मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न सक्दैन। जसका कारण रगतमा निकै धेरै ग्लुकोज बन्छ।
लापरवाहीले सुगरको मात्रा बढ्न सक्ने भएकाले मधुमेहका बिरामीलाई आफ्नो आहार र खानपानमा विशेष ख्याल दिन फिजिसियन डा. भोजराज अधिकारीको सुझाव छ।
मधुमेहका बिरामीले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न र अन्य जटिलताबाट बच्न विभिन्न गल्ती गर्न नहुने उनी बताउँछन्। त्यस्ता गल्ती खानपान, औषधि र जीवनशैलीसँग सम्बन्धित रहेका छन्।
१. खानपानमा गरिने गल्तीहरू
धेरै समय भोको बस्नु: लामो समयसम्म नखाँदा सुगरको मात्रा अचानक घट्न सक्छ।
एकैपटक धेरै खाना खानु: धेरै खानाले रगतमा सुगरको मात्रा तीव्र गतिमा बढाउँछ।
कृत्रिम पेय पदार्थ पिउनु: कोक, फ्यान्टा, प्याकेटको जुस जस्ता पेय पदार्थ खानु हुँदैन।
उच्च ग्लाइसेमिक इन्डेक्स भएका फल खानु: धेरै कार्बोहाइड्रेट र गुलियो भएका फलफूल खानु गल्ती हो।
तारेको र चिल्लो खानेकुरा खानु: समोसा, पिज्जा र बर्गर जस्ता आधुनिक खानेकुरा बार्नुपर्छ।
कार्बोहाइड्रेट पूरै बन्द गर्नु: शरीरलाई आवश्यक पर्ने पोषक तत्त्व पूरै छोड्नु हुँदैन।
२. औषधि र स्वास्थ्य जाँचमा गरिने गल्तीहरू
औषधि खान आलटाल गर्नु: डाक्टरको सल्लाहबिना औषधि खान अल्छी गर्नु हुँदैन।
आफैँ औषधि थपघट गर्नु: सुगर रिपोर्ट हेरेर आफैँ औषधिको मात्रा बदल्नु घातक हुन्छ।
नियमित जाँच नगराउनु: कम्तीमा ३-३ महिनामा रगत र रक्तचाप जाँच नगराउनु गल्ती हो।
लक्षण नदेखिए जाँच नगर्नु: सुगर बढेको लक्षण नदेखिए पनि भित्रभित्रै असर गरिरहेको हुन्छ।
३. जीवनशैलीसँग सम्बन्धित गल्तीहरू
शारीरिक व्यायाम नगर्नु: बिहान हिँडडुल र व्यायाम नगर्दा सुगर नियन्त्रण हुँदैन।
तनाव र कम निद्रा: धेरै मानसिक तनाव लिँदा र कम सुत्दा सुगरको मात्रा बिग्रिन्छ।
धुम्रपान र मदिरा सेवन: यसले मुटु र मिर्गौलाको जोखिमलाई तीव्र गतिमा बढाउँछ।
खुट्टाको हेरचाह नगर्नु: सामान्य चोटपटक लाग्दा पनि बेवास्ता गर्दा घाउ निको हुन गाह्रो हुन्छ।