काठमाडौं- नेपाल आयुर्वेद चिकित्सक संघ (एडान) ले आयुर्वेद औषधिको नाममा सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत प्रसारित भइरहेका भ्रामक, अतिरञ्जित तथा गैरकानुनी स्वास्थ्यसम्बन्धी विज्ञापन तत्काल रोक्न विज्ञापन बोर्डसँग आग्रह गरेको छ।
संघका महासचिव डा. ऋषि केशव भुषाल र अध्यक्ष डा. शंकर गौतमद्वारा हस्ताक्षरित पत्रमार्फत विज्ञापन बोर्डलाई कानुनविपरीत रहेका विज्ञापनमाथि आवश्यक अध्ययन गरी तत्काल रोक लगाउन तथा हटाउन पहल गर्न अनुरोध गरिएको हो।
संघका अनुसार यसअघि सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराइएको र नेपाल प्रहरीले केही गैरकानुनी गतिविधिमाथि अनुसन्धान तथा कारबाहीसमेत गरेको भए पनि कलाकार, सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्व (इन्फ्लुएन्सर), पत्रकार, सञ्चारमाध्यम तथा डिजिटल प्लेटफर्ममार्फत यस्ता विज्ञापन अझै निरन्तर प्रसारण भइरहेको छ।
पत्रमा विशेषगरी “१०० प्रतिशत निको हुने”, “ग्यारेन्टी उपचार”, “बिना साइड इफेक्ट” जस्ता वैज्ञानिक आधारविहीन दाबी, कलाकार तथा इन्फ्लुएन्सर प्रयोग गरी औषधिको प्रचार, चिकित्सकको सिफारिस भएको झैँ देखाइने विज्ञापन, बिरामीको फोटो, भिडियो तथा व्यक्तिगत स्वास्थ्य विवरणको प्रयोग, उपचारका दृश्य सार्वजनिक गर्ने तथा औषधि व्यवस्था विभागबाट स्वीकृति नलिएका औषधिको विज्ञापन व्यापक रूपमा भइरहेको उल्लेख गरिएको छ।
संघले यस्ता गतिविधि विज्ञापन (नियमन गर्ने) ऐन, २०७६, औषधि ऐन, २०३५, उपभोक्ता संरक्षण ऐन, २०७५, गोपनीयतासम्बन्धी ऐन, २०७५ तथा स्वास्थ्य व्यवसायीहरूको पेशागत आचारसंहितासहितका प्रचलित कानुनविपरीत रहेको जनाएको छ।
संघले विज्ञापन बोर्डसँग गैरकानुनी औषधिको विज्ञापन गर्ने व्यक्ति, कलाकार, इन्फ्लुएन्सर, सञ्चारमाध्यम तथा विज्ञापन एजेन्सीमाथि कानुनबमोजिम कारबाही अघि बढाउन, बिरामीको व्यक्तिगत स्वास्थ्य विवरण विज्ञापनमा प्रयोग गर्न रोक लगाउन, स्वास्थ्यसम्बन्धी विज्ञापन प्रसारणअघि सम्बन्धित निकायको स्वीकृति सुनिश्चित गर्ने संयन्त्र विकास गर्न तथा सञ्चारमाध्यम र डिजिटल प्लेटफर्मको जिम्मेवारी स्पष्ट पार्ने निर्देशन जारी गर्न माग गरेको छ।
संघले नागरिकको स्वास्थ्य सुरक्षा, आयुर्वेद चिकित्सा प्रणालीको गरिमा तथा कानुनी शासनको संरक्षणका लागि आवश्यक सहकार्य गर्न आफू सधैं प्रतिबद्ध रहेको जनाएको छ।
यस पत्रको बोधार्थ प्रेस काउन्सिल नेपाल, चलचित्र विकास बोर्ड र नेपाल कलाकार संघलाई समेत पठाइएको छ। प्रेस काउन्सिललाई स्वास्थ्यसम्बन्धी विज्ञापन र समाचार सामग्रीमा पत्रकारको संलग्नता तथा सम्पादकीय आचारसंहिता प्रभावकारी कार्यान्वयनका लागि, चलचित्र विकास बोर्डलाई कलाकार तथा अडियो–भिजुअल सामग्रीको प्रयोगसम्बन्धी समन्वयका लागि र नेपाल कलाकार संघलाई सदस्य कलाकारलाई गैरकानुनी स्वास्थ्य तथा औषधि विज्ञापनमा संलग्न नहुन सचेत गराउन अनुरोध गरिएको छ।