विश्व स्तनपान दिवस प्रत्येक वर्ष अगस्ट १ देखि ७ सम्म विभिन्न कार्यक्रम गरी मनाइन्छ। यो वर्ष पनि "दिगो जीवनको स्वस्थ सुरुवात: प्रभावकारी स्तनपानका लागि सबैको साथ" भन्ने नाराका साथ मनाइँदै छ।
विश्व स्तनपान सप्ताह हामी सबैलाई शिशुको स्वास्थ्य र विकासका लागि आमाको दूधको महत्त्वबारे सचेत गराउने महत्त्वपूर्ण अवसर हो। स्वास्थ्यकर्मीका रूपमा हामी प्रत्येक आमालाई पहिलो ६ महिनासम्म शिशुलाई केवल आमाको दूध खुवाउन, नियमित रूपमा स्तनपान गराउन र स्तनपानका फाइदाबारे जानकारी दिन्छौँ। हामी आमाहरूलाई स्तनपान नै शिशुका लागि सर्वोत्तम पोषण हो भनेर सिकाउँछौँ। तर जब हामी आफैँ आमा बन्छौँ र काममा फर्किन्छौँ, त्यतिबेला स्तनपानलाई निरन्तरता दिन कति चुनौतीपूर्ण हुन्छ भन्ने कुरा अझ गहिरोसँग अनुभव गर्न पुग्छौँ।
आमा बनेपछि मात्र मैले पनि स्तनपानको वास्तविक अर्थ अझ गहिरो रूपमा बुझ्न पाएँ। किताबमा पढेको स्तनपान र आफ्नो बच्चालाई काखमा राखेर स्तनपान गराउँदाको अनुभव बिल्कुलै फरक रहेछ। बच्चाले आमाको दूध पिउँदा केवल दूध मात्र पिइरहेको हुँदैन, उसले आमाको माया, सुरक्षा, न्यानोपन र आफ्नी आमासँगको सम्बन्ध पनि महसुस गरिरहेको हुन्छ। एउटी आमाका लागि त्यो क्षण संसारकै सबैभन्दा सुन्दर क्षणमध्ये एक हुन्छ।
स्तनपान गराउने आमाका लागि केही घण्टाको अन्तरालमा बच्चालाई दूध खुवाउनु वा दूध निकाल्नु आवश्यक हुन सक्छ। तर लामो समयसम्म दूध नखुवाउँदा वा निकाल्न नपाउँदा स्तनमा दूध जम्ने, असहजता हुने, दुखाइ हुने, दूध चुहिने तथा नियमित रूपमा दूध निकाल्न नपाउँदा दूधको मात्रा घट्ने जस्ता समस्या पनि हुन सक्छन्। हामी अरू आमालाई भन्छौँ- 'बच्चालाई समयमै स्तनपान गराउनुहोस्।' तर कहिलेकाहीँ आफ्नै बच्चालाई दूध खुवाउने समय खोज्न एउटी कामकाजी आमाले सङ्घर्ष गर्नुपर्छ। यो सङ्घर्ष बाहिरबाट हेर्दा सानो देखिएला, तर एउटी आमाका लागि यो निकै ठूलो हुन्छ। ड्युटीको व्यस्तता, बिरामीको चाप, स्टाफको कमी, आकस्मिक अवस्था र जिम्मेवारीका कारण समयमै स्तनपान गराउन वा दूध निकाल्न नसक्ने अवस्था आउँछ। मनले बच्चालाई सम्झिरहेको हुन्छ, शरीरले दूध खुवाउन खोजिरहेको हुन्छ, तर जिम्मेवारीले रोकिरहेको हुन्छ।
अर्कोतर्फ बच्चालाई घरमा छोडेर काममा आउनुपर्दाको चिन्ता, बच्चाले पर्याप्त दूध पायो कि पाएन भन्ने तनाव, निद्राको कमी, घरायसी जिम्मेवारी र कार्यालयको जिम्मेवारीबीच सन्तुलन कायम गर्नुपर्ने दबाबले नयाँ आमाको मानसिक तथा शारीरिक थकान अझ बढाउन सक्छ। कतिपय आमाहरू कामको समयमा स्तनपान गराउन वा दूध निकाल्न समय माग्दा आफूलाई कामप्रति कम जिम्मेवार ठानिन्छ कि वा नजाऊ भन्छन् कि भन्ने डरले समस्या व्यक्त गर्न धेरै हिचकिचाउँछन्।
केही मिनेटको ब्रेकले उनलाई आफ्नो बच्चालाई दूध खुवाउने अवसर दिन सक्छ, आफ्नो बच्चाको बारेमा भएको चिन्ता केही कम गर्न सक्छ, आफ्नो शरीरलाई आराम दिन सक्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा- 'मेरो कार्यस्थलले मेरो मातृत्वलाई पनि सम्मान गर्छ' भन्ने अनुभूति दिन सक्छ। त्यसैले हरेक संस्थाले स्तनपान गराउने आमालाई केही आवश्यक समय दिनुपर्छ। उनलाई सफा, सुरक्षित र निजी स्थान उपलब्ध गराउनुपर्छ। सम्भव भएमा निकालिएको दूध सुरक्षित रूपमा राख्ने व्यवस्था गर्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा- उनलाई अपराधबोध हुने वातावरण होइन, सहयोग पाउने वातावरण दिनुपर्छ।
सुपरभाइजरले 'फेरि ब्रेक चाहियो?' भनेर प्रश्न गर्नुको सट्टा “तपाईँलाई कति समय चाहिन्छ, हामी मिलाउँछौँ” भन्न सक्ने वातावरण बनोस्। सहकर्मीले 'तपाईँ जाँदा हाम्रो काम बढ्छ' भन्नुको सट्टा 'जानुहोस्, हामी केही समय हेर्छौँ' भन्न सक्ने संस्कृति बनोस्। किनकि आज एउटी आमालाई हामीले सहयोग गर्यौँ भने भोलि हामीमध्ये कसैलाई पनि त्यही सहयोग आवश्यक पर्न सक्छ।
हामीले बुझ्नुपर्छ- एउटी आमाको केही मिनेट भनेको केवल केही मिनेट होइन। त्यो उनको बच्चाका लागि पोषण हो। त्यो आमाका लागि राहत हो। त्यो बच्चा र आमाबीचको सम्बन्ध हो। त्यो आमाको आत्मविश्वास हो। र त्यो एउटा परिवारको स्वास्थ्यसँग जोडिएको कुरा हो।
मलाई मेरो संस्थाले स्तनपानको महत्त्व बुझेर मेरो लागि समय दिएकामा म धेरै आभारी छु। यो सुविधा सबै कर्मचारीहरूले पाउनुपर्छ भन्ने कुरामा म पनि लागिपर्ने छु। तर अझै पनि धेरै नर्स तथा अन्य कामकाजी महिलाहरूले स्तनपानका लागि आवश्यक समय पाउन सङ्घर्ष गरिरहेका छन्। त्यसैले यो विषयमा खुलेर कुरा गर्न आवश्यक छ। हामीले स्तनपानलाई केवल घरभित्रको विषयका रूपमा हेर्नु हुँदैन।
म सबै कामकाजी आमाहरूलाई पनि भन्न चाहन्छु- तपाईँ एक्लै हुनुहुन्न। आमा बन्नु आफैँमा ठूलो जिम्मेवारी हो र त्यससँगै काम, घर, बच्चाको हेरचाह र स्तनपानलाई सँगसँगै व्यवस्थापन गर्नु सजिलो छैन। कहिलेकाहीँ कठिनाइ आउन सक्छ, थकान हुन सक्छ र आफूले पर्याप्त गर्न सकिनँ कि भन्ने भावना पनि आउन सक्छ। तर आफूलाई दोष नदिनुहोस्। आवश्यक पर्दा सहयोग माग्नुहोस्, आफ्नो आवश्यकता आफ्ना वरिष्ठ र सहकर्मीलाई स्पष्ट रूपमा बताउनुहोस् र सम्भव भएसम्म आफ्नो स्तनपानलाई निरन्तरता दिन प्रयास गर्नुहोस्।
किनकि एउटा बच्चाका लागि आमाको दूध अमूल्य छ, र एउटी आमाका लागि आफ्नो बच्चालाई दूध खुवाउन पाएको त्यो केही मिनेट संसारकै सबैभन्दा मूल्यवान् समय हुन सक्छ।
यस विश्व स्तनपान सप्ताहमा, हामी केवल स्तनपानको प्रचार नगरौँ- स्तनपान गराउने आमाको साथ दिऔँ। आमालाई समय दिऔँ। आमालाई सम्मान दिऔँ। आमालाई सहयोग गरौँ। स्तनपानलाई व्यवहारमा समर्थन गरौँ। कार्यस्थललाई स्तनपानमैत्री बनाऔँ।
-(रश्मिला थपलिया स्टार अस्पतालकी मेट्रोन हुन्।)