवाग्राहीहरूले आफ्ना अनुभव, सुझाव, गुनासा वा प्रशंसाका भावनाहरू लेखेर, बोलेर वा फोटोमार्फत सहज रूपमा पठाउन सक्नेछन्।
अस्पतालले यो प्रणालीको विशेषता सुझाव संकलनमा मात्र सीमित नभएको जनाएको छ। सेवाग्राहीहरूले आफूले दिएको सुझाव अस्पताल प्रशासनले प्राप्त गर्यो वा गरेन, त्यसको अध्ययन भयो वा भएन तथा सम्बोधनका लागि के–कस्ता कदम चालिए भन्ने जानकारीसमेत आफैंले हेर्न सक्ने व्यवस्था गरिएको छ। यसले सुझावदातालाई पारदर्शिता र सहभागिताको अनुभूति गराउने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
अस्पताल प्रशासनका अनुसार स्वास्थ्य सेवा केवल उपचारको प्रक्रिया मात्र नभई विश्वास, संवाद र निरन्तर सुधारको यात्रा पनि हो। बिरामी तथा सेवाग्राहीका अनुभवहरू नै संस्थाको गुणस्तर अभिवृद्धिका महत्वपूर्ण मार्गदर्शक हुने भएकाले यही मान्यतालाई आत्मसात् गर्दै डिजिटल सुझाव पेटिका सञ्चालनमा ल्याइएको हो।
अस्पतालका प्रशासन प्रमुख दीपक चन्द्र बरालले बिरामीको उपचारसँगै उनीहरूको आवाज सुन्ने संस्कृतिलाई पनि संस्थागत गर्न खोजिएको बताए।
'हामी बिरामीको उपचार मात्र होइन, उहाँहरूको आवाज पनि सुन्न चाहन्छौं। प्रत्येक सुझावलाई सुधारको अवसरका रूपमा लिने हाम्रो प्रतिबद्धता छ। डिजिटल सुझाव पेटिकाले अस्पताल र सेवाग्राहीबीचको दूरी घटाउँदै पारदर्शी, उत्तरदायी र सहभागी सेवा संस्कृतिको विकास गर्नेछ,' बरालले भने।
अस्पतालले डिजिटल सुझाव पेटिकामार्फत प्राप्त सुझावहरूको नियमित विश्लेषण गरी सेवाको गुणस्तर सुधार, बिरामीमैत्री वातावरण निर्माण तथा संस्थागत सुधारका कार्यक्रमहरूमा उपयोग गर्ने जनाएको छ।
‘सुझाव दिनुहोस्, परिवर्तन देख्नुहोस्’ भन्ने मूल नारासहित सञ्चालनमा ल्याइएको यो अभियानले अस्पताल सेवामा नागरिक सहभागिताको नयाँ अध्याय सुरु गर्ने विश्वास अस्पताल प्रशासनले व्यक्त गरेको छ।