काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्वास्थ्य शिक्षाअन्तर्गत स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रममा भर्नाका लागि सञ्चालन हुने मेडिकल एजुकेसन कमन इन्ट्रान्स एक्जामिनेसन–ब्याचलर लेभलको अनलाइन आवेदन खुलाएको छ।
आयोगले सूचना जारी गर्दै एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएमएस, बीपीएच, बीफार्म, बीएससी एमएलटी, बीपीटी, बी अप्टोमेट्रीलगायत स्वास्थ्य शिक्षाका स्नातक तहका कार्यक्रमको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन इच्छुक उम्मेदवारलाई अनलाइन आवेदन दिन आग्रह गरेको हो।
सूचनाअनुसार अनलाइन आवेदन साउन २५ गते बिहान ९ बजेदेखि खुल्नेछ। आवेदन दिने अन्तिम म्याद भदौ १५ गते साँझ ५ बजेसम्म तोकिएको छ। यद्यपि, भदौ २२ गते साँझ ५ बजेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ।
आवेदन शुल्क नेपाली उम्मेदवारका लागि ४ हजार रुपैयाँ र विदेशी उम्मेदवारका लागि ८ हजार रुपैयाँ निर्धारण गरिएको छ। शुल्क हिमालय बैंकमार्फत जम्मा गर्नुपर्नेछ।
आयोगका अनुसार आवेदन दिनुअघि उम्मेदवारले तोकिएको शैक्षिक योग्यता, आवश्यक कागजात तथा अन्य मापदण्ड पूरा गरेको हुनुपर्नेछ।
आवेदन प्रक्रिया तथा थप जानकारी आयोगको प्रवेश परीक्षा पोर्टल र आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने आयोगले जनाएको छ।













