नेपालमा स्वास्थ्यकर्मीमाथि हुने हिंसा र त्यसको विरोधस्वरूप अस्पतालहरूमा हुने हड्ताल तथा सेवा अवरोध पछिल्ला वर्षहरूमा बारम्बार दोहोरिने घटनाका रूपमा स्थापित हुँदै गएका छन्। कुनै अस्पतालमा बिरामीको मृत्यु भएपछि उत्पन्न तनाव, उपचारमा भएको ढिलाइप्रतिको असन्तुष्टि, वा चिकित्सकीय परिणामप्रतिको आक्रोशले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार, धम्की वा शारीरिक आक्रमणको रूप लिन्छ। त्यसपछि स्वास्थ्यकर्मीहरू आफ्नो सुरक्षा र सम्मानको माग गर्दै आन्दोलनमा उत्रन्छन्, सेवा स्थगित हुन्छ, र अन्ततः अस्पतालका ढोकामा उपचारको आशामा आएका सयौं बिरामीहरू अन्योलमा पर्छन्।
यस प्रकारका घटनाहरूले हरेक पटक एउटै प्रश्न उठाउँछन्, स्वास्थ्यकर्मी सही कि बिरामी पक्ष सही? तर, वास्तविकता यति सरल छैन। स्वास्थ्यकर्मीमाथि हुने हिंसा र अस्पताल बन्द दुवै हाम्रो स्वास्थ्य प्रणालीका गहिरा संरचनागत समस्याका अभिव्यक्ति हुन्। यसलाई कुनै एक पक्षको कमजोरी वा गल्तीमा सीमित गरेर हेर्नु समस्या समाधानभन्दा पनि समस्यालाई थप जटिल बनाउनु हो।
सबैभन्दा पहिले, स्वास्थ्यकर्मीमाथि हुने हिंसालाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन। अस्पताल उपचार, सेवा र मानवताको स्थल हो; डर, धम्की र हिंसाको होइन। कुनै चिकित्सक, नर्स, प्यारामेडिक वा अन्य स्वास्थ्यकर्मीले आफ्नो पेशागत कर्तव्य निर्वाह गरिरहेको अवस्थामा शारीरिक वा मानसिक आक्रमण भोग्नुपर्ने अवस्था सभ्य समाजका लागि लज्जाको विषय हो। हिंसाले न केवल सम्बन्धित व्यक्तिको आत्मविश्वास र मानसिक स्वास्थ्यमा असर पार्छ, यसले सम्पूर्ण स्वास्थ्य प्रणालीमा भय र असुरक्षाको वातावरण सिर्जना गर्छ।
स्वास्थ्यकर्मीमाथिको हिंसाको चर्चा गर्दा उनीहरूले काम गरिरहेको वास्तविक कार्यपरिवेशलाई पनि बुझ्न आवश्यक छ। नेपालका धेरै सरकारी अस्पतालहरूमा स्वास्थ्यसेवाको माग र उपलब्ध स्रोतबीच ठूलो खाडल छ। दैनिक सयौं बिरामीको भीड, सीमित जनशक्ति, अपर्याप्त उपकरण, औषधिको अभाव, शैयाको कमी र कमजोर पूर्वाधारबीच स्वास्थ्यकर्मीहरूले सेवा दिइरहेका छन्। कतिपय अवस्थामा एक जना चिकित्सकले केही घण्टाभित्र दर्जनौं बिरामीको जाँच गर्नुपर्ने हुन्छ। आपत्कालीन कक्षमा बिरामीहरूको लामो लाइन, शल्यक्रियाका लागि महिनौंसम्मको पर्खाइ र अत्यधिक प्रशासनिक जिम्मेवारीले स्वास्थ्यकर्मीहरूलाई निरन्तर दबाबमा राखेको छ।
स्वास्थ्यकर्मीहरूको धर्म भनेको आफ्नो ज्ञान, सीप तथा बिबेक प्रयोग गरेर बिरामीको उपचार गर्नु भए पनि उनीहरू अन्ततः मानिस नै हुन्। उनीहरूलाई पनि थकान हुन्छ, उनीहरू पनि मानसिक तनावबाट गुज्रन्छन्, र उनीहरूको पनि परिवार तथा व्यक्तिगत जीवन हुन्छ। विश्वभरि स्वास्थ्य क्षेत्रमा “बर्नआउट” अर्थात् दीर्घकालीन मानसिक, भावनात्मक र शारीरिक थकान गम्भीर समस्याका रूपमा देखापरेको छ, र नेपाल पनि यसबाट अछुतो छैन।
बर्नआउटको असर केवल स्वास्थ्यकर्मीको व्यक्तिगत जीवनमा मात्र सीमित हुँदैन; यसले स्वास्थ्य सेवाको गुणस्तरमा पनि प्रभाव पार्न सक्छ। थकित, तनावग्रस्त र निरन्तर दबाबमा रहेका स्वास्थ्यकर्मीबाट अपेक्षित स्तरको सेवा लिन कठिन हुन सक्छ। यसर्थ, स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानको कुरा गर्दा सुरक्षित कार्यस्थल, पर्याप्त जनशक्ति, उचित कार्यसमय, आवश्यक उपकरण तथा मानसिक स्वास्थ्य सहयोगको विषयलाई सँगै उठाउनुपर्छ।
यद्यपि, यस बहसको अर्को पक्ष पनि उत्तिकै महत्त्वपूर्ण छ, बिरामी र उनका परिवारजनको अनुभव। अकस्मात बिरामीको मृत्यु अत्यन्त पीडादायी र दुःखद घटना हो।अस्पतालमा आउने अधिकांश मानिसहरू खुशी भएर आएका हुँदैनन्। उनीहरू कुनै न कुनै पीडा, चिन्ता, आर्थिक बोझ र अनिश्चिततासँग संघर्ष गरिरहेका हुन्छन्। कसैले आफ्नो प्रियजनलाई गुमाउने डर बोकेको हुन्छन् , कसैले उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ता गरिरहेको हुन्छन्, त कसैले अन्तिम आशाका रूपमा अस्पतालको ढोका ढकढकाइरहेको हुन्छन्। तर हरेक मृत्युलाई चिकित्सक, स्वास्थ्यकर्मी वा अस्पतालको लापरवाहीसँग मात्र जोड्नु तर्कसंगत हुँदैन। गम्भीर रोग, आकस्मिक अवस्था तथा उपचारका सीमितताका कारण पनि कहिलेकाहीँ जीवन बचाउन असम्भव हुन सक्छ।
यस्तो अवस्थामा यदि बिरामी वा उनका परिवारले समयमै जानकारी पाएनन्, उपचार प्रक्रियाबारे स्पष्ट रूपमा बुझ्न सकेनन्, वा स्वास्थ्यकर्मीबाट असंवेदनशील व्यवहार महसुस गरे भने उनीहरूको असन्तुष्टि बढ्न सक्छ। धेरै अध्ययनहरूले देखाएका छन् कि स्वास्थ्य क्षेत्रमा हुने अधिकांश विवादको जडमा चिकित्सकीय त्रुटिभन्दा पनि कमजोर सञ्चार हुन्छ। “उपचार भइरहेको छ” भन्ने एउटा वाक्य र “हामीले उपलब्ध स्रोतभित्र रहेर सक्दो प्रयास गरिरहेका छौं, तर बिरामीको अवस्था जटिल छ” भन्ने संवादबीच ठूलो अन्तर हुन्छ।
नेपालमा स्वास्थ्य शिक्षामा क्लिनिकल दक्षतालाई प्राथमिकता दिइए पनि बिरामी र उनीहरुका आफन्त संग गर्नुपर्ने संचार सीप,समानुभूति, करुणा र द्वन्द्व व्यवस्थापनलाई पर्याप्त महत्व दिइएको देखिँदैन। बिरामीसँग सम्मानजनक संवाद गर्न सक्ने क्षमता पनि एउटा महत्वपूर्ण व्यावसायिक सीप हो। कुनै बिरामीको अवस्था बिग्रिन सक्छ, उपचार सफल नहुन सक्छ, तर यदि सम्पूर्ण प्रक्रियामा पारदर्शिता, सम्मान र नियमित संवाद कायम रह्यो भने तनावपूर्ण अवस्था धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ।
यसै सन्दर्भमा स्वास्थ्य सेवाको गुणस्तर र जवाफदेहिताको प्रश्नलाई पनि बेवास्ता गर्न मिल्दैन। स्वास्थ्यकर्मीमाथिको हिंसाको विरोध गर्दा स्वास्थ्य सेवामा रहेका कमजोरी, लापरवाही वा बिरामीको अधिकारका विषयहरू छायाँमा पर्नु हुँदैन। कुनै पनि पेशामा जस्तै स्वास्थ्य क्षेत्रमा पनि व्यावसायिक नैतिकता, जवाफदेहिता र निरन्तर गुणस्तर सुधार अपरिहार्य छन्। बिरामीलाई समयमै जानकारी दिने, गुनासो सुन्ने र आवश्यक पर्दा निष्पक्ष छानबिन गर्ने संयन्त्रहरू प्रभावकारी हुनुपर्छ।
नेपालमा विवाद समाधानका संस्थागत संयन्त्रहरू कमजोर छन्। धेरै अस्पतालहरूमा बिरामी वा आफन्तले आफ्ना गुनासा व्यवस्थित रूपमा राख्न सक्ने प्रभावकारी प्रणाली छैन। फलस्वरूप, असन्तुष्टि जम्मा हुँदै जान्छ र अन्ततः आक्रोशको रूप लिन्छ। त्यसैले हिंसालाई केवल कानुनी वा सुरक्षाको मुद्दा भनेर मात्र बुझ्नु पर्याप्त हुँदैन; यो विश्वासको संकट पनि हो।
अर्कोतर्फ, स्वास्थ्यकर्मीमाथि हिंसा भएपछि अस्पताल बन्द गर्ने वा सेवा स्थगित गर्ने अभ्यासले पनि गम्भीर नैतिक प्रश्न उठाउँछ। स्वास्थ्यकर्मीहरूलाई आन्दोलन गर्ने, असुरक्षाविरुद्ध आवाज उठाउने र सुरक्षित कार्यस्थलको माग गर्ने अधिकार छ। तर जीवनरक्षक सेवामा अवरोध पुर्याउने निर्णयले सबैभन्दा बढी असर कसलाई गर्छ भन्ने प्रश्न पनि त्यत्तिकै महत्वपूर्ण छ।
नेपालमा अधिकांश स्वास्थ्यकर्मी आन्दोलनहरू सरकारी अस्पतालहरूमा केन्द्रित हुने गरेका छन्। सरकारी अस्पतालहरू ती स्थान हुन् जहाँ आर्थिक रूपमा कमजोर र सीमान्तकृत नागरिक उपचारका लागि निर्भर हुन्छन्। निजी अस्पतालमा उपचार गर्न सक्ने आर्थिक क्षमता भएका मानिसहरूले विकल्प खोज्न सक्छन्; तर दैनिक ज्यालादारी गर्ने मजदुर, ग्रामीण क्षेत्रबाट आएका बिरामी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति वा दीर्घरोगीहरू कहाँ जाने?
कल्पना गरौं- डायलाइसिसका लागि समयमै अस्पताल पुग्नुपर्ने बिरामी, शल्यक्रियाको मिति पर्खिरहेका परिवार, नियमित क्यान्सर उपचार गराइरहेका व्यक्ति, वा सुत्केरी हुन अस्पताल पुगेकी महिला। अस्पतालमा सेवा अवरुद्ध हुँदा उनीहरूको विकल्प के हुन्छ? उनीहरूका लागि अस्पताल बन्द हुनु केवल असुविधा होइन; यो जीवन र मृत्युबीचको प्रश्न बन्न सक्छ।
धेरै देशहरूमा स्वास्थ्यकर्मीहरूले आन्दोलन गर्दा पनि आकस्मिक सेवा, सघन उपचार, प्रसूति सेवा र अन्य अत्यावश्यक सेवाहरू निरन्तर सञ्चालनमा राख्ने व्यवस्था गरिन्छ। नेपालमा पनि विरोधका वैकल्पिक र सिर्जनात्मक माध्यमहरूबारे गम्भीर रूपमा सोच्नुपर्ने समय आएको छ। कालोपट्टी बाँधेर काम गर्ने, सांकेतिक विरोध गर्ने, प्रशासनिक सेवाहरू सीमित गर्ने वा निश्चित समयका लागि दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने बारे सोच्नु पर्छ। एक्कासी सबै सेवा ठप्प पार्दा जनमानसमा नकारात्मक प्रभाव पर्छ।
राज्यको भूमिका यहाँ सबैभन्दा महत्वपूर्ण छ। स्वास्थ्यकर्मी र बिरामीलाई आमनेसामने उभ्याएर राज्य आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन। पर्याप्त बजेट विनियोजन, जनशक्ति व्यवस्थापन, उपकरणको उपलब्धता, स्वास्थ्य पूर्वाधारको सुदृढीकरण र सुरक्षित कार्यस्थलको सुनिश्चितता राज्यको दायित्व हो। साथै, स्वास्थ्य संस्थाहरूमा गुनासो व्यवस्थापन प्रणाली, जोखिम सञ्चार, मध्यस्थता संयन्त्र तथा स्वास्थ्यकर्मीका लागि मानसिक स्वास्थ्य सहयोग कार्यक्रमहरू पनि विकास गरिनुपर्छ।
त्यस्तै, स्वास्थ्य सेवाप्रति समाजको अपेक्षा र स्वास्थ्य प्रणालीको वास्तविक क्षमताबीच पनि सन्तुलन आवश्यक छ। आधुनिक चिकित्सा विज्ञानले धेरै उपलब्धि हासिल गरे पनि यसले सबै रोग निको पार्न सक्दैन, न त प्रत्येक बिरामीलाई बचाउन नै सक्छ। यो यथार्थलाई समाजले बुझ्नुपर्छ। अर्कोतर्फ, स्वास्थ्य संस्थाहरूले पनि “हामीले सबै गरिरहेका छौं” भन्ने एकपक्षीय दृष्टिकोणबाट बाहिर निस्केर पारदर्शिता, उत्तरदायित्व र सहानुभूतिलाई संस्थागत संस्कृतिको हिस्सा बनाउनुपर्छ।
अन्ततः, स्वास्थ्यकर्मीमाथिको हिंसा र अस्पताल बन्द दुवै असफल स्वास्थ्य प्रणालीका संकेत हुन्। एकातिर असुरक्षित, थकित र स्रोतविहीन स्वास्थ्यकर्मी छन्; अर्कोतिर पीडा, चिन्ता र आश्रयको खोजीमा रहेका बिरामीहरू। यी दुवै पक्षहरू प्रतिद्वन्द्वी होइनन्, बरु एउटै कमजोर प्रणालीका फरक–फरक पीडित हुन्।
तर, यो बहसको अन्तिम र सबैभन्दा महत्वपूर्ण पक्ष भने अर्को छ। जब सरकारी अस्पतालहरू बन्द हुन्छन्, त्यसको सबैभन्दा ठूलो मूल्य समाजका सबैभन्दा कमजोर नागरिकहरूले चुकाउँछन्। उनीहरू, जो पहिले नै आर्थिक, सामाजिक र भौगोलिक रूपमा पछाडि छन्, प्रत्येक हड्तालसँगै अझ बढी वञ्चित हुन्छन्। उनीहरूको आवाज प्रायः सुनिँदैन, उनीहरूको पीडा समाचारको शीर्षक बन्दैन, र उनीहरूको विकल्प पनि हुँदैन।
सुरक्षित, सम्मानित र भयमुक्त वातावरणमा मात्र स्वास्थ्यकर्मीले आफ्नो ज्ञान, सीप र अनुभवलाई प्रयोग गरी बिरामीको जीवन बचाउन सक्दो प्रयास गर्न सक्छन्। त्यसैले उपचार वा घटनाबारे शंका वा गुनासो भए कानुनी प्रक्रिया र छानबिनको बाटो रोजिनुपर्छ, हिंसाको होइन। स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई सुरक्षित राख्नु अनिवार्य छ—किनकि स्वास्थ्यकर्मी सुरक्षित भए मात्र बिरामीको उपचार सुरक्षित हुन्छ।
यदि स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्दा बिरामी उपचारबाट वञ्चित हुन्छन्, वा बिरामीको असन्तुष्टिको समाधान खोज्दा स्वास्थ्यकर्मी असुरक्षित हुन्छन् भने हामीले समस्या समाधानको बाटोबारे छलफल र बहसनै गरेका छैनौं। नेपाललाई आज आवश्यक परेको कुरा दोषारोपण होइन, संवाद हो; द्वन्द्व होइन, विश्वासको पुनर्निर्माण हो। स्वास्थ्यकर्मी सुरक्षित हुनुपर्छ, बिरामीले गुणस्तरीय र सम्मानजनक सेवा पाउनुपर्छ, र अस्पतालहरू संकटका बेला पनि खुला रहनुपर्छ। किनभने अन्ततः सरकारी अस्पतालका ढोकाहरू बन्द हुँदा सबैभन्दा ठूलो पीडा त्यही मानिसले भोग्छ, जससँग अर्को ढोका ढकढकाउने कुनै विकल्प हुँदैन।
(सुवेदी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक तथा जनस्वास्थ्य संकायका पूर्वप्रमुख हुन्।)