नेपालमा पछिल्लो समय मुटु रोगको जोखिम तीव्र रूपमा बढिरहेको छ। बदलिँदो जीवनशैली, अस्वस्थ खानपिन, मानसिक तनाव र सानै उमेरमा नियन्त्रण नभएको उच्च रक्तचापका कारण हृदयघात हुने र अकालमै ज्यान गुमाउनेहरूको सङ्ख्या चिन्ताजनक छ। यसै सन्दर्भमा, केन्द्रीय मुटुरोग अस्पताल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले बिरामीको उपचारसँगै रोकथाम र आधुनिक चिकित्सा सेवा विस्तारमा कस्ता पहल गरिरहेको छ? मुटुको जटिल शल्यक्रिया, सघन उपचार कक्षको अवस्था र आगामी दिनमा नेपालमै 'मुटु प्रत्यारोपण'को तयारी कहाँ पुगेको छ? यिनै विविध विषयमा केन्द्रित रहेर शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक प्राडा आशिष गोविन्द अमात्यसँग गरिएको कुराकानीको अंश:
लामो समयदेखि गंगालालमा नै काम गरेको अनुभव र अहिले निर्देशकको रुपमा हेर्दा नेपालमा मुटुरोगको अवस्था कस्तो छ?
अहिलेको तथ्यांक र अनुसन्धानले नेपालमा मुटु रोगको अवस्था निकै बढ्दै गएको देखाउँछ। मुटु रोगका कारण मृत्यु हुनेहरूको सङ्ख्या हेर्दा प्रत्येक तीन जनामध्ये एक जनाको ज्यान यसैका कारण गइरहेको छ। अझ चिन्ताजनक कुरा के छ भने, कम उमेरका युवाहरूमा पनि मुटु रोग र यसबाट हुने अकाल मृत्युको दर बढ्दो छ। विगत १५ वर्षको अनुभव हेर्दा उच्च रक्तचाप (रक्तचाप) नियन्त्रण नहुँदा एक्कासि हृदयघात भएर आउने बिरामीहरूको सङ्ख्या अत्यधिक छ। हाम्रो अव्यवस्थित खानपिन, तनावपूर्ण जीवनशैली र अस्वस्थ बानीव्यवहार नै यसका मुख्य कारण हुन्। यी सबै परिवर्तन गर्न सकिने जोखिमका कारक भएकाले यिनलाई नियन्त्रण गर्न सकियो भने मुटु रोगको ठूलो समस्या समाधान गर्न सकिन्छ। अहिले अस्पतालमा ओपन हार्ट र बाइपास सर्जरी गर्नुपर्ने बिरामीको चाप निरन्तर बढिरहेको छ।
गंगालालले उपचारसँगै रोकथाम र रोग लाग्नै नदिने उपायहरुका विषयमा पनि काम गरिरहेको छ?
मुटु रोगको रोकथामका लागि अरूलाई उपदेश दिनुभन्दा पहिले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू स्वयंले उदाहरण प्रस्तुत गर्नुपर्छ। दिनमा अलिकति भए पनि हिँड्ने वा व्यायाम गर्ने, धूम्रपान र मदिरापान पूर्ण रूपमा छाड्ने वा कम गर्ने र खानपिनमा नियन्त्रण गर्ने जस्ता साना कदमबाट यसको सुरुवात हुनुपर्छ। प्रत्येक व्यक्तिले आफ्नो रक्तचाप र कोलेस्ट्रोलको अङ्क (नम्बर) याद राख्नुपर्छ। अस्पतालको क्यान्टीनबाट जङ्क फुड हटाउने, क्यान्टीनको खाना स्वास्थ्यकर बनाउने र एकेडेमिक क्लासहरूमा पनि यसबारे चेतना फैलाउनुपर्छ। कोभिड महामारीअघि अस्पतालमा बिरामी र उनीहरूका कुरुवाका लागि हप्ताको एक दिन आहार, व्यायाम, रक्तचाप र ओपन हार्ट सर्जरीपछिको फिजियोथेरापीबारे सचेतना कार्यक्रम चलाइन्थ्यो। अब त्यसलाई पुनः ब्युँताएर हप्ताको ५-६ दिन नै विभिन्न विषयमा बिरामी र कुरुवाहरूलाई सचेत गराउने तयारी भइरहेको छ।
गंगालालले योग अभ्यास पनि सुरु गरेको हो?
शहीद गंगालाल हृदय केन्द्रभित्रै कर्मचारी र चिकित्सकहरूका लागि नियमित योग अभ्यास सुरु गरिएको छ। बिहान काममा खटिनुअघि योग गरेर मात्र सेवामा लाग्ने परिपाटी बसालिएको छ। योग र नियमित व्यायामले मानसिक तनाव घटाउन र काममा ध्यान केन्द्रित गर्न ठूलो मद्दत पुर्याउँछ। अन्तर्राष्ट्रिय मुटुसम्बन्धी निर्देशिकाहरूमा समेत ध्यान र योगलाई मुटु स्वास्थ्यका लागि सिफारिस गरिएको छ। नियमित व्यायाम र सन्तुलित जीवनशैली अपनाएकै कारण धेरै उमेर भइसक्दा पनि धेरैजसो चिकित्सकहरूले रक्तचाप वा मधुमेहको औषधि खानुपरेको छैन। जीवनशैली परिमार्जन भनेको उमेर ढल्किएपछि नराम्रा बानी त्यागेर योग, ध्यान र व्यायाममा लाग्नु नै हो।
मुटुको शल्यक्रिया गराउँदा बिरामी र परिवारले सबैभन्दा बढी के कुराको डर मान्छन्?
मुटुको शल्यक्रिया (ओपन हार्ट सर्जरी) अत्यन्त जटिल र ठूलो प्रविधि हो। शल्यक्रियाका क्रममा बिरामीको मुटु र फोक्सोको काम हार्ट लंग मेसिन र भेन्टिलेटरबाट गराइन्छ। ३ देखि ८ घण्टासम्म लाग्ने यो प्रक्रियामा रगत नजमोस् भनेर पगाल्ने औषधिहरू दिइने हुनाले शल्यक्रियापछि अत्यधिक रक्तस्राव हुने जोखिम रहन्छ। त्यसैले शल्यक्रियापछि बिरामीलाई २ देखि ४ घण्टासम्म भेन्टिलेटरमा राखेर रक्तस्राव रोकिएपछि र होस आएपछि मात्र भेन्टिलेटरबाट निकालिन्छ। यस्ता जटिलता र लामो प्रक्रियाका कारण बिरामी र उनीहरूका आफन्तहरू डराउनु स्वाभाविक हो। तर गङ्गालाल अस्पतालमा दैनिक ८ देखि ९ वटा जटिल शल्यक्रियाहरू सफलताका साथ भइरहेका छन्। अन्य बिरामीहरू निको भएर फर्किएको देख्दा नयाँ बिरामीहरूमा ठूलो आत्मविश्वास जाग्ने गरेको छ।
गंगालालमा जटिल मुटु शल्यक्रिया र गम्भीर बिरामीको उपचार गर्दा आईसीयू तथा क्रिटिकल केयरको चाप कस्तो छ?
अहिले गङ्गालाल अस्पतालमा ७० बेडको क्रिटिकल केयर सुविधा उपलब्ध छ, जसमा २४ प्रतिशत बेड सर्जिकल आइसियुका लागि छुट्याइएको छ। अस्पतालका सघन उपचार कक्षहरू १०० प्रतिशत नै ओगटिएका हुन्छन्। दैनिक ८-९ वटा शल्यक्रियाका साथै हृदयघात भएका बिरामीको आपत्कालीन प्राथमिक एन्जियोप्लास्टी गर्नुपर्ने भएकाले उनीहरूलाई सीसीयुमा राख्नुपर्छ। बिरामीको चाप बढेकाले अहिले तीन वटा सीसीयु सञ्चालनमा छन् भने चौथो सीसीयु थप्ने तयारी भइरहेको छ। कार्यकारी निर्देशकको रूपमा अस्पताल, बोर्ड र मन्त्रालयमा नीतिगत निर्णय गराउन र योजनाहरू कार्यान्वयन गर्न सहज भएको छ, जसले गर्दा अस्पतालको भौतिक र प्राविधिक पूर्वाधार विस्तार तीव्र रूपमा भइरहेको छ।
नेपालमा मुटु प्रत्यारोपणको सम्भावना कति छ?
नेपालमै मुटु र फोक्सोको प्रत्यारोपण सुरु गर्नका लागि नीतिगत र प्राविधिक तयारी भइरहेको छ। यसका लागि नीति निर्माण, क्रिटिकल केयर सर्जन, एनेस्थेसियोलोजिस्ट र कार्डियोलोजिस्टहरूको टिमलाई तालिम दिन २ देखि ३ वर्षको समय लाग्नेछ। सम्भवतः आगामी ३ देखि ५ वर्षभित्र नेपालमा मुटु प्रत्यारोपण सुरु गर्न सकिने अनुमान छ। तर यसका लागि जीवित दाता भन्दा पनि मस्तिष्क मृत्यु भएका व्यक्तिहरूबाट अङ्गदान गराउने कानुनी र सामाजिक वातावरण बनाउनु पर्छ। विदेशमा जस्तै नेपालमा पनि सवारी चालक अनुमतिपत्र वा परिचयपत्र बनाउँदा नै 'अकस्मात मस्तिष्क मृत्यु भएमा अङ्गदान गर्न मञ्जुर छ' भन्ने मञ्जुरीनामा कार्ड र राष्ट्रिय रजिस्ट्रिको व्यवस्था गर्न सकिएमा अङ्ग प्रत्यारोपण प्रक्रिया निकै सहज हुनेछ।
मुटु दिवसमा यहाँ के सन्देश दिन चाहनुहुन्छ?
विश्व मुटु महासङ्घको आह्वानमा २६औँ विश्व मुटु दिवस मनाइँदै छ। यस वर्षको मूल नारा ‘डन्ट मिस द बिट’ रहेको छ। मानव जीवनको सुरुवात र अन्त्य दुवै मुटुको धडकनसँगै हुने भएकाले मुटुको धडकन र यसका सङ्केतहरूलाई कहिल्यै बेवास्ता गर्नु हुँदैन। अचानक चक्कर लाग्नु, नाकबाट रगत बग्नु, दृष्टि धमिलो हुनु जस्ता लक्षणहरू उच्च रक्तचापका सङ्केत हुन सक्छन्। विश्वका २० वटाभन्दा कम देशहरूमा मात्र मुटु रोग रोकथामको राष्ट्रिय योजना रहेको अवस्थामा नेपालमा पनि यसबारे व्यापक जनचेतना जगाउनु आवश्यक छ। नागरिकले आफ्नो रक्तचाप र कोलेस्ट्रोलको अङ्क (नम्बर) थाहा पाउने, समयमै अस्पताल जाने, नियमित व्यायाम गर्ने, तनाव व्यवस्थापन गर्ने र खानपिनमा ध्यान दिने हो भने मुटु रोगबाट सजिलै जोगिन सकिन्छ।