विश्व स्वास्थ्य संगठन अन्तर्गतको इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले ८ जुलाई २०२६ मा सार्वजनिक गरेको ग्लोबोक्यान २०२४ को पछिल्लो अनुमान अनुसार नेपालमा क्यान्सरको भार उल्लेखनीय रूपमा बढेको छ।
सन् २०२४ मा नेपालमा २४ हजार ४९९ नयाँ क्यान्सरका बिरामी, १७ हजार २१३ जनाको क्यान्सरबाट मृत्यु, तथा ४६ हजार ७४७ जना पाँच वर्षभित्र क्यान्सरको निदान भई बाँचिरहेका रहेको अनुमान गरिएको छ। यी तथ्याङ्कले अघिल्लो अनुमानको तुलनामा उल्लेखनीय वृद्धि देखाउँदै नेपालमा क्यान्सर अब गम्भीर जनस्वास्थ्य चुनौती बनेको संकेत गरेका छन्।
ग्लोबोक्यान २०२४ अनुसार नेपालमा उमेरअनुसार समायोजित क्यान्सर हुने दर प्रति एक लाख जनसंख्यामा ९०.१ र उमेरअनुसार समायोजित मृत्यु दर प्रति एक लाखमा ६४.१ रहेको छ।
महिलामा नयाँ क्यान्सरका बिरामी (१३,४१९) पुरुष (११,०८०) भन्दा केही बढी भए पनि मृत्युको संख्या भने लगभग समान रहेको छ। महिलामा ८,६९६ र पुरुषमा ८,५१७ जनाको क्यान्सरका कारण मृत्यु भएको अनुमान गरिएको छ।
नेपालमा क्यान्सरको बदलिँदो स्वरूप
सन् २०२४ मा नेपालमा सबैभन्दा धेरै देखिएको क्यान्सर पेटको क्यान्सर हो, जसका ३,१५९ नयाँ बिरामी अनुमान गरिएको छ। त्यसपछि क्रमशः:
• इसोफेगस(अन्ननली) क्यान्सर – २,०६९
• स्तन क्यान्सर – १,७४६
• कलेजो(लिभर) क्यान्सर – १,६२३
• पाठेघरको मुख(सर्भाइकल) क्यान्सर – १,५३२
मृत्युका दृष्टिले पनि पेटको क्यान्सर पहिलो स्थानमा रहेको छ, जसबाट २,६९० जनाको मृत्यु भएको अनुमान गरिएको छ। त्यसपछि इसोफेगस, कलेजो, फोक्सो र पित्तथैलीको क्यान्सर प्रमुख कारणका रूपमा रहेका छन्।
पुरुषमा पेट, इसोफेगस, कलेजो, ओठ तथा मुखको क्यान्सर र फोक्सोको क्यान्सर सबैभन्दा बढी देखिएका छन् भने महिलामा स्तन, सर्भाइकल, पेट, डिम्बाशय र इसोफेगसका क्यान्सर बढी देखिएका छन्।
सन् २०५० सम्म क्यान्सरको भार झन् बढ्ने अनुमान
ग्लोबोक्यानको अनुमान अनुसार हालको उमेर-विशिष्ट क्यान्सर दर यथावत् रहेमा जनसंख्या वृद्धि र वृद्धावस्थाका कारण सन् २०५० सम्म नेपालमा नयाँ क्यान्सरका बिरामी ७४ प्रतिशतले बढेर करिब ४२,६०० पुग्नेछन्।
त्यसैगरी, क्यान्सरबाट हुने मृत्यु ७९ प्रतिशतले बढेर करिब ३०,८०० पुग्ने अनुमान गरिएको छ।
यसले आगामी वर्षहरूमा नेपालले क्यान्सर रोकथाम, स्क्रिनिङ, प्रारम्भिक पहिचान, शल्यचिकित्सा, प्याथोलोजी, रेडियोथेरापी, औषधीय उपचार, दीर्घकालीन अनुगमन, तथा प्यालिएटिभ केयरमा उल्लेखनीय लगानी गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
नेपालमै गरिएको अनुसन्धानले गरेका पुष्टि
इन्टरनेशनल एजेन्सी फर रिसर्चका लागि मेरो नेतृत्वमा गरिएको अनुसन्धानहरूले पनि नेपालको क्यान्सर उपचार प्रणालीमा गम्भीर चुनौती रहेको देखाएका छन्।
बीएमजे ग्लोबल हेल्थमा सन् २०२५ मा प्रकाशित नेपालमा क्यान्सर उपचारमा हुने ढिलाइसम्बन्धी (डेकान) अध्ययन ले बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेका करिब १,२०० क्यान्सर बिरामीलाई पछ्याएको थियो।
अध्ययनले देखाएको प्रमुख तथ्यहरू:
• आधा बिरामीले पहिलो लक्षण देखिएदेखि उपचार सुरु हुन ४–६ महिना कुर्नुपरेको थियो।
• सबैभन्दा बढी ढिला भएका २५ प्रतिशत बिरामीले ६ महिनाभन्दा बढी प्रतीक्षा गरेका थिए।
• ज्येष्ठ नागरिक तथा न्यून आर्थिक अवस्था भएका व्यक्तिमा ढिलो निदान हुने सम्भावना बढी देखियो।
• फोक्सो र पेटको क्यान्सर धेरैजसो बिरामीमा उन्नत चरणमा मात्र पत्ता लागेको थियो।
डा.सिंहकै नेतृत्वमा सञ्चालन भइरहेको बच्चाहरुमा गरिएको डेकान-अध्ययनले नेपालमा बाल क्यान्सर उपचारमा हुने ढिलाइ, उपचारको गुणस्तर, बाँच्ने सम्भावना, तथा परिवारले व्यहोर्नुपर्ने आर्थिक भारको अध्ययन गरिरहेको छ। यस अध्ययनले बाल क्यान्सर सेवा, रेफरल प्रणाली तथा आर्थिक सुरक्षा नीतिलाई सुधार गर्न महत्वपूर्ण प्रमाण उपलब्ध गराउने अपेक्षा गरिएको छ।
नेपालले अब के गर्नुपर्छ?
बढ्दो क्यान्सरको भारलाई सामना गर्न नेपालले निम्न प्राथमिकतामा काम गर्नुपर्ने आवश्यकता देखिएको छ।
• गुणस्तरीय जनसंख्या-आधारित राष्ट्रिय क्यान्सर दर्ता प्रणाली स्थापना गर्ने।
• सुर्तीजन्य पदार्थ नियन्त्रण, एचपीभी खोप, हेपाटाइटिस रोकथाम, स्वस्थ जीवनशैली प्रवर्द्धन तथा जनचेतना विस्तार गर्ने।
• विशेषगरी स्तन, पाठेघरको मुख तथा कोलोरेक्टल क्यान्सरको स्क्रिनिङ र प्रारम्भिक पहिचान कार्यक्रम विस्तार गर्ने।
• देशभर प्याथोलोजी, इमेजिङ, शल्यचिकित्सा, किमोथेरापी र रेडियोथेरापी सेवामा पहुँच बढाउने।
• प्राथमिक स्वास्थ्य सेवामै क्यान्सरको प्रारम्भिक पहिचान र रेफरल प्रणालीलाई सुदृढ बनाउने।
• बिरामी मार्गदर्शन प्रणाली (पेसेन्ट न्याभिगेसन), टेलिमेडिसिन र मोबाइल सेवामार्फत उपचारमा हुने ढिलाइ घटाउने।
• स्वास्थ्य बीमा र आर्थिक सहयोग विस्तार गरी उपचारको खर्चका कारण बिरामी उपचारबाट वञ्चित नहुने व्यवस्था गर्ने।
• अन्कोलोजिस्ट, प्याथोलोजिस्ट, रेडियोलोजिस्ट, नर्स तथा अन्य जनशक्ति उत्पादन र वितरणमा लगानी गर्ने।
• प्यालिएटिभ केयर र क्यान्सरपछि दीर्घकालीन हेरचाहलाई राष्ट्रिय कार्यक्रमको अभिन्न अंग बनाउने।
• अनुसन्धान, गुणस्तरीय तथ्याङ्क र दीर्घकालीन राजनीतिक प्रतिबद्धतामार्फत राष्ट्रिय क्यान्सर नियन्त्रण कार्यक्रमलाई प्रभावकारी बनाउने।
गुणस्तरीय क्यान्सर तथ्याङ्क किन आवश्यक?
विशेषज्ञहरूका अनुसार नेपालसँग अझै पनि गुणस्तरीय राष्ट्रिय जनसंख्या-आधारित क्यान्सर दर्ता प्रणाली नभएकाले ग्लोबोक्यान २०२४ का तथ्याङ्कलाई सावधानीपूर्वक व्याख्या गर्नुपर्छ।
नेपालको विद्यमान क्यान्सर दर्ता प्रणालीको गुणस्तर पर्याप्त नभएकाले सन् २०२० पछि नेपालका वास्तविक तथ्याङ्क ग्लोबोक्यानमा समावेश गर्न सकिएको छैन। त्यसैले भारत र भुटानको क्यान्सर दरलाई आधार मानी नेपालको जनसंख्यामा लागू गरेर अनुमान तयार गरिएको हो।
यस कारण नेपालले विश्वसनीय राष्ट्रिय क्यान्सर दर्ता प्रणाली विकास गर्नु अत्यन्त आवश्यक रहेको विज्ञहरूको भनाइ छ।
अब राष्ट्रिय क्यान्सर नियन्त्रण कार्यक्रम अपरिहार्य
ग्लोबोक्यानका तथ्याङ्क र हाम्रो अनुसन्धानले एउटै स्पष्ट सन्देश दिएका छन्। नेपालले अब छरिएर रहेका क्यान्सर सेवाबाट अघि बढेर राष्ट्रिय क्यान्सर नियन्त्रण कार्यक्रम लागू गर्नुपर्छ, जसले रोकथाम, प्रारम्भिक पहिचान, समयमै उपचार, समान पहुँच, प्यालिएटिभ केयर, आर्थिक सुरक्षा र अनुसन्धानलाई समान प्राथमिकता दिन्छ।
नेपालमा क्यान्सर उपचारमा वास्तविक परिवर्तन ल्याउन क्यान्सर दर्ता प्रणाली, प्याथोलोजी, इमेजिङ, रेडियोथेरापी, दक्ष जनशक्ति, क्षेत्रीय उपचार केन्द्र, बिरामी मार्गदर्शन प्रणाली, प्रभावकारी रेफरल प्रणाली तथा समुदायमा जनचेतनामा लगानी गर्न आवश्यक छ। साथै सुर्तीजन्य पदार्थ नियन्त्रण, एचपीभी खोप, हेपाटाइटिस रोकथाम तथा स्तन, पाठेघरको मुख र कोलोरेक्टल क्यान्सरको स्क्रिनिङ जस्ता प्रमाणमा आधारित रोकथामका कार्यक्रमलाई व्यापक बनाउनु जरुरी छ। यी क्षेत्रमा लगानी नगरे नेपालले आगामी दशकहरूमा अझ ठूलो क्यान्सर संकट सामना गर्नुपर्नेछ।
ग्लोबोक्यान २०२४ले नेपाललाई समयमै सचेत गराएको छ। अहिले नै समन्वित र प्रमाणमा आधारित कदम चाल्न सके क्यान्सरबाट हुने धेरै मृत्यु रोक्न, बिरामीको जीवनस्तर सुधार्न र भविष्यको बढ्दो क्यान्सर भारलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिनेछ।
(डा सिंह अनुसन्धानकर्ता हुन्)