ललितपुर— ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालको आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) केन्द्रमा १७ वर्षीया किशोरीको डिम्ब (अण्डाणु) निकालिएको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकी एक युवतीसँग भएको आर्थिक कारोबारको विवरण फेला परेपछि आईभीएफ विशेषज्ञ डा. नूतन शर्मामाथि पनि अनुसन्धान केन्द्रित भएको प्रहरीले जनाएको छ।
पीडित परिवारले साउन १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएपछि घटनाको अनुसन्धान सुरु भएको हो। जाहेरीका आधारमा प्रहरीले लमजुङ घर भई ललितपुरको इमाडोलमा बस्दै आएकी २१ वर्षीया राधिका गोतामेलाई पक्राउ गरेको थियो। सरकारी वकिल कार्यालयको निर्देशनपछि उनलाई हाजिर जमानीमा रिहा गरिएको भए पनि अनुसन्धान भने निरन्तर जारी रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा गोतामेको मोबाइल फोनबाट डा. नूतन शर्मा र उनीबीच भएको आर्थिक कारोबारसम्बन्धी विवरण फेला परेको छ। प्रारम्भिक अनुसन्धानमा गत डिसेम्बर २०२५ मा डा. शर्माले मोबाइल बैंकिङमार्फत गोतामेलाई दुई पटकमा ५०–५० हजार रुपैयाँ पठाएको देखिएको प्रहरीले जनाएको छ। उक्त रकमको उद्देश्य र घटनासँगको सम्बन्धबारे थप अनुसन्धान भइरहेको छ।
पीडित किशोरीले प्रहरीसमक्ष दिएको बयानअनुसार उनलाई आफ्नै साथीले "डिम्ब निकाल्दा केही हुँदैन, पैसा पनि पाइन्छ" भन्दै प्रलोभनमा पारेकी थिइन्। त्यसपछि उनलाई राधिका गोतामेको सम्पर्कमा पुर्याइएको र गोतामेमार्फत बीएण्डबी अस्पतालको आईभीएफ केन्द्रमा लगिएको उनले बताएकी छन्।
प्रहरीले घटनामा मानव अंग वा प्रजनन सामग्रीको अवैध संकलन, बिक्री–वितरण वा अन्य कानुनी उल्लङ्घन भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। हालसम्म कसैविरुद्ध अदालतबाट दोषी ठहर भएको छैन भने अनुसन्धानका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।