काठमाडौं - शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा वरिष्ठ एनेस्थेसियोलोजिष्ट डा. आशिष गोविन्द अमात्य नियुक्त भएका छन्। लामो समयदेखि केन्द्रमै कार्यरत डा. अमात्य मुटुरोग शल्यक्रियासम्बन्धी एनेस्थेसिया सेवामा अनुभवी चिकित्सकका रूपमा परिचित छन्।
हालसम्म केन्द्रको एनेस्थेसिया विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका डा. अमात्यले अब देशकै विशिष्ट मुटु उपचार संस्थाको नेतृत्व गर्ने भएका छन्। उनको नियुक्तिसँगै केन्द्रको सेवा विस्तार, गुणस्तर अभिवृद्धि तथा मुटुरोग उपचारलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
ललितपुरको कुपण्डोलमा जन्मिएका डा. अमात्यले प्रारम्भिक शिक्षा सेन्ट जेभियर्स स्कुलमा चार कक्षासम्म अध्ययन गरे। त्यसपछि उनले बुढानीलकण्ठ विद्यालयबाट एसएलसी पूरा गरे। भारतको दि लरेन्स स्कुल, सिम्लाबाट प्लस–टु अध्ययन सम्पन्न गरेका उनले ढाका विश्वविद्यालयअन्तर्गत बंगलादेश मेडिकल कलेजबाट सन् २००२ मा एमबीबीएस पूरा गरे
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक वर्ष इन्टर्नसिप गरका उनले त्यही अस्पतालमा मेडिकल अधिकृतका रूपमा करिब एक वर्ष सेवा गरेपछि महाराजगञ्ज चिकित्सा क्याम्पसबाट एनेस्थेसियोलोजी विषयमा एमडी अध्ययन पूरा गरे।
एमडी सम्पन्न गरेपछि डा. अमात्य शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा रजिष्ट्रारका रूपमा आबद्ध भए। दुई वर्षपछि स्थायी भएका उनले निरन्तर सेवा दिइरहेका छन्।
गंगालालमा चार वर्ष कार्यरत रहँदा उनले थप विशेषज्ञता हासिल गर्न मलेसियामा कार्डियाक एनेस्थेसियासम्बन्धी एक वर्षे फेलोसिप पूरा गरेका थिए। नेपालमा कार्डियाक एनेस्थेसियाका अनुभवी चिकित्सकमध्ये एक मानिने डा. अमात्यले गंगालाल राष्ट्रिय हृदय केन्द्रमा एनेस्थेसिया सेवाको विकास, जनशक्ति उत्पादन तथा जटिल मुटु शल्यक्रियालाई सुरक्षित र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान दिएका छन्।
अब निर्देशकको जिम्मेवारी सम्हाल्दै उनले संस्थाको प्रशासनिक नेतृत्वसँगै गुणस्तरीय मुटु उपचार सेवा, चिकित्सा शिक्षा तथा अनुसन्धानलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
चिकित्सा परिवारकै सदस्य रहेका डा नारायणगोविन्द अमात्य र डा रोशना अमात्यकाल छोरा हुन्। उनकफ आमा डा रोशना एनेस्थेसियोलोजीकी अगुवा चिकित्समध्येमा पर्छिन्। नेपालमा एनेस्थेसिया सेवा मात्रै होइन, शिक्षाको जग बसाउने र फैलाउनेमा डा रोशनाको महत्वपूर्ण भूमिका छ। आमाकै पदचाप पछ्याउँदै डा अमात्यले एनेस्थेसिया रोजेका हुन्। त्यसैगरी उनकी दिदि डा डा अर्चना अमात्य चिकित्सा क्षेत्रमा कहिलिएको नाम हो। प्रसुति तथा स्त्रीरोग विशेषज्ञ उनी अहिले उनी विशेषज्ञता हासिल गरेकी उनी अहिले निक साइमन्स इन्सिच्युटको नेतृत्व गरिरहेकी छिन्।