बा, एक महिना लामो अस्पताल बसाइपछि डिस्चार्ज भएर घर जानुभयो। उहाँसँग नियमित खाने १० थरी औषधि छन् र केही औषधि हाल भर्ना हुँदा चलाइएका छन्। अब एक हप्तामा ब्लड टेस्ट रिपिट गर्नुपर्ने छ अनि त्यसअनुसार उहाँको मुटु, फोक्सो, प्रोस्टेट र पिसाब सम्बन्धी छुट्टाछुट्टै डाक्टरलाई फलो-अपका लागि भेट्नुपर्ने हुन्छ। जसका लागि घरदेखि फेरि धेरै टाढा धाउनुपर्ने छ। बल्ल बिरामी भएर थलिनु भएको र राम्रोसँग ठीक नभइसक्दा अर्को यात्रा गर्नुपर्ने, फेरि फलो-अपकै लागि भिन्नभिन्न अस्पताल र विभाग धाउनुपर्ने अवस्थाले थप समस्या हुने डर त छँदैछ। त्यसमाथि समय लाग्ने र घरका एक जनाले समय निकाल्नै पर्ने बाध्यता छँदै छ। यसरी भन्नेबित्तिकै छुट्टी पाउन पनि त मुश्किल नै छ।
काश, डिस्चार्ज हुँदा घर नजिकको हेल्थ पोस्टमा डिस्चार्ज पेपरसहित उहाँको जानकारी पुग्ने, बाआमाको स्वास्थ्यको ख्याल राख्ने, जस्तै सामान्य स्वास्थ्य जाँच गर्ने, केही समस्या भए मात्र अस्पताल पठाउने, नत्र सामान्य समस्या त्यहीँ उपचार गर्ने, थप सल्लाह चाहियो भने अस्पतालका विशेषज्ञ डाक्टरलाई सम्पर्क गर्ने, एक हप्तामा ब्लड टेस्ट रिपिट गराउने र आवश्यक भएमा मात्र अस्पताल पठाउने व्यवस्थासहितको प्रणाली भएको भए कति सहज हुने थियो।
हेल्थ पोस्ट / आधारभूत अस्पतालमा जीपी डाक्टरले फलो-अप गर्ने व्यवस्था हुने, त्यहीँ औषधि पाइने र साना कुराका लागि टाढाको ठूलो अस्पताल धाउनुपर्ने बाध्यता नहुने अवस्था भए कति सजिलो हुन्थ्यो। ठूला अस्पताल मात्र थप्ने नीति बनाउँदै जानु तर आधारभूत स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवा प्रभावकारी नहुँदा यस्ता स्वास्थ्य सेवा हाम्रा सपनामा मात्र सीमित छन्। तर केही नीतिगत सुधार गरिने हो भने तत्काल सुरु गर्न सकिने व्यवस्था भने हो, जसका लागि सरोकारवालाको ध्यान जान एकदम जरुरी छ। जनसरोकारका सवालमा परिवर्तनको आभास दिलाउन खोजिरहेको सरकारले यो कुरालाई हृदयंगम गरेर तत्काल लागू गरोस्। कम्तीमा दीर्घरोगी, वृद्ध तथा अपांगता भएका बिरामीहरूको स्वास्थ्यको पूर्ण जिम्मेवारी सामुदायिक स्वास्थ्य संस्थाले लिएर काम सुरु गर्ने हो भने स्वास्थ्य सेवामा परिवर्तनको आभास दिलाउन तत्काल सम्भव छ। समय–समयमा गरिने हेल्थ क्याम्प, “घरमै उपचार” का नाममा स्वास्थ्यकर्मी पुगेर गरिने केही सामान्य जाँचबाट प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सम्भव छैन, र त्यो दीर्घकालीन रूपमा प्रभावकारी पनि रहँदैन।
नेपालजस्तो भौगोलिक रूपमा विकट, आर्थिक रूपमा सीमित र स्वास्थ्य सेवाको पहुँच असमान भएको देशमा स्थानीय तहसम्म जीपी (जनरल प्राक्टिसनर) डाक्टर अथवा कम्तीमा मेडिकल अफिसरसहितको स्वास्थ्य संस्था हुनु अत्यन्त महत्वपूर्ण छ। आज पनि धेरै बिरामी सामान्य जाँच, रक्तचाप मापन, औषधि निरन्तरता, सानो संक्रमण वा दीर्घरोगको फलो-अपका लागि मात्र पनि ठूला शहरका अस्पताल धाउन बाध्य छन्। यसले बिरामी र परिवारलाई आर्थिक, मानसिक र शारीरिक रूपमा थप बोझ पारिरहेको छ। यदि स्थानीय स्वास्थ्य संस्था बलियो बनाइयो भने स्वास्थ्य सेवा अझ सम्मानजनक, पहुँचयोग्य र प्रभावकारी बन्न सक्छ।
सबैभन्दा पहिले, स्थानीय तहमा जीपी डाक्टर वा कम्तीमा अनुभवी मेडिकल अफिसरसहितको स्वास्थ्य सेवा हुँदा बिरामीले आफ्नै समुदायमा निरन्तर र मानवीय स्वास्थ्य सेवा पाउन सक्छन्। अहिले धेरै वृद्ध बिरामी, दीर्घरोगी तथा अपांगता भएका व्यक्तिहरू सामान्य फलो-अपकै लागि लामो यात्रा गर्न बाध्य छन्। यसले उनीहरूको स्वास्थ्य अवस्था झन् बिग्रिन सक्छ। तर नजिकैको स्वास्थ्य संस्थामा प्रशिक्षित र अनुभवी डाक्टर भएमा उनीहरूले नियमित जाँच, औषधि व्यवस्थापन, रक्त परीक्षणको निगरानी तथा प्रारम्भिक उपचार सहजै पाउन सक्छन्। आवश्यक परेमा मात्र विशेषज्ञ अस्पतालमा पठाइने भएकाले बिरामीको समय, पैसा र दुःख दुवै कम हुन्छ। यसले स्वास्थ्य सेवा केवल “उपचार” नभई बिरामीको सम्मान र सहजतासँग जोडिएको सेवा बन्न मद्दत गर्छ।
दोस्रो, स्थानीय तहमा प्रभावकारी स्वास्थ्य सेवा हुँदा ठूला अस्पतालहरूको भीड उल्लेखनीय रूपमा कम हुन्छ। नेपालका केन्द्रीय तथा प्रादेशिक अस्पतालहरूमा अहिले अत्यधिक चाप छ। धेरै बिरामीहरू सामान्य रोग लिएर पनि विशेषज्ञ अस्पताल पुग्छन्, जसले गम्भीर बिरामीले समयमा सेवा नपाउने अवस्था सिर्जना गर्छ। यदि हेल्थ पोस्ट, आधारभूत अस्पताल वा स्थानीय स्वास्थ्य केन्द्रमै जीपी डाक्टर / अनुभवी मेडिकल अफिसरले प्राथमिक मूल्यांकन र उपचार गर्न सक्ने व्यवस्था भयो भने अधिकांश सामान्य समस्या त्यहीँ समाधान हुन सक्छ। विशेषज्ञ अस्पतालले जटिल शल्यक्रिया, गम्भीर रोग तथा विशेष उपचारमा ध्यान केन्द्रित गर्न पाउँछन्। यसले सम्पूर्ण स्वास्थ्य प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउँछ।
तेस्रो, यसले स्वास्थ्य जनशक्ति व्यवस्थापनको ठूलो समस्या समाधान गर्न मद्दत गर्छ। नेपालमा अधिकांश विशेषज्ञ चिकित्सकहरू काठमाडौं वा ठूला शहरहरूमा केन्द्रित छन् भने ग्रामीण क्षेत्रमा चिकित्सकको अभाव छ। जीपी प्रणाली बलियो बनाइयो भने प्राथमिक तहमा दक्ष चिकित्सक परिचालन गर्न सकिन्छ। जीपी डाक्टरले परिवार केन्द्रित, समुदायमै आधारित र दीर्घकालीन सेवा दिन सक्छन्। यसले विशेषज्ञमाथिको अनावश्यक भार घटाउँछ र स्वास्थ्य जनशक्तिको उचित उपयोग सुनिश्चित गर्छ। साथै, टेलिमेडिसिन वा रेफरल प्रणालीमार्फत जीपी डाक्टरले आवश्यक पर्दा विशेषज्ञसँग सल्लाह लिन सक्ने व्यवस्था भएमा ग्रामीण क्षेत्रमा पनि गुणस्तरीय सेवा सम्भव हुन्छ।
यसका अतिरिक्त, स्थानीय तहको स्वास्थ्य संस्था बलियो हुँदा स्वास्थ्य खर्च घट्छ। अहिले धेरै परिवार उपचारकै कारण ऋणमा पर्ने वा आर्थिक संकटमा फस्ने अवस्थामा छन्। यात्रा खर्च, बसाइ खर्च, काम छुट्ने समस्या र निजी अस्पतालको महँगो उपचारले गरिब परिवारलाई अझ कमजोर बनाउँछ। तर स्थानीय स्तरमै उपचार र फलो-अप सम्भव भएमा स्वास्थ्य सेवा तुलनात्मक रूपमा सस्तो र पहुँचयोग्य हुन्छ। यसले सार्वभौमिक स्वास्थ्य पहुँच (Universal Health Coverage) को लक्ष्य हासिल गर्न पनि सहयोग पुर्याउँछ।
अन्ततः, नेपालमा जीपी डाक्टरसहितको स्थानीय स्वास्थ्य संस्था निर्माण गर्नु केवल स्वास्थ्य पूर्वाधारको विषय मात्र होइन, यो सामाजिक न्याय, सम्मानजनक सेवा र प्रभावकारी राज्य व्यवस्थाको प्रश्न पनि हो। बिरामीले आफ्नो समुदायमै सहज, सस्तो र निरन्तर सेवा पाउनु उनीहरूको आधारभूत अधिकार हो। स्थानीय तहलाई सक्षम बनाउने, जीपी प्रणाली सुदृढ गर्ने र विशेषज्ञ अस्पतालसँग समन्वित रेफरल प्रणाली विकास गर्ने हो भने नेपालले अहिले भोगिरहेको अस्पतालको भीड, स्वास्थ्य जनशक्ति असन्तुलन र पहुँचको समस्या धेरै हदसम्म समाधान गर्न सक्छ। यही बाटोले दीर्घकालीन रूपमा समावेशी, मानवीय र दिगो स्वास्थ्य प्रणाली निर्माण गर्न मद्दत गर्नेछ। स्वास्थ्य सेवा नै बिरामीजस्तै भइरहेको अवस्थामा यसको प्रभावकारी उपचारको सहज उपाय यसबाहेक अरू के हुन सक्ला र?
(एनएचएस युके अन्तर्गत न्युरोट्रमा पुनर्स्थापना विशेषज्ञ रजिस्ट्रार डा. न्यौपाने एमएस अर्थोपेडिक्स / एमआरसीएस हुन्)