बाजुरा- बाजुरा अस्पतालमा ६ वर्षीय बालकको सफल आपतकालीन एपेन्डिक्स शल्यक्रिया गरिएको छ।
बडीमालिका नगरपालिका–९ का ६ वर्षीय रिदम नेपालीको अस्पतालमा कार्यरत एमडीजीपी डाक्टर आशिस कार्की सहितको चिकित्सक टोलीले सफल शल्यक्रिया गरेको हो।
केही दिनअघि बालक पेटको दायाँ तल्लो भागमा तीव्र दुखाइ, वाकवाकी तथा बान्ताको समस्या लिएर अस्पताल पुगेका थिए। क्लिनिकल परीक्षण तथा अल्ट्रासाउन्डपछि बालकमा “फेकोलिथ सहितको तीव्र एपेन्डिसाइटिस” पुष्टि भएको अस्पतालले जनाएको छ।
डाक्टर कार्कीका अनुसार यस्तो अवस्थामा २४ घण्टाभित्र शल्यक्रिया नगरिए एपेन्डिक्स फुट्ने, पेटभरि संक्रमण फैलिने, सेप्सिस हुने तथा ज्यानसमेत जोखिममा पर्ने सम्भावना रहन्छ।
सीमित स्रोतसाधन र चुनौतीपूर्ण परिस्थितिका बीच बालकको आपतकालीन ‘ओपन एपेन्डेक्टोमी’ स्पाइनल एनेस्थेसियामार्फत सफलतापूर्वक गरिएको उनले बताए। शल्यक्रियाका क्रममा सुन्निएको एपेन्डिक्सभित्र फेकोलिथ भेटिएको पनि जानकारी दिइएको छ।
बाजुरा जस्ता दुर्गम जिल्लामा आपतकालीन शल्यक्रिया सेवा सञ्चालन गर्नु निकै चुनौतीपूर्ण रहेको चिकित्सकहरूको भनाइ छ। विशेषज्ञ जनशक्तिको अभाव, सीमित एनेस्थेसिया सेवा, आधुनिक उपकरणको कमी, रक्तसञ्चार व्यवस्थापन, यातायात कठिनाइ, ढिलो अस्पताल आउने बिरामी तथा आर्थिक समस्याले उपचार प्रक्रियालाई थप जटिल बनाउने गरेको अस्पतालले जनाएको छ।
यद्यपि सीमित स्रोतसाधनका बाबजुद पनि जिल्ला अस्पताल बाजुराले पछिल्लो समय जटिल शल्यक्रियासमेत सफलतापूर्वक गर्दै आएको छ। केही साताअघि मात्रै ‘रिभर्स सुरल फ्ल्याप’ शल्यक्रिया गरिएको एक बिरामीमा गम्भीर संक्रमण भई इम्प्लान्ट बाहिर देखिएको अवस्थामा समेत सफल पुनःशल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
चिकित्सकहरूले विशेषगरी बालबालिकामा पेट दुख्ने, बान्ता हुने तथा पेटको दायाँ तल्लो भागमा दुखाइ हुने लक्षणलाई बेवास्ता नगर्न आग्रह गरेका छन्।