पृष्ठभूमि
प्रयोगशाला परीक्षण आधुनिक स्वास्थ्य प्रणालीको मेरुदण्डका रूपमा मानिन्छ। वर्ल्ड हेल्थ अर्गनाइजेसन (डब्लुएचओ) का अनुसार विश्वभर रोगको निदान, उपचार तथा अनुगमनसम्बन्धी करिब ६०–७० प्रतिशत चिकित्सकीय निर्णयहरू प्रयोगशाला परीक्षणका नतिजामा आधारित हुन्छन्। विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले प्रयोगशाला परीक्षणलाई “एभिडेन्स–बेस्ड मेडिसिन” को आधारभूत अङ्गका रूपमा व्याख्या गरेका छन्। सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी), युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल (इसीडीसी) तथा वर्ल्ड बैंकले गुणस्तरीय प्रयोगशाला प्रणालीलाई रोग नियन्त्रण, महामारी निगरानी तथा जनस्वास्थ्य सुरक्षाको आधार मानेका छन्।
अध्ययनहरूका अनुसार प्रयोगशाला प्रक्रियामा हुने अधिकांश त्रुटिहरू प्रि–एनालिटिकल चरणमा हुने गर्दछन्, जसमा नमुना संकलन, बिरामीको तयारी, ढुवानी तथा भण्डारणसम्बन्धी कमजोरीहरू प्रमुख हुन्छन्। केही अध्ययनहरूमा प्रि–एनालिटिकल त्रुटि ४६–७० प्रतिशतसम्म रहेको उल्लेख गरिएको छ। त्यसैगरी, इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डर्डाइजेसन (आईएसओ) को आईएसओ १५१८९ मापदण्ड, क्लिनिकल एन्ड ल्याबोरेटरी स्ट्यान्डर्ड्स इन्स्टिच्युट (सीएलएसआई) गाइडलाइन, कलेज अफ अमेरिकन प्याथोलोजिस्ट्स (सीएपी) एक्रिडिटेसन तथा नेसनल एक्रिडिटेसन बोर्ड फर टेस्टिङ एन्ड क्यालिब्रेसन ल्याबोरेटरीज (एनएबीएल) ले प्रयोगशालामा गुणस्तर सुनिश्चितता, मानकीकरण तथा क्वालिटी इन्डिकेटर्स को नियमित मूल्याङ्कनलाई अनिवार्य मानेका छन्। एनएबीएल–मान्यता प्राप्त प्रयोगशालामा गरिएको १० वर्षे अध्ययनमा ४.७२ मिलियन नमुनामध्ये अधिकांश त्रुटि पोस्ट–एनालिटिकल तथा प्रि–एनालिटिकल चरणमा रहेको देखिएको छ। यी तथ्यहरूले प्रयोगशालाको गुणस्तर, दक्ष जनशक्ति तथा मानकीकृत प्रणालीले परीक्षण नतिजाको विश्वसनीयतामा प्रत्यक्ष प्रभाव पार्ने कुरा स्पष्ट गर्दछ।
नेपालको सन्दर्भ
नेपालमा पछिल्लो दशकमा प्रयोगशाला सेवाको विस्तार तीव्र गतिमा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा प्रणालीले राष्ट्रिय, प्रादेशिक, जिल्ला तथा स्थानीय तहसम्म प्रयोगशाला सञ्जाल विस्तार गरी निदान सेवाको पहुँच उल्लेखनीय रूपमा बढाएको छ। नेसनल पब्लिक हेल्थ ल्याबोरेटरी (एनपीएचएल) देशको केन्द्रीय सन्दर्भ प्रयोगशालाका रूपमा आईएसओ १५१८९:२०२२ मापदण्डअनुसार गुणस्तर सुनिश्चित गर्ने, समन्वय गर्ने र राष्ट्रिय प्रयोगशाला प्रणालीलाई मार्गदर्शन गर्ने प्रमुख संस्थाका रूपमा कार्यरत छ।
वर्ल्ड हेल्थ अर्गनाइजेसन (डब्लुएचओ) का अनुसार कोभिड–१९ महामारीको समयमा नेपालमा १०० भन्दा बढी प्रयोगशाला सञ्चालनमा आएका थिए, जसले परीक्षण क्षमता बढाए पनि गुणस्तर, समन्वय र एकरूपतामा चुनौती देखाएको थियो। र्यापिड ल्याबोरेटरी क्वालिटी एसेसमेन्ट (आरएलक्यूए) का निष्कर्षअनुसार ३६ प्रयोगशालामा रोग पहिचान, एन्टिमाइक्रोबियल संवेदनशीलता परीक्षण तथा गुणस्तर आश्वासन प्रणालीमा कमजोरीहरू देखिएका थिए। प्रदेशस्तरका प्रयोगशालाबीच उपकरण, रिएजेन्ट, दक्ष जनशक्ति र प्राविधिक क्षमतामा असमानता रहेको पाइन्छ।
नेपालमा प्रयोगशालाहरूको दर्ता संख्या बढ्दै गएको छ र आईएसओ मान्यता प्राप्त गर्ने प्रक्रिया विस्तार भइरहेको छ। वर्ल्ड हेल्थ अर्गनाइजेसनले नेपालमा प्रयोगशाला गुणस्तर व्यवस्थापन सुदृढ गर्न आन्तरिक अडिटर र लिड एसेसर तालिम सञ्चालन गरी दक्ष जनशक्ति विकासमा सहयोग पुर्याएको छ। यसरी नेपालमा प्रयोगशाला सेवाको विस्तारसँगै गुणस्तर, मानकीकरण र त्रुटि व्यवस्थापन प्रमुख चुनौतीका रूपमा देखा परिरहेका छन्।
साथै, वर्ल्ड हेल्थ अर्गनाइजेसन (डब्लुएचओ), क्लिनिकल एन्ड ल्याबोरेटरी स्ट्यान्डर्ड्स इन्स्टिच्युट (सीएलएसआई), कलेज अफ अमेरिकन प्याथोलोजिस्ट्स (सीएपी), युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल (इसीडीसी), इन्टरनेसनल फेडेरेसन अफ क्लिनिकल केमिस्ट्री एन्ड ल्याबोरेटरी मेडिसिन (आईएफसीसी), नेसनल एक्रिडिटेसन बोर्ड फर टेस्टिङ एन्ड क्यालिब्रेसन ल्याबोरेटरीज (एनएबीएल), प्यान अमेरिकन हेल्थ अर्गनाइजेसन (पाहो) आदि जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले नेपालमा प्रयोगशाला सेवाको गुणस्तर सुधार, मानकीकरण, मान्यता प्रणाली तथा दक्षता अभिवृद्धिका लागि महत्वपूर्ण मार्गदर्शन प्रदान गर्दै आएका छन्।
किन फरक आउँछन् परीक्षण परिणामहरू?
प्रयोगशाला परीक्षणका परिणामहरू फरक–फरक आउनु एक सामान्य तर महत्वपूर्ण वैज्ञानिक तथा क्लिनिकल समस्या हो। यसको मुख्य कारण नमुना संकलनदेखि रिपोर्ट तयार हुने सम्पूर्ण प्रक्रियामा हुने साना त्रुटि, जैविक परिवर्तन तथा प्राविधिक भिन्नता हुन्। प्रि–एनालिटिकल (पूर्व–विश्लेषणात्मक), एनालिटिकल (विश्लेषणात्मक) तथा पोस्ट–एनालिटिकल (उत्तर–विश्लेषणात्मक) चरणका कमजोरी, उपकरणको गुणस्तर, रिएजेन्टको अवस्था तथा जनशक्तिको दक्षताले नतिजा प्रभावित गर्छ। मानकीकरण र गुणस्तर नियन्त्रणको कमीले पनि असमानता ल्याउँछ।
प्रयोगशाला परिणाममा देखिने भिन्नता केवल ल्याबोरेटरी एरर (प्रयोगशाला त्रुटि) मात्र नभई जैविक कारण (बायोलोजिकल कज) ले पनि हुन्छ। एउटै व्यक्तिमा समय, आहार, उमेर, लिङ्ग र शारीरिक अवस्थाले नतिजा फरक पार्न सक्छ। नमुना पहिचान, ढुवानी, भण्डारण र परीक्षण विधिको भिन्नताले पनि परिणाम प्रभावित गर्छ। यसरी, प्रयोगशाला परिणाम फरक हुनु कुनै एक मात्र कारणले नभई बहु–कारकीय (मल्टिफ्याक्टोरियल) प्रणालीगत प्रक्रिया हो, जसमा मानव, जैविक र प्राविधिक सबै पक्षहरू समावेश हुन्छन्।

समाधानका उपायहरू
प्रयोगशाला परीक्षण परिणाममा देखिने भिन्नता घटाउनका लागि गुणस्तर व्यवस्थापन प्रणालीलाई प्रभावकारी रूपमा लागू गर्नु अत्यन्त आवश्यक हुन्छ। यसका लागि सम्पूर्ण परीक्षण प्रक्रियालाई प्रि–एनालिटिकल, एनालिटिकल र पोस्ट–एनालिटिकल चरणमा मानकीकृत गर्नुपर्छ। नमुना संकलन, भण्डारण र ढुवानीलाई एसओपी अनुसार कडाइका साथ पालना गर्नुपर्छ। प्रयोगशाला उपकरणहरूको नियमित क्यालिब्रेसन र मर्मतसम्भार गर्नुका साथै प्रमाणित र गुणस्तरीय किट, रिएजेन्ट तथा उपकरणको प्रयोग गर्नुपर्छ। दक्ष जनशक्ति विकासका लागि निरन्तर तालिम, क्षमता अभिवृद्धि तथा सुपरिवेक्षण आवश्यक हुन्छ। साथै आईएसओ १५१८९ मापदण्ड, इन्टरनल क्वालिटी कन्ट्रोल (आईक्यूसी) र एक्स्टर्नल क्वालिटी एसेसमेन्ट (ईक्यूए) को प्रभावकारी कार्यान्वयनले नतिजाको विश्वसनीयता बढाउँछ। डिजिटल रिपोर्टिङ प्रणाली र ल्याबोरेटरी इन्फर्मेसन सिस्टम (एलआईएस) को उचित प्रयोगले मानवीय त्रुटि घटाउन मद्दत गर्छ।
यसका साथै जैविक त्रुटि (बायोलोजिकल एरर) पनि प्रयोगशाला परिणाम फरक पर्ने महत्वपूर्ण कारण हो। एउटै व्यक्तिमा पनि उमेर, लिङ्ग, शारीरिक अवस्था, आहार, औषधि सेवन, तनाव तथा दैनिक जैविक लय (सर्केडियन रिदम) का कारणले शरीरका सूचकहरू परिवर्तन हुन सक्छन्, जसले परीक्षण नतिजामा प्राकृतिक भिन्नता ल्याउँछ। त्यसैले प्रयोगशाला परिणाम व्याख्या गर्दा जैविक अवस्थालाई पनि ध्यान दिनु अत्यन्त आवश्यक हुन्छ।
निष्कर्ष
मात्रात्मक (क्वान्टिटी) भन्दा गुणात्मक (क्वालिटी) पक्षमा विशेष ध्यान दिँदै, उच्च गुणस्तरयुक्त, विश्वसनीय र मानकीकृत (स्ट्यान्डर्डाइज्ड) प्रयोगशाला सेवा सुनिश्चित गर्नु आजको प्रमुख आवश्यकता हो। प्रयोगशाला परीक्षण नतिजामा देखिने भिन्नता सही निदान, उपचार तथा जनस्वास्थ्य व्यवस्थापनका लागि महत्वपूर्ण चुनौती हो। यसलाई न्यून गर्न प्रि–एनालिटिकल, एनालिटिकल र पोस्ट–एनालिटिकल सबै चरणमा गुणस्तर व्यवस्थापन, मानकीकरण, नियमित क्यालिब्रेसन तथा दक्ष जनशक्तिको भूमिका अत्यन्त आवश्यक हुन्छ। एसओपी, आईएसओ १५१८९, आईक्यूसी र ईक्यूए जस्ता गुणस्तर प्रणालीहरूको प्रभावकारी कार्यान्वयनले परीक्षण नतिजालाई सटीक, विश्वसनीय र एकरूप बनाउन मद्दत गर्छ।
त्यसैले नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, प्रदेश जनस्वास्थ्य प्रयोगशालाहरू, नेपाल स्वास्थ्य व्यवसायी परिषद् तथा सम्बन्धित निकायहरूले प्रयोगशाला सेवाको गुणस्तर सुधार, नियमन र क्षमता विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। यद्यपि उपकरण अभाव, सीमित स्रोतसाधन तथा दक्ष जनशक्तिको असमानता अझै चुनौतीका रूपमा रहेका छन्। त्यसैले नेपाल सरकार, प्रयोगशाला कर्मी तथा सरोकारवालाहरूको संयुक्त र समन्वित प्रयासबाट मात्र गुणस्तरीय, भरपर्दो र विश्वसनीय प्रयोगशाला सेवा सुनिश्चित गर्न सकिन्छ।
( खड्का क्रिमसन कलेज अफ टेक्नोलोजी, देवीनगर, बुटवल–११, रुपन्देही, नेपालमा कार्यरत छन् । मेडिकल ल्याब साइन्स, अनुसन्धान तथा अध्यापन क्षेत्रमा छन्)