बीरगञ्ज — नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको निधन भएपछि आक्रोशित भीडले आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै चिकित्सकमाथि ज्यानै लिने उद्देश्यले साघातिक आक्रमण गरेको घटनाले समग्र स्वास्थ्य क्षेत्रमा त्रास फैलाएको छ। घटनामा गम्भीर घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामको सोही अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।
नेपाल चिकित्सक संघ (एनएमए) नारायणी शाखाले शनिबार विज्ञप्ति जारी गर्दै उक्त जघन्य तथा अमानवीय घटनाको घोर भर्त्सना गरेको छ। संघका अनुसार शनिबार बिहान करिब ११ बजे वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेललाई मुटुसम्बन्धी गम्भीर समस्याका कारण अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याइएको थियो। चिकित्सकहरूको टोलीले तत्काल आवश्यक उपचार उपलब्ध गराउँदा–गराउँदै पनि बिरामीको कार्डिएक अरेस्टका कारण दुःखद निधन भएको थियो।
बिरामीको निधनपछि घटनाको यथार्थ नबुझी कपोलकल्पित आरोप लगाउँदै आक्रोशित भीडले आकस्मिक कक्षमा तोडफोड गरी आतंक सिर्जना गरेको तथा विवाद समाधानका लागि छलफलमा जाँदै गरेका डा. प्रमोद रामलाई करिब ४०–५० जनाको समूहले बाटोमै घेरा हाली मरणासन्न हुने गरी कुटपिट गरेको संघले जनाएको छ।
एनएमए नारायणी शाखाका अध्यक्ष डा. मनोजकुमार गुप्ताले विज्ञप्तिमा भनेका छन्, "अहोरात्र बिरामीको सेवामा समर्पित चिकित्सकमाथि कार्यस्थलमै ज्यानै लिने उद्देश्यले गरिएको जस्तो देखिने यस आक्रमणले समग्र चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबलमा गम्भीर आघात पुगेको छ।"
संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ बमोजिम स्वास्थ्य संस्थामा तोडफोड, आगजनी, स्वास्थ्यकर्मीमाथि कुटपिट वा कुटपिटको प्रयास गर्ने कार्य गैरजमानती कसुर भएको र यसमा कडा कानुनी सजायको व्यवस्था रहेको स्मरण गराएको छ।
संघले निम्न मागहरू अघि सारेको छः
१. घटनामा संलग्न मुख्य अभियुक्तसहित सम्पूर्ण व्यक्तिको तत्काल पहिचान गरी ऐनबमोजिम निष्पक्ष अनुसन्धान गर्दै कानुनअनुसार हदैसम्मको कारबाही गरियोस् तथा पीडित डा. प्रमोद रामलाई शीघ्र न्याय सुनिश्चित गरियोस्।
२. अस्पतालमा भएको भौतिक क्षति तथा घाइते चिकित्सकको सम्पूर्ण उपचार खर्च दोषीहरूबाटै असुल गरियोस्।
३. देशभरका स्वास्थ्य संस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले कुनै पनि डर, त्रास वा दबाबविना आफ्नो पेशागत दायित्व निर्वाह गर्न सक्ने सुरक्षित वातावरण तत्काल सुनिश्चित गरियोस्।
एनएमए नारायणी शाखाले स्पष्ट चेतावनी दिँदै भनेको छ कि यी न्यायोचित मागहरूलाई बेवास्ता गरिएमा वा दोषीहरूलाई कानुनी दायराबाट उम्काउने कुनै प्रयास भएमा पीडित चिकित्सकलाई न्याय दिलाउन तथा चिकित्सक एवं स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न कानुनसम्मत र सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने जनाएको छ। त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सम्बन्धित निकाय तथा प्रशासनले वहन गर्नुपर्ने संघको भनाइ छ।