'के सधैँभरि आफ्नो अस्तित्व र आत्मसम्मानका लागि लडिरहनु नै पर्ने हो त?' स्वास्थ्य क्षेत्रको मेरुदण्ड मानिने नर्सिङ पेसामा आबद्ध हरेक व्यावसायिक जनशक्तिको मनमा आज यही प्रश्न अनुत्तरित बनेर उभिएको छ।
नर्सिङ केवल एउटा जागिर वा सामान्य सेवा मात्र होइन। यो त प्रवीणता प्रमाणपत्र तहदेखि लिएर विद्यावारिधिसम्मको उच्च शिक्षा, कठिन साधना र कठोर प्रतिबद्धताबाट खारिएर बनेको एउटा अत्यन्तै गौरवमय र प्रतिष्ठित प्राविधिक पेसा हो। अन्य मेडिकल विधासरह नै दिन-रात, भोक-प्यास नभनी बिरामीको जीवनरक्षा र शिक्षण कार्यमा अहोरात्र खटिने नर्सहरू आज आफ्नै देशमा उपेक्षित र अपमानित महसुस गर्न बाध्य छन्।
के कसरी भयो दृष्टिकोणमा खोट?
विकसित मुलुकहरूमा नर्सहरूलाई 'वाउ नर्स' भन्दै जुन उच्च इज्जत र सामाजिक प्रतिष्ठा दिइन्छ, हाम्रो समाजमा त्यो दृश्य आकाश-पातालको फरक झैँ लाग्छ। सर्वसाधारणले यस पेसाको मर्म नबुझ्नु एउटा पाटो होला, तर विडम्बना त के छ भने आफ्नै कार्यक्षेत्र भित्रै पनि सहकर्मीहरूबाटै 'नर्सिङ सिस्टर' भन्दै नाक खुम्च्याउने र विभेदकारी दृष्टिकोण राख्ने प्रवृत्ति व्याप्त छ। एउटै अस्पताल र एउटै उद्देश्यका लागि काम गर्दा पनि समान सम्मान र अपनत्व नपाउनुले नर्सिङ जनशक्तिको मनोबलमा गम्भीर चोट पुर्याइरहेको छ।
आफ्नो पेसाको व्यक्तित्व, अस्तित्व र मूल्यको रक्षाका लागि देशका नर्सहरूले आफ्नै ज्यान दाउमा राखेर भोकभोकै आन्दोलनमा उत्रिनुपर्ने र स्वास्थ्य अवस्था गम्भीर भएपछि मात्र सरकारले सम्झौता गर्ने अवस्था आउनु राज्य र समाजका लागि लाजमर्दो विषय हो। के हाम्रा आवाज र मागहरूलाई जानाजानी नजरअन्दाज गर्न खोजिएकै हो त?
बाध्यताको 'ब्रेन ड्रेन' र राज्यको उदासिनता
आज देशका हजारौँ ऊर्जावान्, सीपयुक्त र दक्ष मेडिकल प्राविधिकहरू दिनहुँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिरहेका छन्। रहरले देश छोड्नु र बाध्यताले देश छोड्नुमा आकाश-जमिनको फरक हुन्छ। राज्यले समयमै लोकसेवा आयोगमार्फत पर्याप्त विज्ञापन खुलाएर सुरक्षित दरबन्दी सुनिश्चित गर्न सकेको भए, यी दक्ष हातहरूले आफ्नै माटोमा सेवा गरिरहेका हुने थिए।
नर्सिङ शिक्षाको दायरा निकै फराकिलो छ। यस जनशक्तिलाई केवल अस्पतालको 'बेड-साइड केयर' मा मात्र सीमित नराखेर सामुदायिक स्वास्थ्य, शैक्षिक क्षेत्र र वैज्ञानिक अनुसन्धानसम्म पूर्ण रूपमा परिचालन गर्न आवश्यक छ। यसो गर्न सके देशको स्वास्थ्य सूचकाङ्क मात्र सुध्रिने थिएन, समग्र देशको विकासमा ठूलो टेवा पुग्ने थियो।
अबको बाटो: न्यायोचित व्यवस्थापन
स्वास्थ्य क्षेत्रमा सुशासन र सुधार ल्याउने हो भने राज्य र सम्बन्धित निकायले नर्सिङ पेसालाई नीतिगत रूपमै बलियो बनाउनुपर्छ। यसका लागि निम्न बुँदाहरूमा अविलम्ब कार्य हुन जरुरी छ:
उचित पारिश्रमिक र सेवा सुविधा: श्रमको उचित र सम्मानजनक आर्थिक मूल्याङ्कन हुनुपर्छ।
निष्पक्ष मूल्याङ्कन: कार्यक्षमताको आधारमा बिना पक्षपात मूल्याङ्कन गरिनुपर्छ।
नियमित पदपूर्ति र बढुवा: रिक्त पदहरूमा नियमित दरबन्दी खुलाउने र योग्यतामा आधारित बढुवा प्रणाली लागू गरिनुपर्छ।
नयाँ पुस्ता स्वास्थ्य क्षेत्रमा आउँदै गर्दा अब त क्रमिक सुधार होला, सुशासन कायम होला, र एउटा सहज कार्य-वातावरण बन्ला भन्ने झिनो आशा अझै बाँकी छ। देश सुधार्ने जिम्मा लिएका संस्थाहरूले यदि यी आधारभूत समस्याहरूको न्यायोचित समाधान गरिदिने हो भने कोही पनि नर्सले इच्छा नहुँदा-नहुँदै बाहिरिनुपर्ने थिएन। नर्सिङ जनशक्तिप्रतिको सम्मान केवल नारामा मात्र होइन, व्यवहारमा देखिनुपर्छ ताकि भोलिका पुस्ताले गर्वका साथ भन्न सकून्– 'म नर्स हुँ र मलाई मेरो देशमा गर्व छ।'
-(अर्चना बगाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कूल अफ नर्सिङ एन्ड मिडवाइफरीकी सहायक प्राध्यापक हुन्।)