ललितपुर- ललितपुरस्थित कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रा.लि. ले बजारमा पशु औषधिहरूको नक्कली प्याकिङ गरी अनाधिकृत रूपमा बिक्री वितरण भइरहेको भन्दै सम्पूर्ण विक्रेता तथा सरोकारवालाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै आफूले आधिकारिक रूपमा दर्ता गरी आयात तथा बिक्री वितरण गर्दै आएका दुई प्रमुख भेटेरिनरी औषधिहरूको नक्कली संस्करण बजारमा फेला परेको जनाएको छ।
कम्पनीका अनुसार बुल्गेरियाको 'बायोभेट जोइन्ट स्टक कम्पनी' द्वारा उत्पादित 'भेटमुलिन ८०%' र 'भेनकाटेश्वरा ह्याचडिज प्रा.लि.'द्वारा उत्पादित 'भेनकासिन २५%' नामक पशु औषधिहरूको नक्कली प्याकिङ गरी अवैध रूपमा बजारमा बेचबिखन भइरहेको जानकारी प्राप्त भएको छ।
कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रा.लि. ले सम्पूर्ण औषधि विक्रेता, कृषि तथा पशु फर्म तथा सरोकारवालाहरूलाई उक्त औषधिहरू खरिद गर्दा आधिकारिक विक्रेतासँग राम्ररी मिलान र प्रमाणीकरण गरेर मात्र खरिद–बिक्री गर्न अनुरोध गरेको छ।
यसैगरी, सूचनाको बेवास्ता गरी बजारमा उपलब्ध नक्कली औषधि खरिद वा बिक्री-वितरण गरेमा त्यसबाट पर्न जाने क्षति र उत्पन्न हुने समस्याको सम्पूर्ण जिम्मेवारी सम्बन्धित खरिदकर्ता वा विक्रेता स्वयंले लिनुपर्ने कम्पनीले स्पष्ट पारेको छ।
कम्पनीले यस्ता गैरकानुनी र अनाधिकृत क्रियाकलापमा संलग्न व्यक्ति तथा संस्थाहरूको पहिचान भइरहेको र उनीहरूलाई यथाशीघ्र सम्बन्धित सरकारी तथा नियमनकारी निकायमा जानकारी गराई कडा कानुनी कारबाही गराइने चेतावनीसमेत दिएको छ।