सङ्खुवासभा जिल्लाको उत्तरी भेगमा अवस्थित सिलीचोङ गाउँपालिका केवल नेपालको प्रशासनिक नक्सामा रहेको एउटा स्थानीय तह मात्र होइन, प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र मानवीय सहनशीलताको जीवित उदाहरण हो। अरुण उपत्यकाको उकालो–ओरालो, घना वन, चट्टानी भीर, खोल्साखोल्सी र वर्षायाममा झन् कठिन बन्ने पदमार्गहरूले यहाँको भौगोलिक स्वरूपलाई परिभाषित गर्छन्। केही बस्तीहरू अझै पनि सडक सञ्जालसँग पूर्ण रूपमा जोडिएका छैनन्। धेरै ठाउँमा स्वास्थ्य संस्थासम्म पुग्न घण्टौँ पैदल यात्रा गर्नुपर्छ, र आकस्मिक बिरामी पर्दा समयसँगको दौड नै जीवन र मृत्युबीचको दूरी बन्न सक्छ।
जब म सङ्खुवासभाको सिलीचोङ गाउँपालिकामा जनस्वास्थ्य अधिकृतका रूपमा कार्यभार सम्हाल्न यहाँ आइपुगे, मेरो साथमा विश्वविद्यालयमा सिकेको जनस्वास्थ्यको ज्ञान थियो। तर केही दिनमै महसुस हुन्छ, यहाँ जनस्वास्थ्य पुस्तकका पानामा सीमित विषय होइन, मानिसहरूको दैनिकीसँग गाँसिएको जीवन्त यथार्थ हो। यहाँ पाठ्यपुस्तकले सबै उत्तर दिँदैन। यहाँका प्रश्नहरू अझ गहिरा छन्, र तिनका उत्तरहरू तथ्यांकका तालिकाभन्दा धेरै मानिसहरूको जीवन, संघर्ष, आँखा र मुस्कानमा भेटिन्छन्।
सिलीचोङले मलाई हरेक दिन नयाँ पाठ सिकाइरहेको छ। एउटा जनस्वास्थ्य अधिकृतका रूपमा म कार्यक्रम सञ्चालन, प्रतिवेदन र अनुगमन मात्र गर्दिनँ; म एउटा यस्तो समाजलाई नजिकबाट हेर्छु, जहाँ स्वास्थ्यको अर्थ अस्पतालसम्म सीमित छैन। यहाँ स्वास्थ्य भनेको हिँडाइ हो, प्रतीक्षा हो, अभाव हो, आशा हो, र सबैभन्दा बढी समुदायको अहम जीवनशक्ति हो।
सिलीचोङका गाउँहरूमा काम गर्दै जाँदा मैले बुझें, नेपालको स्वास्थ्य प्रणालीको सबैभन्दा बलियो आधार आधुनिक भवन होइन, समुदायको विश्वास रहेछ।
प्रत्येक गाउँको आफ्नै कथा छ। कतै स्वास्थ्य संस्था पुग्न दुई–तीन घण्टा पैदल हिँड्नुपर्छ। कतै सडक छैन। वर्षायाममा खोल्सो बढेपछि सम्पर्क नै टुट्छ। बिरामीलाई अस्पताल पुर्याउने निर्णय चिकित्सा विज्ञानले मात्र होइन, मौसम, बाटो र आर्थिक अवस्थाले पनि निर्धारण गर्छ।हामी प्रायः ग्रामीण नेपाललाई सुन्दर तस्बिरहरूमा देख्छौं, हरिया डाँडाकाँडा, खोला, झरना, हिमाल र शान्त वातावरण। सामाजिक सञ्जालमा त अझ "प्रकृतिले सबै घाउ निको पार्छ" भन्ने सन्देशहरू बारम्बार देखिन्छन्। तर सिलीचोङमा बिताएका केही महिनाहरूले मलाई अर्को नेपाल देखाए, जुन पर्यटकको क्यामेरामा कम र स्थानीयको दैनिकीमा बढी भेटिन्छ।
धान, मकै, कोदो जस्ता बाली त उत्पादन हुन्छन्, तर सहरमा सहजै पाइने हरियो सागसब्जी, भिण्डी, परवल, फर्सी, कुम्भिण्डो, स्याउ, लिची, अनारजस्ता पौष्टिक खाद्य पदार्थ अधिकांश परिवारका लागि दैनिक जीवनको हिस्सा होइनन्। हप्ताको एक दिन लाग्ने हाटबजारले केही आवश्यक वस्तु ल्याइदिए पनि गाउँमै दही वा दूध पाउन समेत कहिलेकाहीँ कठिन हुन्छ। पोषणका बारेमा स्वास्थ्य शिक्षा दिनु एउटा कुरा हो, तर ती खाद्यवस्तु नै उपलब्ध नहुने ठाउँमा व्यवहार परिवर्तनको सन्देश मात्र पर्याप्त हुँदैन भन्ने कुरा मैले यहाँ आएर बुझें।
मलाई अहिले पनि एउटा दृश्य बारम्बार सम्झना आउँछ। बाहिर लुगा धोइरहेको बेला एउटी आमा आफ्नो करिब तीन महिनाको शिशुलाई काखमा लिएर दूध खुवाउँदै हुनुहुन्थ्यो। सामान्य जिज्ञासाले मैले उहाँ कहाँबाट फर्किनुभएको भनेर सोधेँ। उहाँ सिस्नो टिप्न जानुभएको रहेछ। थप कुरा गर्दा थाहा भयो, उहाँले त्यो शिशुलाई नाम्लो र कोक्रोमा बोकेर चार–पाँच घण्टाको पैदल यात्रा गर्नुभएको थियो। प्रसूति भएको तीन महिनामात्र भएको शरीर, बाटोभरि उकालो–ओरालो, बीचबीचमा बच्चालाई स्तनपान गराउँदै फेरि यात्रा। त्यो दृश्यले मलाई एउटा गहिरो प्रश्न सोध्न बाध्य बनायो, के प्रसूति पछिको आराम, पोषण र स्याहार हाम्रो देशमा सबै आमाको अधिकार बनेको छ, कि त्यो सुविधा अझै पनि सहरसम्म सीमित छ ?
तर मलाई सबैभन्दा धेरै छोएको कुरा उहाँको मुस्कान थियो। थकाइ लुकाएर होइन, जीवनलाई स्वीकारेर मुस्कुराउने त्यो अनुहारले ग्रामीण महिलाको सहनशीलता र संघर्षको अर्थ नयाँ रूपमा बुझायो। जनस्वास्थ्यका सूचकहरूले कहिल्यै त्यो मुस्कानको मूल्य मापन गर्न सक्दैनन्।
सिलीचोङले मलाई मानसिक स्वास्थ्यबारे पनि नयाँ पाठ सिकायो। एक रात प्राथमिक स्वास्थ्य केन्द्रमा विष सेवन गरेका दुई युवती आइपुगे। दुवैलाई थप उपचारका लागि रेफर गरियो। पछि बुझ्दै जाँदा अत्यधिक मदिरा सेवनपछि मुसा मार्ने विष खाएर आत्महत्याको प्रयास भएको रहेछ। तीमध्ये एक जनाको ज्यान बच्यो, अर्कोले जीवन गुमाइन्। त्यो घटना केवल एउटा आकस्मिक उपचारको विषय थिएन; त्यो मानसिक स्वास्थ्य, मदिराको दुरुपयोग, सामाजिक सम्बन्ध र समयमै मनोसामाजिक सहयोग नपुगेको एउटा गम्भीर संकेत थियो।
त्यसपछि सामाजिक सञ्जालमा "गाउँमा तनाव हुँदैन", "पहाडको हावा नै उपचार हो", "प्रकृतिले सबै पीडा निको पार्छ" भन्ने अभिव्यक्तिहरू देख्दा म धेरै पटक सोच्ने गर्छु। प्रकृति साँच्चै सुन्दर छ। खोला, जंगल र हिमालले मनलाई शान्त बनाउन सक्छन्। तर मानसिक स्वास्थ्य समस्या केवल सहरको समस्या होइन। निराशा, एक्लोपन, घरेलु हिंसा, मदिरा दुरुपयोग, आर्थिक अभाव र भविष्यप्रतिको अन्योलले ग्रामीण समाजलाई पनि उस्तै छोएको छ। फरक यति मात्र हो, सहरमा मनोचिकित्सक भेटिन्छन्, गाउँमा धेरैले आफ्नो पीडा मनभित्रै बोकेर बाँच्नुपर्छ।
जनस्वास्थ्यमा अहिले सबै कुरा डिजिटल बन्दै गएको छ। प्रतिवेदनहरू अनलाइन बुझाउनुपर्छ, डीएचआईएस२ मा तथ्यांक प्रविष्ट गर्नुपर्छ, इमेलमार्फत पत्राचार गर्नुपर्छ, अनलाइन बैठकमा सहभागी हुनुपर्छ र विभिन्न सरकारी सूचना डिजिटल माध्यमबाट प्राप्त गर्नुपर्छ। तर सिलिचोङमा काम गर्दा प्रविधिको अर्को यथार्थ पनि देखिन्छ। कतिपय ठाउँमा मोबाइल नेटवर्कले साथ दिँदैन। इन्टरनेट चलाउन उपयुक्त ठाउँ खोज्दै उकालो चढ्नुपर्ने अवस्था पनि आउँछ। इन्टरनेट पुगेको छ, तर सधैँ भरपर्दो छैन। एउटा प्रतिवेदन पठाउन वा एउटा इमेल डाउनलोड गर्नसमेत धैर्य चाहिने दिनहरू प्रशस्तै छन्।
यस्तो अवस्थामा डिजिटल स्वास्थ्य प्रणाली कार्यान्वयन गर्नु भनेको कम्प्युटर र इन्टरनेट उपलब्ध गराएर मात्र पूरा हुने विषय होइन। दुर्गम भूगोलमा सञ्चार पूर्वाधारलाई पनि स्वास्थ्य पूर्वाधारकै एउटा महत्त्वपूर्ण अङ्गका रूपमा हेर्नुपर्ने आवश्यकता मैले यहाँ आएर अझ स्पष्ट रूपमा बुझेको छु। किनभने समयमै तथ्यांक पठाउन नसक्नु, आवश्यक सूचना प्राप्त गर्न ढिलाइ हुनु वा टेलिमेडिसिनजस्ता सेवाको पहुँच नहुनु पनि अन्ततः स्वास्थ्य सेवाकै गुणस्तरसँग जोडिएको विषय हो।
यति सबै कठिनाइका बीच पनि यहाँका स्वास्थ्यकर्मीहरू सेवा रोक्दैनन्। नेटवर्क आएपछि प्रतिवेदन पठाउँछन्, राति अबेरसम्म बसेर तथ्यांक प्रविष्ट गर्छन् र भोलिपल्ट फेरि बिहानै अर्को गाउँतिर लाग्छन्। यही समर्पणले दुर्गम नेपालको स्वास्थ्य प्रणालीलाई आज पनि चलाइरहेको छ।
यहा काम गर्दा मैले समयलाई घडीले मात्र होइन, भूगोलले पनि निर्धारण गरेको देखेको छु। मासिक समीक्षा बैठक बिहान १० बजे सुरु गर्ने योजना बन्छ। तर कहिलेकाहीँ दिउँसो २ बजेसम्म पनि सबै सहभागी आइपुग्न सक्दैनन्। कारण अनुशासनको कमी होइन, भूगोल हो। केही स्वास्थ्य संस्था र बस्तीबाट सहभागीहरूलाई बैठकस्थलसम्म पुग्न घण्टौँ पैदल यात्रा गर्नुपर्छ। वर्षायाममा पहिरोले बाटो अवरुद्ध हुन्छ, खोला बढ्छन्, र एउटा बैठकमा सहभागी हुनसमेत ठूलो संघर्ष गर्नुपर्छ।
यही भूगोलले यहाँको विकासलाई चुनौती दिन्छ, तर यही भूगोलले यहाँका मानिसहरूलाई असाधारण धैर्य पनि दिएको छ। केही समयअघि पहिरोले एउटा विद्यालय नै बगायो। प्राकृतिक विपद् यहाँ समाचारको शीर्षक मात्र होइन, दैनिकीको हिस्सा हो। त्यसका बीचमा पनि मानिसहरू फेरि उठ्छन्, विद्यालय सञ्चालन गर्छन्, खेतबारीमा फर्कन्छन् र जीवनलाई अघि बढाइरहन्छन्।
एउटा घटना भने आज पनि मेरो मनमा ताजै छ। प्राथमिक स्वास्थ्य केन्द्रमा एउटा कार्यक्रममा गएको थिएँ। बाहिर करिब सत्तरी वर्षका एक जना बुबा खुट्टामा सेतो पट्टी बाँधेर चिकित्सकको प्रतीक्षामा बसिरहनुभएको थियो। उहाँले मलाई नयाँ अनुहार देखेर सोध्नुभयो, "नानी, कहाँ काम गर्नुहुन्छ?" मैले आफ्नो परिचय दिएँ। कुराकानी गर्दै जाँदा थाहा भयो, उहाँ चार घण्टा पैदल हिँडेर स्वास्थ्य केन्द्र आउनुभएको रहेछ। घाउ धेरै समयदेखि निको नभएकाले यसपटक चिकित्सकलाई नै देखाउन चाहनुभएको रहेछ।
केहीबेरपछि चिकित्सक आउनुभयो। उहाँको घाउ जाँच्नुभयो, ड्रेसिङ गर्न लगाउनुभयो, मधुमेह र रक्तचाप पनि जाँचिदिनुभयो। सबै प्रक्रिया सकिएपछि ती बुबाको अनुहारमा देखिएको सन्तुष्टि मैले सजिलै बिर्सन सक्दिनँ। फर्किने बेला उहाँले हामीतिर हेरेर भन्नुभयो, 'तपाईंहरूलाई यहाँको भूगोलले धेरै दुःख दिन्छ होला, तर हामीलाई छोडेर नजानु है।'
त्यो वाक्य मेरो मनमा आज पनि गुन्जिरहन्छ। चार घण्टाको पैदल यात्रा, केही मिनेटको चिकित्सकीय परामर्श, एउटा घाउको ड्रेसिङ, केही आत्मीय शब्द- सायद यही नै ग्रामीण स्वास्थ्य सेवाको वास्तविक अर्थ हो। हामीले दिने सेवा हाम्रो लागि दैनिक जिम्मेवारी हुन सक्छ, तर धेरै ग्रामीण नागरिकका लागि त्यो सेवा आशा, विश्वास र जीवनसँग जोडिएको हुन्छ।
सिलीचोङले मलाई अर्को एउटा प्रेरणादायी पक्ष पनि देखाएको छ, यहाँका स्वास्थ्यकर्मीहरूको समर्पण।
बिहान झोला काँधमा बोकेर घण्टौँ उकालो–ओरालो हिँड्दै उनीहरू खोप क्लिनिक पुग्छन्। गाउँघर क्लिनिक सञ्चाल न गर्छन्। अहिले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गरिरहेका छन्। कतै रक्तचाप जाँचिन्छ, कतै मधुमेहको परीक्षण हुन्छ, कतै औषधि वितरण गरिन्छ, त कतै स्वास्थ्य परामर्श। सेवाग्राही स्वास्थ्य संस्थासम्म आउन नसकेपछि स्वास्थ्य सेवा नै उनीहरूको घरसम्म पुगिरहेको छ।
यी यात्राहरू सहज छैनन्। कहिले घाम, कहिले वर्षा, कहिले पहिरोको जोखिम, कहिले घण्टौँको पैदल यात्रा। तर यी सबै कठिनाइका बीच पनि मैले यहाँका स्वास्थ्यकर्मीहरूको अनुहारमा गुनासोभन्दा बढी जिम्मेवारी देखेको छु। अतिरिक्त सुविधा वा आर्थिक प्रलोभनभन्दा धेरै, उनीहरूलाई अघि बढाइरहेको कुरा सेवाको भावना हो। सायद यही कारणले दुर्गम नेपालको स्वास्थ्य प्रणाली आज पनि चलिरहेको छ।
हामी प्रायः अस्पताल, भवन र उपकरणको चर्चा गर्छौं। तर स्वास्थ्य प्रणालीको सबैभन्दा बलियो आधार यी मौन स्वास्थ्यकर्मीहरू हुन्, जो आफ्नो थकानभन्दा नागरिकको स्वास्थ्यलाई अगाडि राख्छन्। उनीहरू समाचारका शीर्षक बन्दैनन्, पुरस्कार कमै पाउँछन्, तर उनीहरूको दैनिक यात्रा हजारौँ ग्रामीण नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुन्छ।सिलिचोङमा बसेर मैले बुझेको एउटा सत्य यही हो, जनस्वास्थ्य नीतिले मात्रै चल्दैन, यो त आफ्नो झोला काँधमा बोकेर अर्को गाउँतर्फ पाइला चाल्ने स्वास्थ्यकर्मीहरूको समर्पणले चलिरहेको छ।
नेपालका स्वास्थ्य सूचकहरू सुधारिएको तथ्यांकले देखाउँछन्। तर ती सूचकहरूको वास्तविक अर्थ बुझ्न चाहने हो भने कुनै दिन सिलीचोङजस्ता गाउँमा चार घण्टा पैदल हिँडेर स्वास्थ्य केन्द्र आउने वृद्धसँग बस्नुपर्छ, सिस्नो खोज्दै शिशु बोकेर हिँड्ने आमासँग कुरा गर्नुपर्छ, र झोला काँधमा बोकेर अर्को गाउँतिर लागेका स्वास्थ्यकर्मीसँग केही समय सँगै हिँड्नुपर्छ। त्यसपछि मात्र थाहा हुन्छ दुर्गममा स्वास्थ्य सेवा भवनभित्र होइन, मानिसहरूको पाइला, पसिना र विश्वासले चलिरहेको हुन्छ।