काठमाडौं- शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा नियुक्त भएका डा.आशिष गोविन्द अमात्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शुक्रबार मन्त्रालयमा नियुक्तिको पत्र बुझ्दै नवनियुक्त निर्देशक अमात्यले शपथ लिएका हुन्।
लामो समयदेखि केन्द्रमै कार्यरत डा. अमात्य मुटुरोग शल्यक्रियासम्बन्धी एनेस्थेसिया सेवामा अनुभवी चिकित्सकका रूपमा परिचित छन्।
हालसम्म केन्द्रको एनेस्थेसिया विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका प्रा. डा. अमात्यले अब देशकै विशिष्ट मुटु उपचार संस्थाको नेतृत्व गर्ने भएका छन्।
ललितपुरको कुपण्डोलमा जन्मिएका डा. अमात्यले प्रारम्भिक शिक्षा सेन्ट जेभियर्स स्कुलमा चार कक्षासम्म अध्ययन गरे। त्यसपछि उनले बुढानीलकण्ठ विद्यालयबाट एसएलसी पूरा गरे। भारतको दि लरेन्स स्कुल, सिम्लाबाट प्लस–टु अध्ययन सम्पन्न गरेका उनले ढाका विश्वविद्यालयअन्तर्गत बंगलादेश मेडिकल कलेजबाट सन् २००२ मा एमबीबीएस पूरा गरे
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक वर्ष इन्टर्नसिप गरका उनले त्यही अस्पतालमा मेडिकल अधिकृतका रूपमा करिब एक वर्ष सेवा गरेपछि महाराजगञ्ज चिकित्सा क्याम्पसबाट एनेस्थेसियोलोजी विषयमा एमडी अध्ययन पूरा गरे।
एमडी सम्पन्न गरेपछि डा. अमात्य शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा रजिष्ट्रारका रूपमा आबद्ध भए। दुई वर्षपछि स्थायी भएका उनले निरन्तर सेवा दिइरहेका छन्।
गंगालालमा चार वर्ष कार्यरत रहँदा उनले थप विशेषज्ञता हासिल गर्न मलेसियामा कार्डियाक एनेस्थेसियासम्बन्धी एक वर्षे फेलोसिप पूरा गरेका थिए। नेपालमा कार्डियाक एनेस्थेसियाका अनुभवी चिकित्सकमध्ये एक मानिने प्रा.डा. अमात्यले गंगालाल राष्ट्रिय हृदय केन्द्रमा एनेस्थेसिया सेवाको विकास, जनशक्ति उत्पादन तथा जटिल मुटु शल्यक्रियालाई सुरक्षित र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान दिएका छन्।