नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको घटनाले अत्यन्त दुःखी बनाएको छ।
दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्छ। साथै, कुनै ठोस प्रमाणबिना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निलम्बन गर्ने निर्णय तत्काल फिर्ता गरिनुपर्छ। यस गैरजिम्मेवार निर्णयको नैतिक जिम्मेवारी लिँदै मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) ले पदबाट राजीनामा दिनुपर्छ।
अस्पतालमा मृत्यु भएपछि तुरुन्तै डाक्टर दोषी किन?
नेपालमा एउटा अचम्मको प्रवृत्ति बढ्दै गएको छ। अस्पतालमा कुनै बिरामीको मृत्यु हुनेबित्तिकै धेरै मानिसको पहिलो प्रतिक्रिया हुन्छ- डाक्टरको लापरबाहीले बिरामी मर्यो।
न जाँच भएको छ, न रिपोर्ट हेरिएको छ, न घटनाको वास्तविकता बुझिएको छ। तर निष्कर्ष पहिल्यै तयार हुन्छ- डाक्टर दोषी।
अस्पतालमा सबैभन्दा पहिले ‘सञ्जीवनी बुटी’ नै राख्नुपर्छ भन्ने अपेक्षा कतिपयमा अझै देखिन्छ। बिरामी अस्पताल पुग्नेबित्तिकै एउटा औषधि खुवाइदिने, पाँच मिनेटमै सबै रोग निको हुने, अनि हिँड्दै घर फर्किने। न परीक्षणको आवश्यकता, न रोगको जटिलता बुझ्ने समय, न औषधिले प्रभाव देखाउन लाग्ने समय। मानौँ अस्पताल चिकित्सा विज्ञानले होइन, चमत्कारले चलिरहेको हो।
तर यथार्थ फरक छ। चिकित्सा विज्ञान प्रमाण, अनुसन्धान, अनुभव र समयका आधारमा अघि बढ्छ। चिकित्सक भगवान् होइनन्। उहाँहरूको जिम्मेवारी सही मूल्याङ्कन गर्नु, आवश्यक परीक्षण गर्नु, समयमै उपचार सुरु गर्नु र उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै जीवन बचाउने हरसम्भव प्रयास गर्नु हो।
सबै बिरामीलाई बचाउन सधैँ सम्भव हुँदैन। सबै उपचारले तत्काल परिणाम दिँदैनन्। यही चिकित्सा विज्ञानको यथार्थ हो, र यही सत्यलाई स्वीकार्न समाजले पनि सिक्नुपर्छ।
दुर्भाग्यवश, उपचार प्रक्रियाको जटिलता बुझ्नुको सट्टा अन्तिम परिणाम मात्र हेर्ने प्रवृत्ति बढ्दो छ। बिरामी निको भयो भने चिकित्सक ‘भगवान्’, अपेक्षित परिणाम आएन भने त्यही चिकित्सक ‘दोषी’।
यदि यस्ता घटनाहरू रोकिएनन् भने हाम्रो स्वास्थ्य प्रणाली झन् कमजोर बन्दै जानेछ। अनि फेरि हामी नै भन्नेछौँ- हाम्रो स्वास्थ्य प्रणाली किन राम्रो छैन?
स्वास्थ्यकर्मीमाथिको हिंसाले कुनै समाधान दिँदैन। बरु यसले योग्य जनशक्तिलाई निरुत्साहित गर्छ, सेवाको गुणस्तर घटाउँछ, र अन्ततः यसको असर सम्पूर्ण जनताले भोग्नुपर्छ।