नेपालमा आधुनिक स्वास्थ्य सेवाको इतिहास लेख्ने हो भने त्यसको पहिलो पाना वीर अस्पतालबाट सुरु हुन्छ। आज देशभर फैलिएको स्वास्थ्य सेवा प्रणाली, विशेषज्ञ चिकित्सा, चिकित्सा शिक्षा र अनुसन्धानको जग बसाल्ने संस्थाका रूपमा वीर अस्पतालको नाम इतिहासमा स्वर्णाक्षरले अंकित छ। १३७ वर्षभन्दा लामो यात्रामा यो अस्पतालले बिरामीको उपचार मात्र गरेन, आधुनिक चिकित्सा प्रणालीको विकास, विशेषज्ञ चिकित्सक उत्पादन र स्वास्थ्य नीतिको आधार निर्माणमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको छ।
वि.सं. १९४७ मा तत्कालीन प्रधानमन्त्री वीरशमशेर जंगबहादुर राणाको पहलमा स्थापना भएको वीर अस्पताल प्रारम्भमा सात शय्याको थियो। त्यतिबेला त्यहाँ जम्मा पाँच कर्मचारी कार्यरत थिए। सीमित स्रोत र साधनबीच सुरु भएको यही संस्था आज करिब एक हजार शय्यासहित देशकै सबैभन्दा ठूलो तथा विशिष्टीकृत सरकारी अस्पतालका रूपमा स्थापित छ।
वीर अस्पतालको इतिहास नेपालको स्वास्थ्य क्षेत्रको विकासक्रमसँग अभिन्न रूपमा जोडिएको छ। नेपालमा आधुनिक चिकित्साको अभ्यास, विशेषज्ञ सेवाको विस्तार, जटिल शल्यक्रिया, अत्याधुनिक परीक्षण प्रविधि तथा विशेषज्ञ चिकित्सक उत्पादनको अधिकांश यात्रा यही अस्पतालबाट सुरु भएको हो। त्यसैले वीर अस्पताल एउटा स्वास्थ्य संस्था मात्र होइन, यो नेपालको आधुनिक स्वास्थ्य प्रणालीको आधारशिला हो।
आधुनिक चिकित्साको प्रारम्भिक केन्द्र
नेपालमा न्युरोसर्जरी सेवा सुरु गर्ने, सिटी स्क्यान प्रविधि भित्र्याउने तथा आधुनिक कार्डियोलोजीका महत्वपूर्ण सेवा— जस्तै एन्जियोग्राफी, क्याथल्याब र मुटुको भल्भ प्रतिस्थापन—सुरु गर्ने पहिलो सरकारी संस्था वीर अस्पताल नै हो। यस्ता उपलब्धिहरूले यो अस्पताललाई उपचार केन्द्र मात्र होइन, चिकित्सा नवप्रवर्तनको केन्द्रका रूपमा पनि स्थापित गरेका छन्।
डा. मृगेन्द्रराज पाण्डे, डा. अञ्जनी कुमार शर्मा, डा. दिनेशनाथ गोङ्गल, डा. सावित्री गुरुङ, डा. दिव्यश्री मल्ल, डा. सुदीप कुमार भट्टाचार्य, डा. मोहिन शाह, डा. पुष्कर सत्याल, डा. ईश्वरलाल आचार्य, डा. ध्रुवलाल सिंह, डा. डम्बरबहादुर कार्की, डा. सच्चेकुमार पहाडी, डा. धर्मशरण मानन्धर, डा. रामप्रसाद पोखरेल, डा. यन्तमणि प्रधान, डा. राम भद्र अडिगा, डा. एल.एन. प्रसाद, डा. जे.पी. रिजाल, डा. ज्वालाराज पाण्डे, डा. वसन्तलाल श्रेष्ठ, डा. गोपाल आचार्य, डा. हेमाङ्ग दीक्षित, डा. शंकरबहादुर श्रेष्ठ, डा. एन.बी. अमात्य, डा. लक्ष्मण पौडेल, डा. दामोदरप्रसाद पोखरेलले यही अस्पतालबाट आफ्नो स्वास्थ्य सेवा प्रदान सुरु गरेका थिए। यी चिकित्सकहरूले नेपालको आधुनिक चिकित्सा प्रणाली निर्माणमा ऐतिहासिक योगदान दिएका छन्। उनीहरूको नेतृत्वले वीर अस्पताललाई देशको प्रमुख रेफरल अस्पतालका रूपमा विकास गरायो।
एक समय यस्तो पनि थियो, जब तत्कालीन शाही परिवारदेखि सर्वसाधारण नागरिकसम्म सबैका लागि वीर अस्पताल नै भरोसाको केन्द्र थियो। त्यसैले यो अस्पतालले केवल स्वास्थ्य सेवा दिएको छैन, नेपाली समाजको स्वास्थ्य इतिहास निर्माण गरेको छ।
उपचारसँगै शिक्षा र अनुसन्धानको आधार
वीर अस्पतालको अर्को महत्वपूर्ण परिचय चिकित्सा शिक्षासँग जोडिएको छ। उपचार र शिक्षालाई सँगसँगै अघि बढाउने अवधारणा नेपालमा संस्थागत रूपमा स्थापित गर्ने अग्रणी संस्था पनि यही हो।
कम्पाउन्डर तालिमदेखि सुरु भएको स्वास्थ्य शिक्षा क्रमशः मध्यस्तरका स्वास्थ्यकर्मी, नर्सिङ शिक्षा, स्वास्थ्य सहायक र चिकित्सक उत्पादनसम्म विस्तार भयो। वि.सं. २०१३ मा नर्सिङ शिक्षा सुरु हुनु र त्यसको केही वर्षपछि सिभिल मेडिकल स्कुल स्थापना हुनु नेपालमा स्वास्थ्य जनशक्ति उत्पादनको ऐतिहासिक सुरुआत थियो। नर्सिङ स्कुलकी प्रमुख श्रीमती रुपकुमारी गुरुङ थिइन्।
पछि त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानका विद्यार्थीहरूको क्लिनिकल प्रशिक्षणको प्रमुख केन्द्र पनि वीर अस्पताल नै बन्यो। यसले उपचार र शिक्षालाई एउटै प्रणालीमा जोड्दै नेपालको चिकित्सा शिक्षाको विकासलाई गति दियो।
न्याम्सको जन्म
समयसँगै विशेषज्ञ चिकित्सकको आवश्यकता बढ्दै गयो। तर नेपालमै स्नातकोत्तर चिकित्सा शिक्षा उपलब्ध नहुँदा दक्ष चिकित्सक उत्पादनमा चुनौती देखियो। यही आवश्यकतालाई सम्बोधन गर्न विभिन्न अस्पतालको सहकार्यमा स्नातकोत्तर चिकित्सा शिक्षा समन्वय समितिको स्थापना भयो। त्यसैको आधारमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको अवधारणा अघि बढ्यो।
वि.सं. २०६३ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन जारी भएपछि न्याम्सले औपचारिक रूप लियो र वीर अस्पताल यसको प्रमुख शिक्षण अस्पतालका रूपमा स्थापित भयो। त्यसयता न्याम्सले चिकित्सा शिक्षा, अनुसन्धान र विशिष्टीकृत स्वास्थ्य सेवालाई एउटै छातामुनि विकास गर्दै नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ युगको सुरुआत गरेको छ।
आज न्याम्सले स्नातकोत्तरदेखि सुपर–स्पेशालिटी तहसम्मका दर्जनौँ शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ। हजारौँ विशेषज्ञ चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी उत्पादन गर्दै आएको यो प्रतिष्ठानले नेपाल मात्र होइन, दक्षिण एसियाका विभिन्न देशका विद्यार्थीलाई समेत चिकित्सा शिक्षा प्रदान गर्दै अन्तर्राष्ट्रिय पहिचान बनाएको छ।
वीर अस्पतालको ऐतिहासिक विरासतलाई संस्थागत रूप दिने प्रयासस्वरूप स्थापना भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान आज नेपालको चिकित्सा शिक्षा, विशेषज्ञ स्वास्थ्य सेवा र अनुसन्धानको प्रमुख केन्द्र बनेको छ। स्थापना कालमा स्नातकोत्तर चिकित्सा शिक्षा विस्तार गर्ने उद्देश्य बोकेको प्रतिष्ठानले अहिले आफ्नो कार्यक्षेत्रलाई चिकित्सा शिक्षादेखि अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य, अनुसन्धान र स्वास्थ्य सेवासम्म विस्तार गरिसकेको छ।
नेपालमा विशेषज्ञ चिकित्सकको अभावलाई कम गर्ने उद्देश्यले सुरु भएको यो यात्रा अहिले हजारौँ विशेषज्ञ चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी उत्पादन गर्ने राष्ट्रिय अभियानमा परिणत भएको छ। यसको प्रत्यक्ष प्रभाव देशका दुर्गम जिल्लासम्म पुगेको स्वास्थ्य जनशक्तिमा देखिन्छ।
विशेषज्ञ जनशक्ति उत्पादनको मेरुदण्ड
न्याम्सले हाल MD/MS/MDS, DM/MCh, नर्सिङ, मेडिकल इमेजिङ, मेडिकल ल्याब, एनेस्थेसिया असिस्टेन्ट, स्पिच एन्ड ल्याङ्ग्वेज प्याथोलोजीलगायतका दर्जनौँ शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ। चालु शैक्षिक वर्षमा मात्रै ७२ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन्, जहाँ एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। २०८१/८२ सम्म प्रतिष्ठानले ३,६६० भन्दा बढी विशेषज्ञ स्वास्थ्य जनशक्ति उत्पादन गरिसकेको छ, जसमा १३६ जना विदेशी विद्यार्थी पनि छन्।
भारत, भुटान, श्रीलङ्का, माल्दिभ्स, म्यानमार, इस्ट टिमोर, कम्बोडिया, एरिट्रिया र पोर्चुगललगायतका देशका विद्यार्थीलाई शिक्षा प्रदान गर्नु न्याम्सको अन्तर्राष्ट्रिय विश्वसनीयताको संकेत हो। यसले नेपालको चिकित्सा शिक्षालाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्ने अवसर पनि सिर्जना गरेको छ।
न्याम्सको अर्को महत्वपूर्ण उपलब्धि भनेको देशभरका अस्पतालसँग विकसित शैक्षिक सञ्जाल हो। सुरुमा केही अस्पतालमा सीमित रहेको आबद्धता अहिले २४ वटा अस्पतालसम्म विस्तार भएको छ। यसले विशेषज्ञ शिक्षा काठमाडौं केन्द्रित नबनाई प्रदेशसम्म पुर्याउने आधार तयार गरेको छ।
सेवा विस्तार भयो, तर चाप अझै बढी
वीर अस्पताल अहिले ९६० शय्याबाट सेवा दिइरहेको छ भने राष्ट्रिय ट्रमा सेन्टरमार्फत थप २२० शैयामा दुर्घटना तथा हाडजोर्नीसम्बन्धी विशिष्टीकृत सेवा उपलब्ध गराइँदै आएको छ। अस्पतालमा २६ विभाग, ३९ वार्ड तथा विभिन्न विशिष्टीकृत उपचार कक्ष सञ्चालनमा छन्।
तर सेवा विस्तारसँगै बिरामीको चाप पनि अस्वाभाविक रूपमा बढेको छ। स्वास्थ्य बीमा कार्यक्रम विस्तार, प्रदेशबाट रेफर हुने बिरामीको सङ्ख्या वृद्धि, निजी अस्पतालको महँगो उपचार र बढ्दो नसर्ने रोगका कारण वीर अस्पतालमा दैनिक हजारौँ बिरामी पुग्ने गरेका छन्। परिणामस्वरूप ओपीडी, आकस्मिक कक्ष, शल्यक्रिया, प्रयोगशाला र इमेजिङ सेवामा लामो प्रतीक्षा अहिले नियमित समस्या बनेको छ।
यही कारणले वीर अस्पतालको चुनौती सेवा विस्तारभन्दा बढी सेवा व्यवस्थापनको देखिन्छ।
वीर अस्पतालको गौरवशाली इतिहास आफैँमा ठूलो सम्पत्ति हो। तर वर्तमान स्वास्थ्य प्रणालीमा इतिहास मात्र पर्याप्त हुँदैन। स्वास्थ्य सेवाको गुणस्तर बिरामीले अस्पताल प्रवेश गरेको पहिलो क्षणदेखि महसुस गर्नुपर्छ।
आज पनि अस्पतालमा सरसफाइ, सूचना प्रणाली, टिकट व्यवस्थापन, औषधि उपलब्धता, शौचालय, पार्किङ, डिजिटल सेवा, उपकरण सञ्चालन, शल्यक्रियाको पालो, स्वास्थ्यकर्मीको व्यवहार र प्रशासनिक प्रक्रियाका विषयमा सेवाग्राहीबाट बारम्बार गुनासा आउने गरेका छन्।
यी समस्या कुनै एक व्यक्तिको कमजोरी होइनन्। ती संस्थागत व्यवस्थापन, दीर्घकालीन योजना, जनशक्ति व्यवस्थापन र सुशासनसँग प्रत्यक्ष सम्बन्धित छन्। त्यसैले सुधार पनि व्यक्तिमुखी नभई प्रणालीमुखी हुनुपर्छ।
नयाँ रोडम्याप
नेपालको स्वास्थ्य प्रणाली अहिले नयाँ मोडमा उभिएको छ। नसर्ने रोग, क्यान्सर, मिर्गौला रोग, मानसिक स्वास्थ्य समस्या, ज्येष्ठ नागरिकको बढ्दो संख्या, सडक दुर्घटना र जलनजस्ता चुनौतीले विशिष्टीकृत स्वास्थ्य सेवाको माग तीव्र बनाएको छ।
यस्तो अवस्थामा देशकै पहिलो अस्पताल र सबैभन्दा ठूलो स्वायत्त चिकित्सा प्रतिष्ठानका रूपमा न्याम्सले आफ्नो भूमिका अझ फराकिलो बनाउनुपर्ने देखिन्छ। उपचार मात्र होइन, अनुसन्धान, डिजिटल स्वास्थ्य सेवा, कृत्रिम बुद्धिमत्ताको प्रयोग, टेलिमेडिसिन, अन्तर्राष्ट्रिय सहकार्य र उच्चस्तरीय चिकित्सा शिक्षामा नेतृत्व गर्ने संस्थाका रूपमा विकास हुन सके मात्रै यसको ऐतिहासिक विरासतले नयाँ अर्थ पाउनेछ।
यसका लागि दुवाकोटमा प्रस्तावित १,५०० शैयाको अत्याधुनिक अस्पताल, मेडिकल कलेज, अनुसन्धान केन्द्र र स्वास्थ्य विश्वविद्यालयको अवधारणा अब केवल घोषणामा सीमित रहनु हुँदैन। ती योजनालाई समयबद्ध रूपमा कार्यान्वयन गर्न सकियो भने वीर अस्पतालले आगामी सय वर्षको स्वास्थ्य इतिहास पनि नेतृत्व गर्न सक्छ।
१३७ वर्षअघि सात शय्याबाट सुरु भएको संस्थाले आज हजारौँ बिरामीको जीवन बचाइरहेको छ। यो उपलब्धि सामान्य होइन। तर इतिहासको गौरवले मात्र भविष्य सुरक्षित गर्दैन। सुशासन, गुणस्तरीय सेवा, पारदर्शी व्यवस्थापन, अनुसन्धानमा लगानी र बिरामी केन्द्रित प्रणाली निर्माण गर्न सकिएमा मात्रै वीर अस्पताल र न्याम्सले आफूलाई दक्षिण एसियाकै उत्कृष्ट शैक्षिक तथा विशिष्टीकृत स्वास्थ्य संस्थाका रूपमा स्थापित गर्न सक्नेछन्।
सुधारको पर्खाइमा वीर अस्पताल: समस्या कहाँ, समाधान के?
१३७ वर्षको इतिहास बोकेको वीर अस्पताल आज पनि लाखौँ नेपालीको अन्तिम भरोसाको अस्पताल हो। निजी अस्पतालको महँगो उपचार धान्न नसक्ने, जिल्ला अस्पतालबाट रेफर भएका तथा जटिल रोगसँग जुधिरहेका बिरामीहरूको पहिलो रोजाइ यही अस्पताल हो। तर उपचारको आशा बोकेर राजधानी आइपुगेका धेरै बिरामीका लागि अस्पतालभित्रको अनुभव भने सधैँ सहज हुँदैन।
अस्पतालको व्यवस्थापन, सेवा प्रवाह र पूर्वाधारसँग सम्बन्धित समस्याहरू वर्षौंदेखि दोहोरिँदै आएका छन्। यी समस्याले केवल बिरामीलाई असहज बनाएका छैनन्, अस्पतालप्रतिको सार्वजनिक विश्वासमाथि पनि प्रश्न उठाइरहेका छन्।
वीर अस्पतालको मुख्य प्रवेशद्वारबाट सुरु हुने बिरामीको यात्रा धेरैका लागि उपचारभन्दा बढी व्यवस्थापनसँगको संघर्षजस्तो हुन्छ। टिकट लिन लामो लाइन, कुन विभागमा जाने भन्ने अन्योल, डिजिटल सूचना प्रणालीको अभाव र अत्यधिक भीडका कारण पहिलो चरणमै बिरामी र उनका आफन्त थाक्ने अवस्था छ।
यद्यपि पछिल्ला वर्षमा अनलाइन टिकटिङ र डिजिटल सेवाको सुरुआत भएको छ, त्यसको प्रभाव अझै सीमित छ। अधिकांश सेवाग्राही प्रत्यक्ष लाइनमै निर्भर छन्। विशेषज्ञहरूका अनुसार अस्पतालले पूर्ण डिजिटल टोकन प्रणाली, स्पष्ट मार्गचित्र, पर्याप्त काउन्टर र प्रशिक्षित सहायता डेस्क सञ्चालन गर्न सके सेवा प्रवाहमा उल्लेखनीय सुधार आउन सक्छ।
विश्व स्वास्थ्य संगठनले अस्पतालको सरसफाइलाई उपचारको अभिन्न हिस्सा मानेको छ। तर वीर अस्पतालमा शौचालयको अवस्था, फोहोर व्यवस्थापन, खानेपानीको उपलब्धता र परिसरको नियमित सरसफाइबारे सेवाग्राहीबाट निरन्तर गुनासा आउने गरेका छन्।
संक्रमण नियन्त्रणका दृष्टिले पनि यो विषय अत्यन्त संवेदनशील हो। अस्पतालभित्रको वातावरण उपचारमैत्री बनाउन नियमित अनुगमन, आधुनिक सरसफाइ उपकरणको प्रयोग, गुणस्तरीय सफाइ सामग्री र स्पष्ट जिम्मेवारी निर्धारण अपरिहार्य देखिन्छ।
वीर अस्पतालमा सबैभन्दा धेरै सुनिने गुनासोमध्ये एउटा हो-अपरेसनको पालो।
कतिपय बिरामीले शल्यक्रियाका लागि महिनौँसम्म कुर्नुपर्ने अवस्था रहेको बताउँछन्। यसले रोग जटिल बनाउने मात्र होइन, आर्थिक र मानसिक दबाब पनि बढाउँछ। विशेषज्ञहरूको धारणा छ कि सञ्चालन कक्षको पूर्ण उपयोग, अतिरिक्त शिफ्ट सञ्चालन, जनशक्ति व्यवस्थापन र उपकरणको नियमित मर्मतले प्रतीक्षा समय उल्लेखनीय रूपमा घटाउन सक्छ।
वीर अस्पतालमा उपलब्ध हुनुपर्ने केही औषधि, सर्जिकल सामग्री तथा परीक्षण सामग्री बाहिरबाट खरिद गर्नुपर्ने अवस्था रहेको गुनासो बारम्बार उठ्ने गरेको छ।
यदि अस्पतालमै उपलब्ध हुनुपर्ने सेवा वा सामग्री बिरामीले बाहिर खोज्नुपर्छ भने त्यसले अतिरिक्त आर्थिक भार मात्र थप्दैन, पारदर्शिता र सुशासनबारे पनि प्रश्न उठाउँछ।
त्यसैले औषधि आपूर्ति प्रणाली, खरिद प्रक्रिया, फार्मेसी व्यवस्थापन र उपकरण सञ्चालनलाई पूर्ण पारदर्शी तथा प्रविधिमैत्री बनाउनु समयको माग हो।
उपचार केवल औषधि वा शल्यक्रिया होइन। बिरामीसँग गरिने व्यवहार पनि उपचारको महत्वपूर्ण पक्ष हो।
धेरै सेवाग्राहीले केही अवस्थामा कर्मचारीको असहयोगी व्यवहार, पर्याप्त जानकारी नपाउने समस्या तथा सूचना अभावको अनुभव सुनाउने गरेका छन्। यद्यपि हजारौँ बिरामीलाई सीमित जनशक्तिले सेवा दिनुपर्ने दबाब पनि वास्तविकता हो।
त्यसैले समाधान दोषारोपणमा होइन, सेवामुखी संस्थागत संस्कृति निर्माणमा छ। नियमित प्रशिक्षण, उत्तरदायित्व, कार्यसम्पादन मूल्याङ्कन र सेवाग्राहीको गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन सकियो भने अस्पतालको सार्वजनिक छवि पनि सुदृढ हुनेछ।
वीर अस्पतालका चुनौतीहरू पूर्वाधार वा बजेटमा मात्र सीमित छैनन्। खरिद प्रक्रिया, सेवा व्यवस्थापन, मानव संसाधन, अनुसन्धान, प्रशासनिक निर्णय र वित्तीय अनुशासनलाई लिएर समय–समयमा प्रश्न उठ्दै आएका छन्।
अस्पताललाई पारदर्शी, जवाफदेही र प्रविधिमैत्री संस्थामा रूपान्तरण गर्न सकिए मात्रै सुधारका अन्य सबै योजना प्रभावकारी बन्न सक्छन्। ई–प्रोक्योरमेन्ट, डिजिटल मेडिकल रेकर्ड, आन्तरिक लेखापरीक्षण, स्वतन्त्र अनुगमन र सार्वजनिक उत्तरदायित्वलाई संस्थागत गर्नुपर्ने आवश्यकता स्पष्ट देखिन्छ।
वीर अस्पतालको भविष्य नयाँ भवनले मात्र बदलिँदैन। परिवर्तन तब हुन्छ, जब बिरामी अस्पताल प्रवेश गरेको क्षणदेखि उपचार सकेर घर फर्किएसम्मको सम्पूर्ण अनुभव सहज, सुरक्षित र सम्मानजनक हुन्छ।
सरसफाइदेखि शल्यक्रिया, औषधिदेखि सूचना प्रणाली, चिकित्सकदेखि प्रशासन र अनुसन्धानदेखि सुशासनसम्मका सबै सुधारको केन्द्रमा बिरामी हुनुपर्छ। यही दृष्टिकोणले मात्र वीर अस्पताललाई आधुनिक, विश्वासिलो र अन्तर्राष्ट्रिय स्तरको सार्वजनिक अस्पतालमा रूपान्तरण गर्न सक्छ।
दुवाकोटदेखि स्वास्थ्य विश्वविद्यालयसम्म
वीर अस्पतालको इतिहास गौरवशाली छ, वर्तमान चुनौतीपूर्ण छ र भविष्य सम्भावनाले भरिएको छ। यही त्रिकोणबीच उभिएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले अब केवल विगतको उपलब्धिमा गर्व गर्ने होइन, आगामी पुस्ताका लागि नयाँ स्वास्थ्य इतिहास निर्माण गर्ने जिम्मेवारी पनि वहन गर्नुपर्ने बेला आएको छ।
नेपाल सरकारले आगामी आर्थिक वर्षदेखि न्याम्सलाई अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य विश्वविद्यालयका रूपमा विकास गर्ने लक्ष्य अघि सारेको छ। यदि यो लक्ष्य योजनामै सीमित नरही कार्यान्वयनमा पुग्यो भने यसले नेपालको चिकित्सा शिक्षा, अनुसन्धान र विशिष्टीकृत स्वास्थ्य सेवामा ऐतिहासिक परिवर्तन ल्याउन सक्छ।
राजधानीको मध्यभागमा रहेको वीर अस्पताल अहिले आफ्नो भौतिक क्षमताको सीमामा पुगिसकेको छ। बिरामीको बढ्दो चाप, पार्किङको समस्या, साँघुरा वार्ड, सीमित सञ्चालन कक्ष, विस्तार गर्न नसकिने भौतिक संरचना र आधुनिक अस्पतालका लागि आवश्यक पूर्वाधारको अभावले अस्पताललाई नयाँ विकल्प खोज्न बाध्य बनाएको छ।
यही सन्दर्भमा भक्तपुरको दुवाकोटमा प्रस्तावित १,५०० शैयाको अत्याधुनिक शिक्षण अस्पताल केवल अर्को भवन निर्माण गर्ने योजना होइन, नेपालको स्वास्थ्य सेवाको नयाँ युग सुरु गर्ने अवसर हो।
यदि यो परियोजनालाई दीर्घकालीन राष्ट्रिय स्वास्थ्य योजनासँग जोडेर अघि बढाइयो भने यसले एकै स्थानमा अत्याधुनिक अस्पताल, मेडिकल कलेज, अनुसन्धान केन्द्र, विद्यार्थी आवास, कर्मचारी आवास, सिमुलेसन ल्याब, अन्तर्राष्ट्रिय तालिम केन्द्र र डिजिटल स्वास्थ्य प्रणालीलाई एकीकृत गर्न सक्छ।
यसले वीर अस्पतालमाथिको चाप पनि घटाउनेछ र राजधानीमा विश्वस्तरीय सार्वजनिक स्वास्थ्य सेवा उपलब्ध गराउने आधार तयार गर्नेछ।
विश्वका विकसित देशहरूमा उत्कृष्ट अस्पतालहरू केवल उपचार केन्द्र हुँदैनन्, ती शिक्षा, अनुसन्धान र नवप्रवर्तनका केन्द्र पनि हुन्छन्।
नेपालमा पनि न्याम्सलाई पूर्ण स्वास्थ्य विश्वविद्यालयका रूपमा विकास गर्न सकियो भने चिकित्सक उत्पादनको संख्या मात्र होइन, गुणस्तरमा समेत उल्लेखनीय सुधार आउनेछ।
यसले कृत्रिम बुद्धिमत्ता, रोबोटिक सर्जरी, जीनोमिक्स, डिजिटल हेल्थ, सार्वजनिक स्वास्थ्य नीति, बायोमेडिकल अनुसन्धान, टेलिमेडिसिन र स्वास्थ्य व्यवस्थापनजस्ता नयाँ विधामा अनुसन्धान र अध्यापनको ढोका खोल्नेछ।
यसका साथै विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने वातावरण पनि बन्न सक्छ।
वीर अस्पतालसँग इतिहास छ। न्याम्ससँग शैक्षिक अनुभव छ। सरकारसँग नीति छ। अब आवश्यक छ- दूरदृष्टि, राजनीतिक प्रतिबद्धता, संस्थागत सुशासन र निरन्तर नेतृत्व।
यदि न्युरोसाइन्स, ट्रमा, बर्न, मुटुरोग, प्रत्यारोपण, क्यान्सर उपचार र आपत्कालीन चिकित्सालाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा विकास गरियो भने वीर अस्पताल दक्षिण एसियाकै उत्कृष्ट Centre of Excellence बन्न सक्ने आधार प्रशस्त छ।
यसका लागि अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य, अनुसन्धानमा पर्याप्त लगानी, दक्ष शिक्षक तथा स्वास्थ्यकर्मीलाई टिकाइराख्ने नीति, पारदर्शी खरिद प्रणाली र अत्याधुनिक उपकरणमा लगानी अपरिहार्य हुनेछ।
इतिहासले अवसर दिएको छ, अब निर्णय वर्तमानले गर्नुपर्छ। वीर अस्पतालले नेपाललाई आधुनिक चिकित्सा चिनायो। यही अस्पतालले हजारौँ चिकित्सक जन्मायो। यही अस्पतालले लाखौँ नागरिकलाई जीवन दियो। यही अस्पतालले राष्ट्रिय संकटका समयमा अग्रपङ्क्तिमा उभिएर सेवा दियो। तर इतिहास आफैँ भविष्यको ग्यारेन्टी होइन।
यदि समयमै संरचनागत सुधार, संस्थागत सुशासन, अनुसन्धानमा लगानी, गुणस्तरीय चिकित्सा शिक्षा र बिरामीमैत्री सेवा प्रणाली निर्माण गर्न सकिएन भने इतिहासको गौरव वर्तमानको बोझ बन्न सक्छ।
वीर अस्पताल एउटा सरकारी अस्पताल मात्र होइन। यो नेपालको आधुनिक स्वास्थ्य प्रणालीको जन्मस्थल हो। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान एउटा शिक्षण संस्था मात्र होइन, देशको भविष्य निर्माण गर्ने विशेषज्ञ स्वास्थ्य जनशक्ति उत्पादन गर्ने राष्ट्रिय आधार हो।
त्यसैले वीर अस्पताल र न्याम्सको विकासलाई कुनै संस्थागत आवश्यकता वा मन्त्रालयको नियमित कार्यक्रमका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। यसलाई राष्ट्रिय प्राथमिकताको परियोजनाका रूपमा अगाडि बढाउनुपर्छ।
सुदृढ नेतृत्व, स्पष्ट नीति, पारदर्शी प्रशासन, अनुसन्धानमुखी शिक्षा, प्रविधिमैत्री सेवा र बिरामीकेन्द्रित व्यवस्थापनमार्फत मात्र वीर अस्पतालले आफ्नो १३७ वर्षको इतिहासलाई आगामी शताब्दीको सफल यात्रामा रूपान्तरण गर्न सक्छ।
प्रतिष्ठान/अस्पतालले तत्कालै तयार गर्नुपर्ने कार्ययोजना
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले शैक्षिक कार्यक्रम तथा अस्पताल सञ्चालनका लागि गर्नुपर्ने कार्यहरू:
१. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अस्पताल (वीर र ट्रमा), नर्सिङ कलेज र प्रस्तावित दुवाकोट परियोजना समेतलाई समेटेर शिक्षक तथा कर्मचारीको O&M सर्भे गर्ने।
२. स्वीकृत दरबन्दीमा सेवा आयोग गठन गरी आयोग हुँदै लोकसेवामार्फत पदपूर्ति गर्ने।
३. प्रतिष्ठानको शिक्षक तथा कर्मचारी नियमावली समयानुकूल निर्माण गर्ने।
४. प्रतिष्ठानमा विद्यार्थी भर्ना प्रक्रिया छिटो, सहज र परीक्षाफल समयमै प्रकाशित गर्ने।
५. प्रतिष्ठान र मातहतका शैक्षिक गतिविधिहरूको मूल्याङ्कन, अनुगमन र संस्थानको स्तर निर्धारण वैज्ञानिक रूपमा सुदृढीकरण तथा शैक्षिक रूपमा उत्कृष्टता प्रदान गराउने।
६. संकाय र आवासीय चिकित्सकको अनुसन्धान गतिविधिहरूको अनुगमन र मूल्याङ्कन राष्ट्रिय स्वास्थ्य शिक्षा नीति तथा अन्तर्राष्ट्रिय स्तरको बनाउने।
७. नेपाल सरकारको सहकार्यमा राष्ट्रिय स्वास्थ्य नीति तर्जुमा गर्ने पहलकदमी लिने र राज्यलाई आवश्यक पर्ने विशिष्टीकृत दक्ष विशेषज्ञ जनशक्ति उत्पादन कार्यक्रम थप सञ्चालन गर्ने।
८. आ.व. २०८३/०८४ नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) लाई अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य विश्वविद्यालयमा रूपान्तरण गर्न अथक पहल गर्ने।
९. प्राध्यापकहरूको एकै किसिमको उत्कृष्ट मापदण्ड राष्ट्रिय तथा अन्तर्राष्ट्रिय (Standard) अनुसार बनाउने।
१०. शैक्षिक तथा नवप्रवर्तन प्रविधि कार्यक्रम आदानप्रदान गर्न सरकारका अन्य स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थासँग सहकार्य गरी सीप आदानप्रदान कार्यक्रम अझ सुदृढीकरण गर्ने।
११. प्रतिष्ठानको नाममा भक्तपुर दुवाकोटमा रहेको ५२० रोपनी जमिनमा नेपाल सरकारले बहुवर्षीय योजनामार्फत १५०० शैयाको विशिष्टीकृत अस्पताल निर्माण र सञ्चालन, मेडिकल कलेज स्थापना गरी MBBS शैक्षिक कार्यक्रम सुरु गर्नुपर्छ भने अन्य शैक्षिक कार्यक्रम, रेसिडेन्सी आवास, कर्मचारी आवास, विशिष्ट तथा अतिविशिष्ट उपचार कक्ष निर्माण गर्नुपर्छ।
१२. नेपाल सरकारको योजना अनुसार विस्तारित वीर अस्पताल दुवाकोटमा नेसनल न्युरो इन्स्टिच्युट स्थापना गराउने।
१३. विस्तारित वीर अस्पताल दुवाकोटमा राष्ट्रिय जलन तथा पुनारुत्थान (पुनर्स्थापना) केन्द्र स्थापना गराउने पहल गर्ने।
वीर अस्पताल तथा न्याम्सको सुधारका लागि प्राप्त गुनासो, अनुभव एवं सुधारका पक्षहरू
१. अस्पताल/इमर्जेन्सी परिसर, OPD, वार्ड तथा नयाँ भवनमा सरसफाइ कर्मीलाई राम्रोसँग दैनिक रूपमा अझ चुस्त सरसफाइ गर्न लगाउनुपर्ने; प्रत्येक हप्ता Auto-scrubber मेसिनले भुइँ, भित्ता, सिसा घोट्नुपर्ने; Pressure Washer तथा सरसफाइ गर्ने केमिकलको गुणस्तरीयता जाँच गर्नुपर्ने; र कम्पाउण्ड वरपर, बार, झारपात, रुख रङरोगन र काँटछाँट गरी पर्खालअगाडि बगैँचाको रूपमा विकसित गर्नुपर्ने।
२. अस्पतालमा खानेपानी शुद्ध र पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्ने।
३. ट्वाइलेट धेरैजसो फोहोर छ, टुटे-फुटेको मर्मत गर्ने, पानी हुँदैन, धाराको टुटी छैन, चुकुल हुँदैन, ढोकाहरू नयाँ हाल्नुपर्नेछ।
४. टिकट काट्न लामो लाइन लाग्नुपर्ने अवस्था:
अनलाइन टिकटिङलाई अझै बढी जनमानसमा पुर्याउने (सामाजिक सञ्जाल, टिभी, रेडियो, NTC/Ncell Ringtone मा जनचेतनामूलक सूचना राख्ने)।
टोकन सिस्टमलाई नजिकै छुट्टै स्थानमा राख्ने।
टिकट तथा क्यास काउन्टर बढाउनुपर्ने।
भएको काउन्टरलाई सुरक्षा गार्ड वा सहजकर्तामार्फत लाइन बनाउन लगाएर व्यवस्थित गराउने।
५. टिकट काटेर बिरामीलाई कुन तल्ला र कुन कोठामा जाने हो, सबैले देख्ने र बुझ्ने गरी मार्गचित्र लेखन र चित्र राख्ने तथा Digital Board राख्ने।
६. टिकट काटेर OPD मा पुगे पनि बिहानी सत्रमा भिडभाड हुने हुँदा त्यहाँका कार्यालय सहयोगी र सुरक्षा गार्डमार्फत टोकन पालो सिस्टममा राख्न लगाउने।
७. OPD मा वरिष्ठ चिकित्सकका साथमा मात्रै आवासीय चिकित्सक हुनुपर्ने र वरिष्ठ चिकित्सक OPD कार्यस्थलमा अनिवार्य बस्ने वातावरण हुनुपर्ने।
८. बिरामी जाँचिसकेपछि Investigation (CT, MRI, Blood, USG) गर्ने निजी अस्पतालमा पठाउने गरेको (केही चिकित्सकले)। (किन वीर अस्पतालको रिपोर्टमा वीरकै चिकित्सकहरूलाई विश्वास नभएर हो? सबै जाँच वीर अस्पतालमै गराउने र गर्ने व्यवस्था गर्नुपर्ने।)
९. OPD को हरेक तल्लाहरूमा ८-५ नगद काउन्टर अझै व्यवस्थित गर्न लगाउने (नयाँ Surgical Building, OT, Post-op, ICU, OPD को तल्लामा पनि)।
१०. CT / MRI / USG / Color Doppler / Echo / Endoscopy / OT छिटै गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा थप गरेर भए पनि साँझ ८ बजेसम्मै चिकित्सक/स्वास्थ्यकर्मीले सेवा दिने व्यवस्था गर्नुपर्ने; रिपोर्ट अनलाइन हेर्ने व्यवस्था गर्नुपर्ने; CT/MRI मेसिन थप्न पहल गर्नुपर्ने।
११. Lab Collection गर्ने ठाउँ विस्तार गर्नुपर्ने।
१२. Investigation रिपोर्ट ल्याउँदा (Follow-up मा) सोही चिकित्सक भेट्ने समय मिलाउनुपर्ने।
१३. अपरेसन (OT) गर्ने ४ महिनादेखि १२ महिनासम्म पालो कुर्नुपर्ने रहेकोमा सबै अपरेसन कक्ष पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने र साँझ (5-8 PM) EHS सेवा सुरु गर्ने; आवश्यक स्वास्थ्य जनशक्ति पूर्ति गर्नुपर्ने।
१४. CT / MRI गर्न चाहिने Contrast अस्पताल फार्मेसीमा नपाइएको, अस्पताल अगाडि/पछाडिको फार्मेसीमा जानुपर्ने बाध्यता रहेको छ। सो Contrast अस्पताल फार्मेसीमा उपलब्ध हुनुपर्ने।
१५. चिकित्सकले सिफारिस गरेका मेडिकल/सर्जिकल लगायतका सामान अस्पताल फार्मेसीमा नपाउने; दूरदराजबाट वीर अस्पतालमा आउने बिरामीले/स्वास्थ्य बीमा लगायतको औषधि पनि नपाउने। सबै मेडिसिन पाउने व्यवस्था हुनुपर्ने; स्वास्थ्य बीमा बोर्डबाट भुक्तानी समयमै लिन पहल गर्नुपर्ने।
१६. इमर्जेन्सीमा भिडभाड धेरै हुने, एउटै बेडमा ३-४ जना बिरामी हुने हुँदा शैया विस्तार गर्नुपर्ने:
आकस्मिक कक्षमा विषय विज्ञ चिकित्सक MDGP र MDGP Resident दरबन्दी र विद्यार्थी थप गर्नुपर्ने।
ER Bed मा रहेका बिरामीलाई सम्बन्धित विभागका Duty Resident र On-call समयमै हेर्न नआउने, भर्ना गर्न धेरै समय लगाउने गरेको।
स्थायी MDGP डाक्टरसाबहरू मेडिकल सर्टिफिकेट मात्रै बनाउने होइन कि ER मा पनि बिरामी हेर्नुपर्ने अस्पतालका कर्मचारी र चिकित्सकले समेत बताउँछन्।
नयाँ विस्तार हुने आकस्मिक कक्षमा टिकट काउन्टर, नगद काउन्टर र फार्मेसी छुट्टै बनाउनुपर्ने; आकस्मिक कक्ष छिटै निर्माण कार्य सम्पन्न गर्ने र सञ्चालन गर्ने तदारुकता गराउने।
१७. आकस्मिक कक्षबाट चिकित्सक र स्वास्थ्यकर्मीले ICU Bed खाली छैन भन्न बाध्य भएको, सम्बन्धित Resident र On-call लाई नदेखाई निजी अस्पतालमा पठाउने गरेको आरोप लाग्ने गरेको छ, सो बाटै कुशासन सुरु हुन्छ? बिरामीलाई नचाहिने एक पत्ताको १६००-२००० सम्म पर्ने भिटामिन एक महिनालाई लेख्ने गरेको गुनासो पनि उत्तिकै छ।
१८. ICU मा भर्ना भएका बिरामी कुरुवालाई नर्सिङ स्टाफ र Duty Dr ले धेरै सामान मगाउने गरेको? वीर अस्पतालको फार्मेसीमा किन्न नपठाई निजी फार्मेसीमा किन्न पठाउने गरेको; ICU / Ward / OT अगाडि निजी फार्मेसीका एजेन्टहरू २४ सै घण्टा घुमिरहेका हुन्छन्, गार्डहरू के हेरेर बस्छन्? ICU, OT, Lab, अर्थो, न्युुुरो इम्प्लान्ट लगायतका बिरामी लैजान निजी अस्पतालका एजेन्टहरू घुमिरहेका हुन्छन्; यसका लागि अनुगमन अत्यावश्यक, सामान अस्पताल फार्मेसीमा पाउने हुनुपर्यो।
१९. भर्ना गरेको बिरामीलाई वार्डमा वरिष्ठतम् कर्मचारी जति कुर्सीमा बसेर मोबाइल मात्रै हेर्ने, बोलाउँदा नआउने, रिसाउने, झर्कने गुनासो छ; सोका लागि उचित अनुगमन तथा प्रशिक्षण दिन अपरिहार्य छ।
२०. Unit Chief, Duty Resident Dr ले अपरेसन गर्ने (जनरल सर्जरी, न्युरो, युरो, ग्यास्ट्रो सर्जरी, नाक कान घाँटी, दाँत) भर्ना भएका बिरामीको अपरेसनको सामान किन्न OT List अस्पतालभित्र किन्न नलगाई अस्पताल बाहिर फार्मेसीमा पठाउने गरेको आम जनगुनासो र कर्मचारीको पनि गुनासो छ; सोको लागि अस्पतालले अस्पताल भित्र फार्मेसीमा नै किन्न लगाउन कडा निर्देशन दिनुपर्ने।
बिरामी OT भित्र छिराएपछि पनि व्यक्ति-व्यक्तिपिच्छे कर्मचारीले "यो सामान ल्याउनु, त्यो सामान ल्याउनु" भनेर धेरै सामान मगाउने गरेको गुनासो।
२१. कमिसनका लागि कुनै निश्चित कम्पनीको मात्रै सर्जिकल सामान लेख्ने गरेको, त्यो पनि गुणस्तरहीन सामानहरू (Sutures, Hernia Mesh, Ortho Implants, Liga Clip, CVP Line, Ventilator Circuit, Hernia Gun, TURP Set लगायत)। अपरेसन कक्षाकै स्वास्थ्यकर्मीका अनुसार RG, Relan जस्ता चुँडिने Suture धेरै प्रयोग गरेर बिरामीको स्वास्थ्यमाथि खेलबाड गरेर महिनैपिच्छे १/१ लाख कमिसन बुझ्छन् भन्ने आरोप; त्यस्ता सामान खरिदै नगर्ने व्यवस्था अहिलेदेखि मिलाउनुपर्ने।
२२. ट्रमा सेन्टरमा लाखौँ रुपैयाँ पर्ने हड्डी जोड्ने सामान (Orthopedic Implants) अस्पताल फार्मेसीमा नराख्ने र व्यापारीलाई बोलाएर बेड-बेडमा बिना बिल व्यापार गर्ने गरिएको, गरिब जनताले अपरेसन गर्न महिनौँ कुर्नुपर्ने, फार्मेसीमा पनि सामान महँगो छ।
२३. ल्याबमा गुणस्तरीयता कायम गर्न Quality Control Check मा ध्यान दिने (रिएजेन्ट तथा मेसिनहरूमा पनि)। रिएजेन्ट किन एउटै कम्पनीको मेसिनलाई मात्र हुने गरी टेन्डर गरिन्छ, किन?
२४. अस्पताल कर्मचारीलाई केही सोध्नुपर्दा "थाहा छैन" भन्ने, रिसाउने, झर्कने गरेको; एउटा राम्रो सोधपुछ कक्ष बनाउने र सबै कर्मचारीलाई सेवाग्राहीसँग सभ्य र मैत्रीपूर्ण व्यवहार गर्न लगाउने; एक सूचना अधिकारी तोकेर आवश्यक जानकारी निजबाट सम्पादन गराउने।
२५. चिकित्सक/स्वास्थ्यकर्मीले इमर्जेन्सी, वार्ड, OPD, ICU र OT मा कमिसनको लागि आफू निकट कम्पनीको सामान लेख्ने गरेको गुनासो छ।
२६. उपलब्ध क्यान्सर लगायतका मेडिसिन किन नेपाली कम्पनीको नचलाउने गरेको?
२७. अक्सिजन प्लान्ट मर्मत गरी सञ्चालनमा ल्याउने, जसले गर्दा अस्पतालको करोडौँ रुपैयाँ बचत हुन्छ।
२८. सबै ICU कक्षका बेड पूर्ण रूपमा सञ्चालन गराउने, तत्कालै मर्मत गर्ने व्यवस्था गर्ने।
२९. कर्मचारीको कोभिडको समयको ८ महिनाको सेवा विस्तार भत्ता हालसम्म नपाएको; हाल कर्मचारीले विगतमा अस्पतालले स्वास्थ्य बीमाको प्रिमियम तिरिदिने गरेकोमा हाल किन स्थगित गरेको? सो तत्कालै सुचारु गर्नुपर्ने।
३०. चिकित्सा शिक्षालाई वीर अस्पतालमा गुणस्तरीय, प्रविधिमैत्री साथै अन्य सङ्घीय अस्पताल तथा प्रदेश अस्पतालसम्मै अझै विस्तार गर्ने; अन्तर्राष्ट्रिय स्तरका अस्पतालमा अनुभव आदानप्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने।
३१. कर्मचारी/शिक्षक/रेजिडेन्टलाई आवासीय भवन निर्माण तथा जाइका भवन पछाडि बिरामी कुरुवालाई कुरुवा घरको व्यवस्था गर्नुपर्ने।
३२. शिक्षक/कर्मचारीले (स्थायी/करार/ज्यालादारी) समयमै तलब-भत्ता, सेवा विस्तार भत्ता, औषधि खरिद खर्च किन समयमै पाउँदैनन्?
३३. प्रतिष्ठान सेवाका कर्मचारीले अवकाश पाउँदा उपदानको रकम लिन वर्षौँ कुर्नुपर्ने अवस्था छ, सोको लागि उपदान कोष सञ्चालन गरी आवश्यक रकम विनियोजित गर्नुपर्ने।
३४. अस्पतालमा सुशासन छैन; मुख्यतः नर्सिङ विभाग लगायत प्रमुखहरूले मातहतका नर्सिङ/विद्यार्थी/कर्मचारीहरूलाई दुःख दिने, नियमानुसार पाउने सुविधा पनि नदिने, तल्लो दर्जाको नीच व्यवहार गर्ने गुनासो छ। मुख्यतया नर्सिङ निर्देशकको तानाशाही, ज्यादती र असमान व्यवहार गर्ने विषयमा छानबिन गरी कारबाही गर्नुपर्ने।
३५. बर्न वार्डलाई अझै स्तरोन्नति गर्ने।
३६. राष्ट्रिय न्युरो सेन्टर प्रतिष्ठान मातहत दुवाकोटमा स्थापना गर्न पहल गर्ने।
३७. खरिदमा पारदर्शिता छैन; खरिद, स्टोर र लेखाले मिलेमतोमा महँगोमा गुणस्तरहीन सामान किन्ने गरेको, कोटेशनमा आफू निकट व्यापारीसँग महँगोमा सामान लिने गरेको र अनियमितता गर्ने गरेको व्यापक चर्चा र कर्मचारीहरूकै गुनासो छ। छानबिन गर्नुपर्ने र सो पारदर्शी बनाउनुपर्ने। कोटेशनमा सामान लिने प्रथा बन्द गर्ने; लिनैपर्दा अस्पतालको अनलाइन सिस्टममा सूचना प्रकाशित गरेर सोही बोलकबोलमार्फत गुणस्तरीय मात्रै लिने।
३८. मेडिकल स्टोर, जनरल स्टोर, फार्मेसीमा टेन्डरमार्फत अस्पतालजन्य मालसामान लिँदा गुणस्तरीय र आर्थिक मितव्ययिता अपनाउने।
३९. अस्पताल मेडिकल/सर्जिकल उपकरण खरिद गर्दा गुणस्तरीय र आर्थिक मितव्ययी सामान खरिद गर्ने।
४०. क्यान्टीनमा टेन्डर सूची पेस गरे (मेनु) अनुसार खाना/खाजा छैन, सरसफाइ राम्रो छैन। ४ बजेपछि खानेकुरा पाइँदैन; २४ घण्टा र नाइट ड्युटी गर्ने कर्मचारीलाई तथा बिरामी कुरुवा र चिकित्सक/स्वास्थ्यकर्मीले खाना पाउँदैनन्, किन? क्यान्टीनलाई कारबाही गर्नुपर्ने।
४१. कर्मचारी पोसाक भत्ता दिए पनि लगाउँदैनन्, अनिवार्य गरियोस्। परिचयपत्र अनिवार्य लगाउनुपर्ने निर्देशन दिनुपर्ने।
४२. सेवाग्राहीको गुनासो लिन सुझाव पेटिका राख्ने, सो पेटिका ३-३ दिनमा खोलेर गुनासो समाधानको उपाय निकाल्ने।
४३. अस्पतालको खरिद र स्टोरमा व्यापक अनियमितताको कुरा वर्षौँदेखि आएकाले छानबिन तथा सबै परिवर्तन गरी नयाँ टिम राख्नुपर्ने।
४४. अस्पतालले आन्तरिक छलफल तथा अन्तरक्रिया गरी समस्या र सुझाव लिने:
(क) वार्ड इन्चार्ज
(ख) विभागीय प्रमुख
(ग) सरसफाइ/गार्ड शाखा
(घ) मर्मत/प्लम्बर/पानी शाखा
(ङ) स्टोर/खरिद
(च) लेखा प्रशासन
(छ) कर्मचारी
(ज) सञ्चारमाध्यम
(झ) पूर्व निर्देशक तथा पदाधिकारी
४५. स्वास्थ्य बीमा बोर्डबाट भुक्तानी छिटो लिन पहल गर्ने, मन्त्रालयमार्फत पनि पहल गरिदिनुपर्ने। अस्पताल कर्मचारीको बीमा प्रथम विन्दु अस्पतालमै कायम गर्ने पहल गर्ने।
४६. विस्तारित वीर अस्पताल दुवाकोट परियोजना सुरु गर्न आवश्यक पहल गर्ने। चिकित्सा शिक्षा आयोगमार्फत प्रतिष्ठानले तत्कालै MBBS कक्षा सञ्चालन गर्ने। आ.व. २०८३/०८४ सरकारको नीति तथा कार्यक्रम अनुसार चि.वि.रा. प्रतिष्ठान (NAMS) लाई अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य विश्वविद्यालयमा रूपान्तरण गर्न पहल गर्ने। दुवाकोटमै कर्मचारी/शिक्षक/रेजिडेन्टलाई आवासीय भवन एवम् शैक्षिक भवन निर्माण तथा बिरामी कुरुवालाई कुरुवा घरको व्यवस्था गर्नुपर्ने।
४७. प्रतिष्ठानले वीर अस्पताल गुठीको नाममा रहेको देशैभरिको हजारौँ बिघा जग्गा खोजी गरी प्रतिष्ठान मातहत ल्याई उचित प्रयोग गर्ने।
४८. नेपाल सरकार स्वास्थ्य सेवा र प्रतिष्ठान सेवा कर्मचारीमा देखिएको विभेद अन्त्य हुनुपर्ने, समान व्यवहार र जिम्मेवारी दिनुपर्ने। प्रतिष्ठान पदाधिकारी नियुक्ति सिफारिस गर्दा प्रतिष्ठान सेवाका चिकित्सक तथा कर्मचारीको पनि सिफारिस र नियुक्ति गर्नुपर्ने।
४९. प्रतिष्ठानमा पारदर्शी किसिमले शिक्षक/कर्मचारी लिन 'सेवा आयोग' स्थापना गर्नुपर्ने; शिक्षक/कर्मचारी नियमावली बनाई प्रतिष्ठानले सिनेटमार्फत पास गरी लागू गर्नुपर्ने। हाल प्रतिष्ठानमा लामो समयदेखि कार्यरत कर्मचारीलाई एकपटकका लागि विशेष व्यवस्थामार्फत स्थायी गर्न आवश्यक कदम लिनुपर्ने।
५०. हरेक विभागले आफ्नो अन्तर्गतका स्वास्थ्यकर्मी/कर्मचारीलाई Academic/Practical Refresher Training सञ्चालन गर्न लगाउने; अन्तर्राष्ट्रिय स्तरको अस्पतालमा तालिमको लागि पठाउने व्यवस्था गर्ने।
५१. Every Faculty ले Academic/Practical Class सकेसम्म धेरै सञ्चालन गरी दक्ष चिकित्सक/नर्सिङ/स्वास्थ्यकर्मी जनशक्ति उत्पादन गर्ने पहल गर्ने।
५२. केही चिकित्सक/कर्मचारी बिहानै हाजिर गरेर जाने र साँझ हाजिर गर्न मात्रै आउने, कार्यस्थलमा नभेटिने हुँदा कार्यस्थल अनुगमन गर्न लगाउने।
५३. SPECT-CT / Gamma Imaging सञ्चालनमा ल्याउने। PET Scan वीर अस्पतालमै ल्याउन पहल गर्ने।
५४. वीर अस्पतालको पुरानो निजी फार्मेसीको करोडौँ भाडा असुल गर्नुपर्ने।
५५. वीर अस्पतालको यस आ.व. ०८२/८३ को रु. २३ करोडभन्दा बढी बजेट फ्रिज गराउने समूहलाई कारबाही गर्नुपर्ने। रातो किताबमा बजेट हुँदाहुँदै बजेट फ्रिज गराएर आन्तरिकबाट भुक्तानी गर्नेलाई कारबाही गर्नुपर्ने।
५६. अस्पतालमा बिग्रिएका उपकरण मर्मत गरी सञ्चालनमा ल्याउनुपर्ने; बायोमेडिकल युनिटमा दक्ष जनशक्ति थप गर्नुपर्ने।
५७. राष्ट्रिय सतर्कता केन्द्रले पटक-पटक छानबिन गरी दिएको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने।
५८. अस्पतालका सबै कर्मचारी र बिरामी तथा बिरामी कुरुवाका लागि पार्किङ उपलब्ध गराउने।
५९. दाँत विभागमा नक्कली दाँत बनाउने सेवा तत्कालै सुचारु गर्नुपर्ने, दाँत बाँध्ने सेवा छिटो बनाउनुपर्ने।
६०. औषधि/औषधिजन्य सामान अस्पताल फार्मेसीमा, मेडिकल स्टोरमा गुणस्तरीय र आर्थिक हिसाबले मितव्ययी ल्याउने; छानबिन गरी राम्रो गुणस्तरीय सर्जिकल/मेडिकल/इन्जेक्सन/क्यान्सर मेडिसिन/ट्याब्लेट सामान राख्न पहल गर्ने र गुणस्तरीय स्वदेशी उत्पादन राख्ने; वीर र ट्रमामा स्वास्थ्य सेवा र औषधिको गुणस्तरीयतामा सुधार गर्नुपर्ने।
६१. वीर अस्पतालले देशका दूरदराजमा रहेका स्थानीय तथा प्रदेश स्वास्थ्य संस्था र वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि विश्वसनीय र भरपर्दो स्वास्थ्य सेवा, सल्लाह Telemedicine सेवा विस्तार गर्ने।
६२. स्वास्थ्य पर्यटन: कम लागतमा गुणस्तरीय उपचार दिएर भारत, बाङ्ग्लादेश, भुटान, चीन, श्रीलङ्का लगायतका देशबाट बिरामी आकर्षित गर्ने।
सेन्टर अफ एक्सिलेन्स: वीरलाई न्युरो, ट्रमा, बर्न र मुटुरोगको लागि दक्षिण एसियाकै उत्कृष्ट सेन्टर बनाउने लक्ष्य राख्ने।
६३. अनुसन्धान केन्द्र: NAMS लाई रिसर्च युनिभर्सिटीको रूपमा विकास गर्ने; औषधि र चिकित्सा अनुसन्धानमा जोड दिने कार्य सञ्चालन गर्ने। वीर अस्पतालले नेपाल सरकारलाई गुणस्तरीय उत्पादन गर्ने र उचित प्रयोग गर्ने।
६४. अस्पताललाई पूर्ण रूपमा डिजिटलाइजेसन गरी मेडिकल रेकर्डलाई सुदृढ र प्रविधिमैत्री EHR विस्तार गर्ने तथा टेलिमेडिसिन सेवा प्रभावकारी रूपमा सञ्चालन गरी अध्यापन गराउन सहयोग लिने।