काठमाडौं - कान्ति बाल अस्पतालको निर्देशकको कार्यकक्षमा बुधबार पहिलो पटक प्रवेश गर्दा डा. रामहरि चापागाइँका लागि जिम्मेवारी नयाँ थियो, तर बाँकी केही नयाँ थिएन। बरु अस्पतालको हरेक शाखा, प्रयोगशाला, वार्ड र सेवा प्रवाहसँग उनको सम्बन्ध तीन दशकअघि नै गाँसिसकेको छ।
३४ वर्षअघि यही अस्पतालमा उनी एउटा युवा ल्याब असिस्टेन्ट थिए। आज त्यही अस्पतालको सम्पूर्ण नेतृत्व सम्हाल्ने निर्देशक बनेका छन्। एउटै संस्थामा तल्लो तहबाट सर्वोच्च प्रशासनिक जिम्मेवारीसम्म पुग्ने संयोग बनेको छ।
बुधबार पदबहालीका क्रममा उनको अनुहारमा न त अत्यधिक उत्साह थियो, न कुनै प्रदर्शन। बरु जिम्मेवारीको गम्भीरता र अनुभवको आत्मविश्वास झल्किन्थ्यो।
'मलाई यो पद नयाँ लागेको छैन,' उनले संक्षिप्त प्रतिक्रिया दिए, 'यहाँ चिकित्सकीय सेवा मात्र होइन, विभिन्न प्रशासनिक जिम्मेवारी पनि सम्हालिसकेको छु।'
उनले केहीबेर रोकिएर विगत सम्झिए, 'म यही अस्पतालमा ल्याब असिस्टेन्टको रूपमा पनि काम गरेको मान्छे हुँ। जीवनचक्र जस्तै लाग्छ। मानिस जन्मिएपछि हुर्किँदै विभिन्न चरण पार गरेर वृद्धावस्थासम्म पुग्छ। मेरो यात्रा पनि त्यस्तै भएको महसुस गर्छु।'
उनका यी शब्दमा पद प्राप्तिको गर्वभन्दा पनि लामो यात्राको अनुभूति बढी थियो।
काभ्रेको पनौतीमा जन्मिएका डा. चापागाईंको स्वास्थ्य क्षेत्रको यात्रा एसएलसीपछि सुरु भएको थियो।
उनी कान्ति बाल अस्पतालको छेउमै रहेको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा ल्याब टेक्निसियन अध्ययन गर्दै थिए। २०४९ सालमा अन्तिम वर्षको परीक्षा दिएर नतिजाको प्रतीक्षामा बसेका बेला उनका एक सिनियरले एउटा प्रस्ताव ल्याए।
'नतिजा नआउन्जेल कान्तिमा ल्याब असिस्टेन्ट भएर काम गर्ने कि?'
काम सिक्न र अनुभव बटुल्न इच्छुक अधिकारीले कुनै ढिलाइ गरेनन्। त्यसैबाट कान्तिसँग उनको सम्बन्ध सुरु भयो। केही समयपछि उनी ल्याब टेक्निसियन बने।
तर उनको त्यतिमै सीमित भएनन्।
आईओएममै ल्याब टेक्निसियनको स्थायी जागिर पाएपछि उनी त्यहाँ सरे। केही वर्षपछि त्यही संस्थाबाट एमबीबीएस अध्ययन गर्ने अवसर प्राप्त भयो। उनले जागिरसँगै देखेको ठूलो सपना त्यसबेला पूरा भयो।
एमबीबीएस सकेपछि नेपाल सरकारको स्वास्थ्य सेवामा नाम निकाले र दोलखाको जिरीमा चार वर्ष सेवा गरे। दुर्गम क्षेत्रमा काम गर्दा उनले बालबालिकाको स्वास्थ्य चुनौती नजिकबाट देख्ने अवसर पाए।
त्यसपछि राष्ट्रिय चिकित्सा शास्त्र अध्ययन संस्थान (न्याम्स) बाट बालरोगमा विशेषज्ञता हासिल गरे। विशेषज्ञ चिकित्सक बनेपछि नेपालगञ्ज, धनगढी र महेन्द्रनगरमा सेवा दिए।
तर उनको व्यावसायिक यात्राको एउटा महत्वपूर्ण घुम्ती फेरि कान्तिमै आएर जोडियो।
झन्डै एक दशकअघि उनी फेरि कान्ति बाल अस्पताल फर्किए। यसबीच उनी नवौं तहबाट दशौं हुँदै एघारौं तहका वरिष्ठ चिकित्सक बने।
चिकित्सकीय सेवासँगै अस्पतालको व्यवस्थापन, प्रशासन र नीतिगत काममा समेत सक्रिय रहे। यही अनुभवका कारण उनलाई अस्पतालको निर्देशकको जिम्मेवारीका लागि सही पात्रका रुपमा सरकारले देखेको हो।
पदभार ग्रहण गर्दै गर्दा उनले सहकर्मीमाझ कुनै ठूलो घोषणा गरेनन्। बरु संस्थालाई अझ व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे।
डा. चापागाईंलाई नजिकबाट चिन्ने सहकर्मीहरू भन्छन्, 'उनी पदको खोजीमा दौडिने व्यक्ति होइनन्। जिम्मेवारी आउँदा स्वीकार्ने र कामबाट आफूलाई प्रमाणित गर्ने उनको स्वभाव छ।'
सायद त्यसैले निर्देशक नियुक्तिको खबरले उनीभन्दा वरिपरिकाहरू बढी उत्साहित देखिन्थे।
उनका लागि यो नियुक्ति व्यक्तिगत उपलब्धिभन्दा पनि एउटा संस्थाले आफ्नै कर्मचारीमाथि गरेको विश्वासको प्रतीक हो।
कान्ति बाल अस्पतालमा ल्याब असिस्टेन्टका रूपमा प्रवेश गरेका एक युवाले ३४ वर्षपछि त्यही संस्थाको नेतृत्व सम्हाल्नु व्यक्तिगत सफलताको कथा मात्र होइन।
यो संस्थाप्रतिको निरन्तर समर्पण, अध्ययन, मेहनत र धैर्यले कसरी एउटा सामान्य सुरुवातलाई असाधारण यात्रामा रूपान्तरण गर्न सक्छ भन्ने उदाहरण पनि हो।
अस्पतालको प्रयोगशालाबाट सुरु भएको उनको यात्रा अब निर्देशकको कार्यकक्षसम्म आइपुगेको छ। तर डा. चापागाईंका शब्दमा, 'यो अन्तिम गन्तव्य होइन, बरु अस्पताललाई अझ प्रभावकारी बनाउने नयाँ जिम्मेवारीको सुरुवात हो।'